- गंगाधर पराजुली / पोखरा
पोखराको पृथ्वीचोकस्थित बसपार्क वरिपरिका उत्साही युवाले झन्डै तिन दशक अगाडी स्थापना गरेको संस्था हो, सहारा क्लब। यहि क्लबको स्वरुपमा गठन भएका थुप्रै संस्थाहरु पोखरामा छन। तर, सहारा क्लबले भने आफ्नो जस्तै उद्देश्य राखेर स्थापना भएका अन्य संघसंस्था र क्लबलाई पछि पार्दै पोखराको फुटबलको क्षेत्रमा आफुलाई अग्रपंक्तिमा स्थापित गर्न सफल भएको छ।
पोखरामा थुप्रै खेलकुद संस्ठा तथा क्लबहरू खेलकुदसंग सम्बन्धित थुप्रै विधामा क्रियाशील रहेको भएपनि सहारा क्लबले भने सुरुदेखि नै आफूलाई फुटबलमा केन्द्रित गर्दै आएको छ । फुटबलका खेलाडी उत्पादन गर्न, फुटबल प्रतियोगिता सञ्चालन गर्न र फुटबलप्रति सानै उमेरदेखि आकर्षण र अवसर प्रदान गर्ने अभियानमा सहारा क्लबको भूमिका र योगदान महत्वपुर्ण मानिन्छ।
सहारा क्लबको स्थापना बसन्त थकाली संस्थापक अध्यक्ष रहेर गरिएको थियो। त्यसपछि क्रमश बिक्रम थकाली,बिरभद्र आचार्य, केशब थापा, हरेराम गुरुङले अध्यक्षको जिम्मेवारी सम्हालीसकेका छन्। हाल संस्थाको अध्यक्ष केशब बराल रहेका छन।
आहारारा गोल्डकप – शुरुवात देखि हालसम्म
२०५५ सालमा स्थापित सहारा क्लबले २०५७ मा सहारा कप क्लबस्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो । २०५८ मा ड्रिम प्रोजेक्टका रुपमा फुटबल एकेडेमी सञ्चालन गर्यो । एकेडेमीका लागि २०६३ सालमा पोखरा – १७ दोबिल्लामा २६ रोपनी जग्गा खरिद गरी २०६९ मा फुटबल मैदानसँगै भवन बनाएको छ । २०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तरक्लब आमन्त्रित आहारारा फुटबल प्रतियोगिता संचालन गर्न थालेकोमा त्यसको परिष्कृत रुप ‘आहारारा पोखरा गोल्डकप’ बन्न पुगेको हो।क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीको कार्यकालबाट नै यो प्रतियोगिताको संचालन हुन लागेको हो।
‘खेलकुदको बिकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने लक्ष सहित सहारा क्लबले आहारारा पोखरा गोल्डकप संचालन गर्दै आएको छ । यसरी हेर्दा सहारा क्लबले आफ्नो स्थापनाको तिन बर्षपछि शुरु गरेको आहारारा गोल्डकपलाई निरन्तरता दिंदै २४ औं शृंखलासम्म ल्याउन सफल भएको छ । यो प्रतियोगितालाई लामो समय सम्म संचालन गर्नको लागि हिमश्री फूड्स र सुर्यबहादुर केसीको परिवारको योगदान समेत महत्वपुर्ण मान्न सकिन्छ।
आहारारा पोखरा गोल्डकप प्रतियोगितालाई काठमाडौँ बाहिरको बहुप्रतिष्ठित प्रतियोगिताको रुपमा लिने गरिएको कारण राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पहिचान बनाएका क्लबहरु प्रतियोगितामा सहभागी हुँदै आएका छन। जसअनुसार विभिन्न बिदेशी टिम, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराले प्रतियोगितामा सहभागिता जनाउंदै आएको छ। यस पटकको प्रतियोगितामा पनि त्रिभुवन आर्मी फुटबल क्लब, थ्रि स्टार, मछिन्द्र फुटबल क्लब, एनआरटी, एपिआई पावर चर्च ब्वाइज युनाइटेड क्लब, संकटा, नेपाल पुलिस, एपिएफ, ब्रिगेड ब्वाइज क्लब युके, थन्डर नर्थ युनाइटेड क्लब सिक्किम र आयोजक सहारा क्लेलबको टिमले भाग लिने पक्का भएको छ ।
यहि माघ २२ गतेबाट फागुन ३ गते सम्म संचालन हुने प्रतियोगिताको मुख्यप्रायोजक बिगतमा जस्तै हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ हो । संरक्षकमा पोखरा महानगरपालिका र सहप्रायोजकमा जयश्री फुड्स प्रालिको उत्पादन भान्छाघर चामल राखिएको छभने अन्य विभिन्न संघ संस्था र व्यक्तिले प्रतियोगितालाई सहयोग गरेको आयोजक सहारा क्लबका अध्यक्ष केशब बरालले जानकारी दिएका छन।
मोफसलको प्रतिष्ठित उक्त प्रतियोगिताको २३औँ संस्करणको विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता थ्री स्टार क्लब बनेको थियो । अघिल्लो बर्ष प्रतियोगिताको बिजेताले १२ लाख १ हजार नगद र उप बिजेताले ६ लाख १ हजार प्राप्त गरेकोले यस बर्षपनि सोहि बराबरको पुरस्कार बिजेतालाई दिईने बुझिएको छ। प्रतियोगिता संचालन गर्दा १ करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख रुपैया खर्च भई करिब ९ लाख रुपैया बचत हुने अनुमान गरिएको क्लबका महासचिब रामजी प्रसाद अधिकारीले दिएका छन।
दर्शकको संख्या बढाउन र अघिल्लो बर्षको घाटा पूर्ति गर्न बिशेष पहल
सहारा क्लबले संचालन गर्ने फुटबल प्रतियोगिता हेर्न पोखरा रंगशालामा पुग्ने दर्शकहरुको संख्या बिगतमा निकै उल्लेखनीय हुने गर्थ्यो। रंगशालामा ब्यबस्थित बस्ने ठाउँ नभएपनि टिकट किनेर रंगशाला प्रवेश गर्ने दर्शकहरुले खालि भुँईमा बसेरै खेल हेर्ने गर्थे। उक्त प्रतियोगिता हेर्न जाने दर्शकहरुको चापका कारण खेल शुरु हुन लाग्दा र सकिएपछिको समयमा पृथ्वीचोक देखि अमरसिंहचोक क्षेत्र सम्मको सडक अस्तब्ब्यस्त हुने गर्थ्यो।
पोखरामा २०१४/०१५ सालदेखि नै फुटबल खेल्नेहरुको समूह बन्न थालेको मानिन्छ। समयक्रममा फुटबल खेलमा पोखराको नाम बाहिर पनि चलेको र पोखरेलीको समूह धेरै पटक नेपाल च्याम्पियन बनेको इतिहास समेत रहेको जानकारहरु बताउछन। राष्ट्रियरूपमा खेलाडीहरू, प्रशिक्षकहरू, रेफ्रीहरू पनि पोखराले जन्माएको छ। तर पनि विश्वमा नै धेरै दर्शकले हेर्ने मानिएको फुटबल खेललाई पोखरा रंगशालामा उल्लेख्य संख्यामा दर्शकहरु पुगेर हेर्ने बाताबरण भने सहारा क्लबले नै निर्माण गरेकोमा दुईमत छैन ।
अहिले पोखरा रंगशालामा ब्यबस्थित प्याराफिट बनेको छ। १६ हजार ५ सय दर्शकले आरामदायी तरिकाले बसेर खेल हेर्न पाउछन। तर, दर्शकहरुको चाप भने बिगतमा भन्दा कम हुँदै गएको छ। जसका कारण प्रतियोगिता अबधिमा पनि नयाँ बनेका प्याराफिटहरु खाली जस्तै देखिन थालेका छन।
शायद यस्तै कारणले हुनुपर्छ, यस अगाडी २३ औं शृंखलाको आहारारा गोल्डकप प्रतियोगिता संचालन गर्दा १५ लाख ३८ हजार चार सय ६६ रुपैया घाटा हुन पुग्यो । सहारा क्लबको इतिहासमा प्रतियोगिता संचालन गर्दा घाटा लागेको संभवत त्यो नै पहिलो घटना हो। उक्त घटना पछि क्लबका अध्यक्ष केशवराज बरालले आर्थिक मन्दीका कारण प्रतियोगितालाई प्रायोजन गर्नेहरुबाट रकम उठ्न नसकेको कारण प्रतियोगिता घाटामा गएको बताएका थिए ।
तेइसौँ संस्करणमा अघिल्लो संस्करणको भन्दा दुई टोली बढी थपिए, केही विदेशी टोली पनि ल्याउनुपर्दा खेलाडीको दैनिक भ्रमण भत्ता लगायतमा बढी खर्च भएको उनले सुनाए। यसका साथै प्रतियोगितामा नियमित प्रायोजन गर्दै आएका केही व्यापारिक प्रतिष्ठानले गत वर्ष क्लबसँगको सहकार्य टुटाएका कारण पनि घाटा हुन पुगेको उनले स्पष्ट पारे।
अघिल्लो वर्ष प्रतियोगिताबाट कुल आम्दानी रु ९९ लाख ९५ हजार चार सय ५१ र खर्च रु एक करोड १५ लाख ३३ हजार भएको थियो। अघिल्लो बर्ष आम्दानी एक करोड पुग्न सकेन। तर, यस पटक प्रतियोगिता संचालन गर्दा १ करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख रुपैया खर्च भई ९ लाख रुपैया जति बचत गर्ने लक्ष क्लबले राखेको छ।
अघिल्लो बर्ष करिब १ करोड मात्र आम्दानी भएकोमा यस वर्ष आम्दानी बढाएर १ करोड ५१ लाख इस्टिमेट गर्नु र नौ लाख रुपैया जति बचत गर्ने लक्ष राख्नु कम चुनौतीपूर्ण हैन । कसरि सम्भव होला त, नौ लाख बचत गर्न ? भन्ने प्रश्नमा सहारा क्लबका अध्यक्ष केशव बरालले भने – ‘यस पटक प्रायोजकहरु नयाँ थप गरिएको, प्रतियोगिताको व्यापक प्रचार प्रसार गरेर दर्शकलाई आकर्षित गर्ने अभियान चलाइएको, सचिबालय र स्वयमसेवकको नाममा बिगतमा गरिएको खर्च लगायत अन्य खर्च समेत कटौती गरिएको कारण यस वर्ष अनुमान गरेअनुसारको बचत हुन्छ।’
क्लबले यस वर्ष दर्शकहरुको संख्या बढाउन समेत बिशेष पहल गरेको छ। पोखराको विभिन्न बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई स्कुलसंग समन्वय गरेर निशुल्क रुपमा खेल हेर्न दिने गरि ब्यबस्था मिलाउने प्रयास समेत भएको छ। रंगशालामा १६ हजार बढी दर्शकको क्षमता रहेकोले करिब चार हजार जना बिद्यार्थीलाई हरेक दिन निशुल्क रुपमा रंगशाला पुर्याउन आबश्यक गृहकार्य भैरहेको छ।
‘यसो गर्दा प्याराफिट खालि पनि नदेखिने र बिद्यार्थीहरुमा फुटबल प्रतिको रुची समेत बढ्ने सम्भावना रहेकोले विभिन्न निजि तथा सार्बजनिक बिद्यालयसंग समन्वय गर्न लागिएको छ। क्लबका सल्लाहकार समेत रहेका मदन केसीले गुरुकुल खबर संग भने। रंगशालामा बिद्यार्थी ल्याउनका लागि आबश्यक संयोजन गर्ने जिम्मेवारी क्लबले सल्लाहकार केसीलाई नै दिएको छ। केसीले क्वार्टर फाइनल सम्मका खेलमा बिद्यार्थीलाई निशुल्क प्रवेश दिएपनि त्यसपछिको खेलमा भने के गर्ने भन्ने निर्णय हुन बाँकि छ ।
राम्रो खेल्ने खेलाडीहरु विदेश पलायन भएको कारण क्लबहरुले राम्रा खेलाडी मैदानमा उतार्न नसक्दा र पोखरामा नै अन्य क्लबहरुले समेत विभिन्न समयमा फुटबल प्रतियोगिता संचालन गरेको कारण फुटबल हेर्न मैदानमा पुग्ने क्रम घटेको बताउंदै केसीले गुरुकुल खबरसंग भने – ‘अहिले अन्तराष्ट्रीयस्तरका प्रतियोगिताहरु समेत् घरमै बसेर लाइभ हेर्न पाउने भएकोले खेल र खेलाडीको गुणस्तर हेरेर मात्र दर्शकहरु खेल हेर्न जाने गरेको छन।’
पोखरामा व्यवस्थित पोखरा रंगशाला बाहेक सहारा क्लबको आफ्नै खेल मैदान दोबिल्लामा छ। यसबाहेक लेखनाथ क्षेत्रमा एक, अमरसिंहमा एक, मालेपाटनमा एक, पुरानो टुँडिखेलमा एक, पृथ्वीनारायण क्याम्पस, लामाचौर , गण्डकी बोर्डिङ, हेमजाको गौरीशंकर, फूलबारीस्थित सैनिक ब्यारेक, सशस्त्र प्रहरी कार्यालयमा समेत गर्दा एक दर्जन जति फुटबल मैदान छन्। भेडाबारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले निर्माण गर्ने भनिएको एकेडेमीसहितको रंगशालाको काम भने खासै अगाडी बढेको देखिँदैन ।
सहारा क्लब पोखराले आफ्नो करिब तिन दशक लामो यात्रामा हालसम्मको प्रतियोगिता सञ्चालनको अनुभव, खेलाडीको उत्पादनमा देखाएको सक्रियता, सदस्यबीचको समझदारीलाई आधार मान्ने हो भने, भबिष्यमा पनि सहारा क्लबले अझ धेरै गर्नसक्ने देखिन्छ। तर, अघिल्लो बर्ष जस्तो दर्शकको संख्या घट्ने र एकै बर्षमा १५ लाख घाटा हुने अवस्था कायम रहेमा आहारारा गोल्डकप जस्ता बर्षौसम्म चलेका प्रतियोगितालाई निरन्तरता दिन समेत चुनौती बढ्ने सम्भावनालाई नकार्न सकिदैन ।