पोखरा, पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रमा करिब एक सातादेखि नउठेको फोहोरमैला बिहिबार देखि उठ्ने भएको छ। फोहरमैला संकलन नहुँदा पोखराको मुख्य सडक र बस्तीका खाली ठाउँमा केहि दिन देखि फोहरमैला थुप्रिएकोमा नेपाल भ्रमण बर्ष २०२५ शुरु गर्न लागिएको कुरालाई आत्मसात गर्दै १५ दिनको लागि फोहरमैला उठाउने सहमति भएको हो ।
पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको पोखराको वडा नम्बर ३२ लामेआहाल क्षेत्रका बासिन्दासँग बिगतमा भएको सहमतिको म्याद सकिएपछी स्थानीयले अबरोध गरेको थिए । बुधबार मेयर धनराज आचार्यको उपस्थितिमा भएको स्थानीय सरोकारवालाहरु सँगको छलफलपछि केहि समयको लागि फोहर ब्यबस्थापन गर्न दिने कुरामा उनीहरुले सहमति जनाएका छन ।
पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले वडा नं ३२ को सामाजिक, पूर्वाधार विकास, वातावरण र विपद व्यवस्थापनको क्षेत्रमा देखिएका समस्यालाई महानगरपालिकाको तर्फबाट आगामी कार्यपालिका/नगरसभामा छलफल गरी सम्बोधन गरिने प्रतिबद्धतापछि फोहोर व्यवस्थापनमा सहमति जुटेको जानकारी दिए।
पोखरा महानगरपालिकाको तर्फबाट यस अगाडी फोहोरमैला ब्यबस्थापन गरिएको सहित प्रभावित क्षेत्रमा सरसफाइ, विकास निर्माणबारेमा गरिएको सहमति कार्यान्वयन नगर्दा पोखरामा पटक पटक समस्या आउने गरेको छ । पोखरा महानगर क्षेत्र भित्रको फोहरमैला ब्यबस्थापनमा विभिन्न छ वटा निजि क्षेत्रका कम्पनीले काम गर्दै आएका छन् ।
पोखरामा दैनिक एक सय टन जति फोहोर संकलन हुन्छ । महानगरले २०२३ जनवरीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लामेआहालस्थित सेती नदी किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । पोखरा १४, बाच्छेबुडुवाको ल्याडफिल साइट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि बन्द गर्नुपरेपछि महानगरले वैकल्पिक व्यवस्थाको रुपमा लामेआहाललाइ रोजेको थियो ।
फोहोर व्यवस्थापन उचित तवरले नहुँदा दुर्गन्ध फैलिएको, सडक कच्ची हुँदा हिलो र धुलोले सास्ती दिएको भन्दै स्थानीयले बेला बेलामा फोहोर फाल्न अवरोध गर्दै आएका छन् । पोखरा महानगरले वडा नम्बर ३३ को पुँडिटार क्षेत्रमा रहेको झाक्रीखोला र देव्रेखोला क्षेत्रमा ल्याडफिल साइट बनाउन निर्णय गरिसकेको छ । ल्याडफिल साइट नभएर फोहोर प्रशोधन केन्द्र बनाउने योजना भए पनि त्यो अघि बढ्न सकेको छैन ।