Play

आहारारा गोल्ड कप जारी, बुधबारको खेलमा मच्छिन्द्रद्वारा एपीएफ २-० मा पराजित

गुरुकुल खबर


पोखरा, पोखरा रंगशालामा जारी २४ औं आहा रारा पोखरा गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लब विजयी भएको छ । सहारा क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरी बलको एपिएफलाई २–० गोल अन्तर पराजित गरेको हो । खेलको दोस्रो हाफको ७४ औं मिनेटमा आदित्य शाक्य र ८१ औं मिनेटमा स्टेफेन कमाहाले गोल गरेपछि मच्छिन्द्र क्वार्टरफाइनल प्रवेश गरेको हो ।

पहिलो हाफमा दुवै टिमले केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । खेलको पहिलो मिनेटमै एपिएफका मानबहादुर रानाले मच्छिन्द्रका आयुष घालानलाई फउल गरेपछि प्राप्त गरेको फ्रिकिकमा ओमोलाजा नुरेन करीमको प्रहार सशस्त्रका गोलकिपर एन्जल श्रेष्ठले बचाए । २९ औं मिनेटमा मच्छिन्द्रले अकोै फ्रिकिकको अवसरमा पायो ।

त्यसमा देवेन्द्र तामाङको प्रहार आकाशियो । ३५ औं मिनेटमा करीमको फ्रिकिक प्रहारमा मनिष डाँगीको हेड बल बाहिरियो । ४५ औं मिनेटमा सशस्त्रको प्रहार मच्छिन्द्रका गोलरक्षकले बचाए । प्रदीप लामाले दुई डिफेन्सलाई बिट गर्दै प्रहार गर्न खोजेको बललाई अनुभवी मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाउ गरे ।

दोस्रो हाफमा मच्छिन्द्र सुरु देखि नै खेलमा हाबी हुने प्रयास गरेको थियो । खेलको ५४ औं मिनेटमा एपिएफका मणि लामाले प्रहार गरेको फ्रिकिक खेर गयो । ७२ औं मिनेटमा मणिको पासमा एपिएफका कप्तान युवराज खड्काको हेडिङ सेकेण्ड बार हुँदै बाहिरियो । त्यसको २ मिनेटपछि मच्छिन्द्रका वैकल्पिक खेलाडी आदित्य शाक्यले टिमलाई अग्रता दिलाए ।

६७ औं मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका शाक्यले मैदानको मध्य भागबाट आयुश घलानले उपलब्ध गराएको बललाई ३ जना डिफेन्डरलाई बिट गर्दै सेकेन्डबार च्यापेर हानेको बलले सिधै जाली चुमेको थियो । पहिलो गोल व्यहोरेको ७ मिनेटपछि नै एपिएफले अर्को गोल खान पुग्यो । ८१ औं मिनेटमा एपिएफका सुमन श्रेष्ठले बिमल घर्तीमगरलाई लडाएपछि मच्छिन्द्रले फ्रिकिक प्राप्त गर्‍यो । देबेन्द्र तामाङको फ्रिकिक बललाई मच्छिन्द्रका विदेशी खेलाडी स्टेफेन कामाहाले उत्कृष्ट हेडिङ गर्दै जाली चुमाएका थिए ।

दोस्रो गोल गरेका स्टेफेन खेलको म्यान अफ दी म्याच चुनिए । मच्छिन्द्रले अब माघ २७ गते थ्रीस्टार क्लबसँग क्वार्टर फाइनल खेल्नेछ ।

यसैबीच  नेपाल पुलिस क्लबले आयोजक सहारालाई १–० गोलअन्तरले स्तब्ध पार्दैै क्वाटरफाइनल प्रवेश गरेको छ ।विभागीय टिम नेपाल पुलिसका उज्ज्वल राईले खेलको ३७ औं मिनेटमा गरेको गोल नै निर्णायक साविक पुगेको थियो । म्यान अफ दि म्याच घोषित उनले प्रहार गरेको कर्नर किक दोस्रो बार च्याप्दै उत्कृष्ट गोलमा परिणत भएको हो ।

तिन विदेशी खेलाडीसमेतलाई लिएर मैदान उत्रिएकोमा सहाराले सुरुआतकै केही अवसर खेर फालेको थियो । पुलिसले अब युकेको ब्रिगेड ब्वाइज क्लबसँग पहिलो क्वाटरफाइनल खेल्नेछ । बुधबार विभागीय क्लब एफिएफ र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बिहीबार चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी बिच हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन । उत्कृष्ट पाँच विधाको पुरस्कारलाई सुर्यबहादुर केसी स्मृतिले प्रायोजन गरेको छ । त्यस्तै म्यान अफ दि म्याच ट्रफी, नगद र पदकलाई सहारा युकेले सौजन्य गरेको छ ।

प्रत्येक भाग्यशाली दर्शकलाई प्रत्येक दिन ५ हजार रुपैयाँबाट पुरस्कृत गर्दै आएको छ । जसलाई सहारा एफसी युकेका संस्थापक सिईओ हरिकुमार श्रेष्ठले गरेका हुन् । हरेक खेलका फ्यान अफ दि म्याचलाई सहारा युकेले २ हजार ५ सय रुपैयाँ प्रदान गर्ने क्लबले जनाएको छ । प्रतियोगिताको उपप्रायोजक पोखरा महानगरपालिका वडा नं ९ र सह उपप्रायोजकमा चरक मेमोरियल हस्पिटल रहेको छ ।

प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन । उद्घाटन समारोहमा मेयर आचार्यले पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको सहर पनि भएको बताए । आहा रारा पोखराको समेत चिनारी भएकाले पछिल्लो समय पोखरा महानगरपालिकाले संरक्षकत्व प्रदान गरेको जनाए । पोखरासँग विभिन्न राष्ट्रका १४ सहरमा भगिनी सम्बन्ध कायम भएकाले आगामी वर्षदेखि आहा रारामा त्यहाँबाट पनि पाहुना बोलाउने बताए ।

मुख्य प्रायोजकतर्फबाट हिमश्री फुड्सका प्रकाश केसीले प्रतियोगिताको अन्तर्राष्ट्रियस्तरमा चर्चाले खुसी लागेको बताए ।उद्घाटन समारोहको अध्यक्षता क्लब अध्यक्ष केशवराज बरालले गरेका थिए । स्वागत प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र संचालन महासचिव रामजीप्रसाद अधिकारीले गरे ।

आहाराराकै छेकोमा बेलायतबाट सहारा क्लब युके, तमु धिं युकेका करिब ५० जना प्रतिनिधि पोखरा आइसकेका छन् । अरू आउनेक्रम जारी रहेको सहारा युके अध्यक्ष कृष्णबहादुर गुरूङले बताए । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका छ भने सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर लङ्ग्रेन प्रिमियम बासमती राइस रहेको छ ।

उद्घाटनका अवसरमा यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सनिष श्रेष्ठ सम्मानित भए । उनलाई नगद ५० हजार ५५५ रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरियो । उक्त पुरस्कार वापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन् ।

नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएवापत क्लबले बर्सेनि एकजना राष्ट्रियस्तरको फुटबल खेलाडीलाई पुरस्कृत गर्दैआएको छ । यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।

यसैबीच प्रतियोगिता र सहारा क्लबको लागि सहारा हङकङका सल्लाहकार देव गुरुङले ५१ हजार सहयोग गरे । उक्त रकम उनका भाइ नारायणले हस्तान्तरण गरे । पृथ्वी राजमार्ग बस संचालक कम्पनीका तर्फबाट अध्यक्ष योगेन्द्रबहादुर केसीले २ लाख रुपैयाँ थप सहयोग गरे । कम्पनीले यसअघि सहारा अक्षयकोषमा ३ लाख दिइसकेको पूर्व अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।

यो प्रतियोगिता नेपालमै लामो समयसम्म निरन्तर आयोजित एकमात्र फुटबल प्रतियोगिता हो । क्लबले यसबाट बचत रकम फुटबल एकेडेमीमा खर्चिदै आएको छ । एकेडेमीमा ३० जना अनाथ बालक आश्रित रहेको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।यस्तै, ब्रिगेड अफ गोर्खा ब्याण्डले प्रतियोगिता सुरुअघि रंगशालामा ब्याण्ड प्रस्तुत गरेको छ ।

प्रतियोगितामा भारत, यूके, उजेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले समेत भाग लिएका हुन् । समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने छन् ।

प्रतियोगितामा १ करोड ५१ लाख आम्दानी, १ करोड ४२ लाख खर्च र ८ लाख ८० हजार बचत हुने आयोजकको अनुमान रहेको क्लबको अनुमान छ । गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्रि स्टार हुन् । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ ।

२३ माघ २०८१, बुधबार २३:०२ मा प्रकाशित
Nabintech