Play

भूकम्पमा परि कम्तिमा ९५ को मृत्यु, १ सय ३० बढी घाइते, तिब्बतको सगरमाथा अबलोकन स्थल बन्द

गुरुकुल खबर


काठमाडौँ, चीनको तिब्बत क्षेत्रमा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने कम्तिमा १ सय ३० जना घाइते भएका छन। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बेइजिङ समय अनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । नेपाली समय अनुसार बिहान ६:५० बजे गएको भूकम्प नेपालमा पनि धक्का महसुस भएको थियो।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि खटिएर क्षति न्यूनिकरण गर्न निर्देशन दिएका छन्। सयौंको संख्यामा सुरक्षाकर्मीहरू परिचालन भएका छन्।

चीनमा मानबिय सहित अन्य क्षति भएपनि नेपालमा भने हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ। त्यस्तै रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्‍याएको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ । यता काठमाडौँको स्युचाटारस्थित घरको छतबाट हामफाल्दा एक जना घाइते भएका छन् । उनको अस्पतालमा उपचार जारी रहेको छ ।

पिपल्स डेली अनलाइनले नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।

सगरमाथा अबलोकन स्थल बन्द 

यसैबीच मंगलबार बिहानको शक्तिशाली भूकम्पपछि तिब्बतमा सगरमाथा अबलोकन स्थल बन्द गरिएको छ । मंगलबार बिहानदेखि दृश्यावलोकन स्थल खुल्न लागेको थियो ।

तर ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएपछि उक्त स्थललाई पूरै बन्द गरिएको टिङ्ग्री सांस्कृतिक तथा पर्यटन विभागका कर्मचारीले स्थानीय सञ्चार माध्यमलाई बताएका छन् ।

भूकम्प जाँदा अवलोकन स्थलमा तीन जना आगन्तुक थिए । उनीहरूलाई तत्कालै त्यहाँबाट निकालिएको र सबै जना सुरक्षित रहेको बताइएको छ ।

टिङ्ग्रीमा सगरमाथाको आधार शिविर छ । सन् २०२४ मा चीन तर्फबाट १३ हजार ७६४ विदेशी पर्यटकले सगरमाथा चढेका छन्। यो सन् २०२३ को भन्दा दोब्बर धेरै हो । चिनियाँ भाषामा सगरमाथालाई चोमोलाङ्मा भनिन्छ ।

२३ पुष २०८१, मंगलवार १७:३९ मा प्रकाशित
Nabintech