Play

पोखरामा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको तयारी : यसरी जन्म्यो ‘ बगर भाइ खलक ‘

गुरुकुल खबर


  • गंगाधर पराजुली / पोखरा 

विभिन्न पेशा र ब्यबसाय गरेर उतरार्धतिर लागेका र खेलकुदमा रुची भएकाहरुले गठन गरेको समूह हो, ‘बगर भाई खलक समूह’। पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसमा पढ्ने, बगर क्षेत्रमा बसेर हुर्केका र खेलकुदप्रति रुची राख्नेहरुले २०४० को दशकको समाप्तितिर अनौपचारिक रुपमा बगर भाई खलक समूह बनाएका हुन।

तत्कालिन अबस्थालाइ सम्झिदै हालको बगर भाईखलक संस्थाका निबर्तमान अध्यक्ष दिलबहादुर गुरुङ भन्छन,’ हामी साथीहरु पृथ्वीनारायण क्याम्पसमा बास्केटबल, फुटबल लगायतका खेल खेल्ने अनि बगर क्षेत्रमा बस्ने, गेट टुगेदर गर्ने चलन थियो। हामीसंगैका केहि साथीहरु नेपाल बाहिरबाट छुट्टीमा आउँदा पनि संगसंगै खेल्ने, खानपिन गर्ने, उनीहरुलाई स्वागत र बिदाई गर्ने क्रमले निरन्तरता पाउँदै गयो।

‘कहिलेकाही क्याम्पसमा बास्केटबल, फुटबल वा भलिबल खेल्दा ‘बगर बास्केटबल समूह’ नाम लेखेर पनि खेलियो, तर समय बित्दै जाँदा अनौपचारिक रुपमा ‘बगर भाई खलक’ भनेर राखिएको नाम नै विधिवत रुपमा संस्थाको नाम बन्न पुग्यो।’ गुरुङले सम्झिए ।

बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष रहेका जुम गुरुङले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार बिशेष गरि बास्केटबल खेल्ने, पिएन क्याम्पस पढ्ने र बगरक्षेत्रमा बसेर हुर्केका साथिभाइको समूह नै ‘बगर भाई खलक’ संस्था बन्न पुगेको हो।

साथीभाईहरु बिच जमघट गर्ने र रमाइलो गर्ने लक्षका साथ संगठित समूह बगर भाई खलकले आफ्ना विभिन्न गतिविधिहरु  स्थानीय स्तरमा गर्दा आएको भएपनि २०६८ सालबाट भने यसलाई औपचारिक र संस्थागत स्वरूप दिन थालिएको थियो। सोहि अनुरुप दिलबहादुर गुरुङलाई अध्यक्ष राखेर तदर्थ समिति गठन गरिएको र २०६९ सालमा कास्की जिल्ला प्रशासन कार्यालयमा विधिवत रुपमा संस्था दर्ता गरिएको हो।

त्यसबेला दिनेश श्रेष्ठ, राम बहादुर गुरुङ, दिलबहादुर गुरुङ, तेजबहादुर गुरुङ, इश्वरमान गुरुङ, हेम गुरुङ, जुम बहादुर गुरुङ, याम बहादुर गुरुङ लगायतले अनौपचारिक रुपमा बनाएको उक्त समूह अहिले राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा समेत बिस्तार भैसकेको छ।

मेनपावर ब्यबसाय संचालन गर्न लागेका हेम गुरुंगले २०६८ सालमा पोखरा आएको बेला साथीभाईसंग बस्दा बगर भाइ खलकको नामबाट केहि गर्नेभए आफुले सहयोग गर्ने प्रस्ताब राखेको सम्झंदै बगर भाई खलक संस्थाका निबर्तमान अध्यक्ष दिलबहादुर गुरुङले गुरुकुल खबरसंग भने। “हेमको प्रस्ताबपछि समुहका साथीहरुको बिचमा छलफल भयो र ‘भेट्रान्स फुटबल’ प्रतियोगिता  संचालन गर्ने निर्णय भयो। त्यसका लागि हेम गुरुङजीले एक लाख रुपैया सहयोग गर्नुभयो र ह्यान्डबलका राष्ट्रिय खेलाडी रामबहादुर गुरुङ संयोजक रहेर पहिलो पटक हामीले सेभेन ए साइड फुटबल प्रतियोगिता गर्यौं।”

संस्थाले बिशेष गरि भेट्रान्सहरुको प्रतियोगिता गर्ने क्रमलाई निरन्तरता दिएको बताउंदै संस्थाका प्रमुख सल्लाहकार दिनेश श्रेष्ठ भन्छन- ‘शुरुका बर्षमा प्रतियोगितामा सहभागी खेलाडीहरु देख्दा नै हाँसो उठ्ने अबस्था थियो, प्रतियोगी खेलाडीहरु मोटोघाटो, भुँडी बढेको र खेल्न समेत नसक्ने खालका पनि थिए। तर, हाम्रो संस्थाले नै ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुको लागि नौलो आयाम’ भन्ने नारा सहित खेलकुद गतिबिधि संचालन गर्न थालेपछि अहिले उमेर पुगेकाहरु तन्दुरुस्त भएर प्रतियोगितामा भाग लिने गरेको छन।

संस्थाका अध्यक्ष इश्वरमान गुरुङका अनुसार शुरुमा प्रतियोगितामा खेल्ने खेलाडीको अभाव हुने चिन्ता हुन्थ्यो तर अहिले भेट्रान्सहरुको प्रतियोगितामा उमेर समूह अनुसार बढी उमेर समूहको टोलिको संख्या बढ्दै गएको छ। यसले उमेर बढ्दै गएपनि खेल संस्कृतिको बिकास भएको मान्न सकिन्छ। ‘हामीले १२ औं भेट्रान्स फुटबल गर्दा ५० बर्ष उमेर समुहको टिम ९ वटा थियो तर अहिले त्यो संख्या बढेर १४ पुगेको छ। यसले पनि उमेर बढ्दै गएकोमा पनि खेल संस्कृतिको विकास भएको मान्न सकिन्छ ।’ अध्यक्ष गुरुंगले गुरुकुल खबरसंग भने ।

संस्थाको नाम बगर भाई खलक रहेको कारण पुरुषहरु मात्र सदस्य रहने ब्यबस्था गरिएको हो र भन्ने प्रश्नमा निबर्तमान अध्यक्ष गुरुंगले भने, संस्थाको नाम बगर भाई खलक भनिएपनि विधानमा महिला पुरुष सबैलाई सदस्य बन्न पाउने ब्यबस्था गरिएको र अन्य सर्बसाधारणलाई समेत सदस्य बन्न सक्ने ब्यबस्था विधानमा गरिएको छ यसका साथै बिदेशमा रहेका साथीहरुले समेत संस्था बिस्तार गर्ने क्रममा बेलायत जापान हंगकंग लगायतका मुलुकमा बगर भाईखालक संस्था  बिस्तार भैसकेको छ ।

चौधौं संस्करणको अन्तराष्ट्रिय एट ए साइड फुटबल प्रतियोगिता माघ १५ बाट 

यसैबीच २०६८ सालबाट शुरुवात गरेको भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको चौधौं संस्करण यहि माघ १५ गतेबाट पोखराको बगरस्थित टुडिखेल फुटबल मैदानमा हुँदै छ। चौधौं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल  प्रतियोगितामा यसपटक ३९ टिमको सहभागिता रहने र प्रतियोगिता माघ २१ गतेसम्म चल्ने छ।

पोखरामा  शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार पोखराको टुडिखेल फुटबल मैदानमा  हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा ४० वर्ष उमेर समुहमा १९ टिम, ५० वर्ष उमेर समूहमा १४ टिम र ६० वर्ष उमेर समुहमा ६ वटा टिम गरेर  ३९ वटा टिमको बिचमा प्रतिस्पर्धा हुनेछ    यसपटक प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

बगर भाइखलकका महासचिब मनकाजी गुरुङले प्रतियोगिताका विजयीहरुलाई आकर्षक पुरस्कारको ब्यबस्था गरिएको बताए उनका अनुसार ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख र उप विजेताले १ लाख रुपैया नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ /५  हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी ५० वर्ष उमेर समूहतर्फ  विजेताले १ लाख र उप विजेताले ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ६० वर्ष उमेर समूहतर्फ विजेताले ५० हजार र उप विजेताले ३० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको तीनवटै विधाको हरेक खेलमा म्यान अफ दी म्याच घोषित हुने खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेर्हौं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जित्न सफल भएकोमा यस पटक कसले उपाधी जित्न सक्ला भन्ने चासो समेत बढेको छ ।

यसपटक प्रतियोगिता सम्पन्न गर्न बगर भाईखलक संस्थाका उपाध्यक्ष यामबहादुर गुरुंग संयोजक रहेको १ सय १ सदस्यीय मूल समिति र विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ देश बिदेशमा पुगेका साथीहरु, विभिन्न व्यक्ति र संस्था, उद्योगी, ब्यबसायी लगायत विभिन्न क्षेत्रबाट सहयोग संकलन गरेर प्रतियोगिता सम्पन्न गर्ने लक्ष राखिएको छ।

बगर भाइखलकले फुटबल खेल विकासमा विशेष योगदान दिने खेलाडीहरुलाई सम्मान गर्दै आएकोमा यस पटक पूर्व राष्ट्रिय खेलाडी रमेश भट्टचनलाई सम्मान गर्ने जनाएको छ । अग्रजलाई सम्मान, समकालीनलाई ब्यायाम, अनुजलाई खेल र सबैलाई स्वास्थ्यप्रति जागरुक बनाउने लक्ष अनुरुप संस्थाले प्रतियोगिता संचालन गर्दै आएको संस्थाका सदस्य रहेका गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिब तेजबहादुर गुरुंगले जानकारी दिए ।

२०६८ सालमा प्रतियोगिता शुरु गर्दा ३५ बर्ष उमेर माथिकोलाई  प्रतियोगितामा समाबेश गरिएको भएपनि समयक्रम संगै त्यसलाई बढाएर ४० बर्ष पुर्याइएको र आगामी दिनमा त्यसलाई पनि बढाएर ४५ / ५० बर्ष उमेर पुर्याउने लक्ष राखिएको छ। बरु ७०/८० बर्ष उमेर भएकोलाई पनि मैदानमा उतार्ने लक्ष संस्थाले राखेको छ। उमेर बढ्दै गएपनि उनीहरुको स्वास्थ्य तन्दुरुस्त रहोस भन्ने सोचाई अनुरुप यस किसिमको सोचाई संस्थाले लिएको पूर्व अध्यक्ष दिलबहादुर गुरुंगले बताए।

प्रतियोगिताको मुख्य प्रायोजक चिरायु नेसनल अस्पताल काठमाडौँ रहेको छ भने सह प्रायोजकको रुपमा बगर भाई खलक युकेले २०७३ सालदेखि नै सहयोग गर्दै आएको छ ।

बगर भाइखलक यूकेको अधिबेशन सम्पन्न, ओमप्रकाश अध्यक्ष रहेको नयाँ समिति निर्बाचित

१२ माघ २०८१, शनिबार १८:४८ मा प्रकाशित
Nabintech