पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउबा सहितका केन्द्रीय नेताहरुको जमघट अर्को साता पोखरामा हुने भएको छ। नेपाली काँग्रेस पोखरा महानगरको तेश्रो सम्मेलनको साथै नेपाली काँग्रेसका सातवटा प्रदेशका सभापतिहरुको सम्मेलन र देशका सबै जिल्ला सभापतिहरुको प्रशिक्षण छुट्टाछुट्टै रुपमा पोखरामा हुने भएकोले कांग्रेसका सभापति देउवासहितका ठुलो संख्यामा केन्द्रीय पदाधिकारी र सदस्यहरुको आगमन पोखरामा हुने भएको हो ।
यहि माघ २० गते आइतबारको दिन नेपाली काँग्रेस पोखरा महानगर कार्यसमितिले आफ्नो तेश्रो बार्षिक सम्मेलन गर्दैछ। पार्टीको विधानमा हरेक बर्ष पार्टीको सम्बन्धित कार्यसमितिले आफ्नो तहको सम्मेलन गर्नुपर्ने ब्यबस्था गरेको कारण यस बर्षपनि महानगर स्तरीय सम्मेलन आयोजना गरिएको नेपाली काँग्रेस पोखरा महानगरसमितिका सभापति सुरेन्द्रमान बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए ।
सम्मेलनको उद्घाटन कांग्रेस सभापति एबम पूर्व प्रधानमन्त्री देउवाले गर्ने कार्यक्रम रहेको छ। सभापति देउवासंगै पार्टीका महामन्त्री गगन थापालाई पनि सम्मेलनमा अथितिको रुपमा आमन्त्रण गरिएको महानगरसमितिका सचिब गणेशबहादुर थापाले जानकारी दिए। थापाका अनुसार महानगर सम्मेलनमा देशका अन्य पांचवटा महानगरमा नेपाली काँग्रेसको नेतृत्व गरिरहेका सभापतिहरुलाई समेत आमन्त्रण गरिएको छ ।
सम्मेलनमा पार्टीको महानगर समितिले विगतमा गरेका काम र गतिविधिको समिक्षा हुनुको साथै आगामी बर्षको लागि नीति र कार्ययोजना समेत तयार गरिने सभापति बिजुक्छेले बताए।
महानगरको सम्मेलनको उद्घाटन सहितका कार्यक्रमहरु पोखराको सभागृह हलमा गरिने भएको र आबश्यक तयारी महानगर कार्यसमितिले गरिरहेको कांग्रेसको पोखरामहानगर कार्यसम्पादन समितिका सदस्य रीता गुरुङले जानकारी दिईन।
यसैगरी माघ २१ गते सोमबार पोखरामा मुलुकका सातवटै प्रदेशका नेपाली काँग्रेसका सभापति र प्रदेश समितिको प्रशिक्षण विभागका प्रमुखहरुको प्रशिक्षण र माघ २२ गते मुलुकका ७७ वटै जिल्ला सभापतिहरु सहित सबै जिल्लाका प्रशिक्षण विभागका प्रमुख वा उपसभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम हुने भएको छ।
कार्यक्रममा करिब दुई सयजनाको सहभागिता रहने अपेक्षा गरिएको पार्टीको जिल्ला समितिका सदस्य बिजयालक्ष्मी कोइरालाले गुरुकुल खबरलाई जानकारी दिईन।
जिल्ला सभापतिहरुको सम्मेलनमा सहभागी हुन आउने बाहिर जिल्लाका पाहुनाको लागि होटलमा नभई कार्यकर्ताहरुको घरमा बस्ने ब्यबस्था गर्ने र त्यसको लागि गोला प्रथा अपनाउने तयारी भैरहेको पार्टीको जिल्ला कार्यसमितिका कोषाध्यक्ष माइकल कर्माचार्यले गुरुकुल खबरलाई जानकारी दिए। उनले बाहिर जिल्लाबाट आउने सहभागीहरुको चाहना अनुसार पार्टीका कार्यकर्ताको घरमा वा अन्यत्र बसोबासको ब्यबस्था मिलाउने तयारी भैरहेको जानकारी दिए।
बाहिरबाट आउनेहरुलाई कार्यकर्ताको घरमा बस्ने ब्यबस्था गर्ने भनिएपनि पार्टीको हालै सम्पन्न जिल्ला कार्यसमितिको बैठकमा जिल्ला समितिका सदस्य एबम अन्यबाट आर्थिक संकलन गर्न लागिएको बुझिएको छ। जिल्ला सदस्य बुद्धिमान गुरुंगले कार्यक्रमको लागि ५० हजार सहित अन्य सदस्य र पदाधिकारीहरुले पनि विभिन्न किसिमको सहयोग संकलन गर्ने बताएको पार्टीका सहसचिब शंकर ढुंगानाले जानकारी दिए।
नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आव्हानमा हुन लागेको यी दुवै सम्मेलनमा सभापति देउवा सहित उपसभापति पुर्णबहादुर खड्का लगायतका नेताहरुको सहभागिता रहनेछ। उपसभापति खड्का नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक तथा प्रमुख समेत हुन।
प्रदेश सभापतिहरुको सम्मेलनमा प्रदेश समितिका पदाधिकारीहरुलाई पनि सहभागिता गराउनको लागि आबश्यक पहल भैरहेको नेपाली काँग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए।
विभिन्न महानगरका कांग्रेस सभापतिहरुको समेत उपस्थिति रहने पार्टीको तेश्रो पोखरा महानगर सम्मेलन सहित सातवटा प्रदेशका सभापति, प्रशिक्षण विभागका प्रमुख तथा उपसभापति र प्रदेशका पदाधिकारी र मुलुकका ७७ वटै जिल्लाका सभापतिहरुको सम्मेलनको मिति तय भएसंगै काँग्रेसका केन्द्रीय नेताहरुको आगमन पनि पोखरामा बढ्ने भएको छ।
पार्टीको महाधिबेशन चार बर्षमा गर्नुपर्ने विधानको ब्यबस्था बमोजिम महाधिबेशन हुने हो भने आगामी २०८२ मङ्सिर सम्ममा पार्टीको १५ औं महाधिबेशन गर्नुपर्ने हुन्छ । तर, कतिपय नेताहरुले पार्टीको महाधिबेशन चार बर्षमा हुन नसक्ने र विधानमा एक बर्ष कार्यकाल थप गर्न सक्ने भन्ने प्राबधानको आधारमा महाधिबेशन पछाडी धकेलिने अनुमान समेत कतिपयको छ ।
यहि अन्योलका बिचमा पोखरामा माघ २० देखि २२ गते सम्म हुने महानगर, जिल्ला र प्रदेशको कार्यक्रमको सन्दर्भ पारेर आगामी महाधिबेशनमा विभिन्न पदमा उमेदवार बन्न चाहने केन्द्रीय नेताहरुको राम्रै जमघट पोखरामा रहने अनुमान गरिएको छ।