Play

अमेरिकामा राष्ट्रिय एकता र मेलमिलाप नीतिको चर्चा, बिपीको नीति अहिले पनि सान्दर्भिक – नेता पौडेल

गुरुकुल खबर


न्युयोर्क (अमेरिका), नेपाली काँग्रेसमा आस्था राख्ने तर विभिन्न पेशा र ब्यबसाय अंगालेर बिदेशमा रहेका नेपालीहरुको संस्था ‘नेपाली जनसम्पर्क समिति’ अन्तर्गत  अमेरिकामा रहेको नेपाली जनसम्पर्क समितिले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भ पारेर न्युयोर्कमा एक कार्यक्रमको आयोजना गर्यो।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम नेपाली जनसम्पर्क समिति विभागका प्रमुख किरण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्युयोर्कमा रहेका नेपाली जनसम्पर्क समितिको विभिन्न तहमा रहेका नेता कार्यकर्ता सहित नेपाली काँग्रेस नेकपा एमाले सहितका राजनीतिक दल र विभिन्न सामाजिक तथा अन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

नेपाली काँग्रेसका नेताहरु बिपी कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई लगायतले भारतमा निर्वासित जिबन बिताउंदै गर्दा तत्कालिन पंचायती सरकारले विपी कोइरालालाई मृत्युदण्डको सजाय सुनाएको थियो। तर विपीले नेपाल राष्ट्रको अस्तित्व नै नरहने अबस्था देखेपछि सबैभन्दा पहिले आफ्नो राष्ट्र जोगाउनुपर्छ भन्ने भावना बोकेर २०३३ सालमा मेलमिलापको नीति अवलम्बन गर्दै स्वदेश फर्कने निर्णय गरेका थिए।

राजालाई आफ्नो राजगद्दी प्रिय लाग्ने भएकोले राजगद्दीमा आफु र आफ्ना उत्तराधिकारीलाई बसाईराख्नको लागि राष्ट्र वा देश रहिरहोस भन्ने चाहना राख्नेहुँदा र नेपाली जनताले आफ्नो राष्ट्रियताको लागि देश रहिरहोस भन्ने चाहने राख्नेहुँदा राजा, जनता र राजनीतिक दल राष्ट्रियताको सवालमा मिल्नुपर्ने संदेश सहित आपनो ज्यानको प्रबाह नगरी २०३३ सालको पुष १६ गते बिपी कोइराला नेपाल फर्किएका थिए। सोहि समय देखि नेपाली काँग्रेसले हरेक बर्ष पुष १६ लाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउंदै आएको छ ।

यस वर्ष नेपाली काँग्रेस केन्द्रीय कार्यालयले नेपाली काँग्रेसका सबै तह, संरचना र विदेश स्थित जनसम्पर्क समितिलाई समेत यो दिवस मनाउन परिपत्र गरे अनुरुप नेपाली जनसम्पर्क समिति अमेरिकाले न्युयोर्कमा कार्यक्रमको आयोजना गरेको बुझिएको छ।

कार्यक्रममा अमेरिकामा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि हरुले विश्वभर छरिएर रहेका प्रवाशी नेपालीहरुको नागरिकता सम्बन्धमा सरकारको नीति स्पष्ट रुपमा आउनुपर्नेमा जोड दिएका थिए। बक्ताहरुले नेपाली काँग्रेस भित्रको गुटबन्दी अन्त्य गर्न र नेपाली जनसम्पर्क समिति भित्रको बिबाद समाधान गर्ने तर्फ पार्टीको गम्भीर ध्यान जानुपर्ने बताएका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले नेपाली काँग्रेसले देशमा प्रजातन्त्र पुनस्थापनाको लागि मात्र नभएर देशमा सुशासन, शान्ति र राजनीतिक स्थिरताको लागि पनि निरन्तर नेतृत्व लिईरहेको स्पष्ट पारे।

२०३३ सालमा बिपी कोइरालाले नेपालको राष्ट्रियता जोगाउन र नेपालमा प्रजातन्त्रको बहाली गर्नको लागि अबलम्बन गरेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि सान्दर्भिक रहेको कुराको चर्चा गर्दै पौडेलले भने “अहिले नेपालको बिकासको लागि, राजनीतिक स्थिरताको लागि र नेपाली समाजको रुपान्तरणको लागि मात्र नभएर देशमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र आर्थिक समुन्नतिको लागि सबैजसो राजनीतिक दलको बिचमा एकता र मेलमिलापको आबश्यकता रहेको छ।”

उक्त कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समिर जंग शाहले विपीको मेलमिलाप नीति अहिलेको राजनीतिक अस्थिरता र गुटबन्दीको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै सबै भन्दा पहिले नेपाली काँग्रेस भित्रबाट नै एकता र मेलमिलाप शुरु गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका नेता एबम महासमिति सदस्य कान्छा लामाले मेलमिलापको नीतिले नेपाली समाजको विभाजनलाई समाप्त गर्ने र नेपालीपनको रक्षा गर्ने आव्हान गरेको भन्दै काँग्रेसमाआँफु भित्रको मेलमिलाप मात्र नभएर सबैलाई मिलाएर लैजानुपर्ने दायित्व रहेको कुरामा जोड दिए ।

नेपाली जनसम्पर्क समिति लंगआइल्याण्ड च्याप्टरका सभापति विश्वराज बाँस्तोलाले विपीले पञ्चायती शासनप्रति असहमतिका बाबजुद पनि संवाद र सहकार्यको माध्यमबाट राष्ट्रको हितमा अघि बढ्नुपर्ने सन्देश दिएको बताउंदै विपीको विचारलाई आत्मसात गर्दै सबै पक्षबीच सहकार्य र संवादको प्रक्रिया सुरु गर्न, जनसम्पर्क समितिहरूको पुनर्गठन र निर्वाचन प्रक्रियामा पारदर्शिता ल्याउन, सशक्त र समावेशी नेतृत्व स्थापित गरि विदेशमा रहेका नेपालीहरूको समस्या समाधानको पहल गर्दै एकता कायम राख्न आबश्यक रहेको बताए।

कार्यक्रमका सभापति समेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एबम नेपाली काँग्रेसका पूर्व केन्द्रीय आमन्त्रित् सदस्य आनन्द बिष्टले गैर आवासीय नेपाली नागरिकहरूको राजनीतिक अधिकार बाहेकका संविधान प्रदत्त अधिकारलाई सुरक्षित गर्न नेपाली कांग्रेसले गैरआवासीय नागरिकताको कार्यान्वयनमा नेतृत्व लिनुपर्ने र विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरु मध्ये केहीमा तत्काल अधिबेशन गर्ने बाताबरण तयार गर्न पार्टीको नेतृत्वसंग आग्रह गरे।

कार्यक्रममा जयनेपाल फाउन्डेसनका संस्थापक एबम एबम नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता विश्वराज बरालले विदेशमा रहेका नेपालीहरूको अधिकारसंगै मातृभूमि प्रतिको कर्तव्य र दायित्व सुनिश्चित गर्न, स्वदेशसँग नेपालीहरुको  कनेक्टिभिटीलाई सुदृढ बनाउन र बिदेशमा सिकेको शिप ज्ञान र अनुभव सहित बिदेशमा आर्जन गरेको श्रोतको नेपालमा उपयोग गर्ने बाताबरण सिर्जना अहिलेको आबश्यकता रहेकोमा जोड दिए।

नेपाली  जनसम्पर्क समिति अमेरिकाका महासचिब मुनिन्द्र नेम्बांग, समितिको न्युयोर्क च्याप्टरका अध्यक्ष महेश मल्ल, प्रवाशी नेपाली मंच अमेरिकाका कृष्ण लामिछाने, राप्रपा विदेश संगठनका अध्यक्ष रुद्र रावल, तरुण विभागका पूर्व केन्द्रीय सदस्य एबम कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शिब बानिया, जयनेपाल फाउन्डेसन न्युयोर्कका सभापति दिनदयाल भण्डारी, जनजाति महासंघ अमेरिकाका सभापति तोरन गुरुङ, नेविसंघकी पूर्व नेत्री अनिता परियार लगायतले सहकार्य, संवाद, र मेलमिलाप नै राष्ट्रको स्थायित्व र समृद्धिको आधार भएको भन्दै आआफ्नो भनाई राखेका थिए।

होला त अधिबेशन  ? 

नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिबेशन नभएको करिब एक दशक बितेको छ । केहि समय अगाडी अधिबेशनको उद्घाटन भएर पनि नयाँ नेतृत्व चयन गर्न प्रक्रिया नसकिंदै पार्टीले अधिबेशन स्थगित गरिदियो । त्यसपछि पार्टीको केन्द्रीय समितिको नामबाट विभिन्न निर्दशन र परिपत्रहरु जारी गरिए। जसका कारण अधिबेशनको प्रक्रिया पुन शुरु हुन सकेको छैन। पछिल्लो समय पार्टीको केन्द्रीय समितिको बैठकले जनसम्पर्क समितिको सवालमा केहि महत्वपुर्ण निर्णय गरेर यथाशिघ्र अधिबेशन गर्ने भनेको भएपनि केन्द्रीय समितिको निर्णयकै कारण अन्योल बढेको जनसम्पर्क समितिका कतिपय नेताहरुको भनाइ छ ।

जनसम्पर्क समिति अमेरिकाका बर्तमान अध्यक्ष आनन्द बिष्ट पार्टीको निर्देशन अनुसार अधिबेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आफु तयार रहेको तर पार्टीले मार्ग प्रशस्त नगर्दा अधिबेशनको बाँकी प्रक्रिया पुरा हुन नसकेको बताउछन। यस पटक जनसम्पर्क बिभाग प्रमुख किरण पौडेलले जनसम्पर्क समिति भित्रको मतभेद मिलाइदिए हुन्थ्यो भन्ने आशामा उनि रहेको छन।

जनसम्पर्क समिति भित्रको बिबाद मिलाउन यस अगाडी पनि पार्टीका नेताहरु एबम जनसम्पर्क विभागका प्रमुखहरु बिर बहादुर बलायर, डीना उपाध्याय, गोबिन्द भट्टराई र विश्वप्रकाश शर्मा लगायतका नेताहरु अमेर्रिका पुगिसकेका छन्। यसपटक फेरी जनसम्पर्क बिभाग प्रमुख किरण पौडेल अमेरिका पुगेका छन। उनि करिब दुई साता अमेरिकामा रहने र  जनसम्पर्क समिति भित्रको मतभेद अन्त्य गर्न पहल गर्ने बुझिएको छ।

१५ पुष २०८१, सोमबार ११:५६ मा प्रकाशित
Nabintech