पोखरा, नेपाली काँग्रेस पोखरा महानगरपालिका २३ न. वडा कार्यसमितिका सभापति भरतराज भण्डारी मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन। पोखरा महानगरपालिका -२३ घाटीछिनाबाट वडा न. २४ मा पर्ने पामे बजार नजिक आफ्नो रेस्टुरेन्टमा फर्किने क्रममा उनि ठुलाखेत भन्दा केहि तल लौरुक खोला नजिकै दुर्घटनामा परेका थिए। भण्डारी पोखरा -२३ का पूर्व जनप्रतिनिधि तथा वडा सदस्य समेत हुन।
घाइते भण्डारीको मुख र अनुहारमा गम्भीर चोट लागेको छ तर पोखराको नेपाल मणिपाल शिक्षण अस्पतालको आइसियु कक्षमा उनको उपचार भैरहेको छ। भण्डारीलाई अस्पतालमा भेटेर फर्किएका कांग्रेस पोखरा महानगरका सभापति सुरेन्द्र बिजुक्छे र प्राध्यापक बेदहरी तिमिल्सिनाले स्वास्थ्यकर्मीहरुलाई उद्दृत गर्दै घाइते भण्डारीको मुखको अपरेसन गर्नुपर्ने अबस्था रहेको जानकारी दिए।
बेलुका करिब ७ बजे साँझ परेको समय र भत्किएको र जिर्ण सडकका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने चापाकोट गाबिसका पूर्व अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका नेता भेषराज पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए। ‘पार्टीको एक सय दिने बिशेष अभियान अन्तर्गत घाटीछिनामा दुई चरणको कार्यक्रम सकेर उनि चंखपुर स्थित आफ्नो रेस्टुरेन्ट फर्किने क्रममा भत्किएको सडकमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको रहेछ।’ कांग्रेस नेता पराजुलीले भने ।
भण्डारी मोटरसाइकलमा एक्लै आउंदै थिए भने उनको पछि पछि अर्को मोटरसाइकलमा सोहि वडाका वडाध्यक्ष रामकाजी गुरुङ र भेषराज पराजुली पोखरा तर्फ आउंदै थिए। साँझको बेला सडक किनारामा मोटरसाइकल लडेको देखियो, अनि हामी रोकिएर हेर्दा सडक किनाराको खाल्डोमा लडेको घाइते अबस्थामा उनलाई देखियो।, त्यसपछि तत्काल स्थानीयलाई हारगुहार गरेर भण्डारीलाई एम्बुलेन्स मार्फत करिब आधा घण्टा भित्रमा नै अस्पताल पुर्याइएको पराजुलीले बताए।
शनिबार पोखरा -२३ घाटीछिनामा कांग्रेसको वडास्तरीय भेला डाकिएको थियो। भेलामा जिल्लाबाट खटिएका पार्टीको पुर्ब सभापति कृष्ण केसी, पोखरा महानगर सभापति सुरेन्द्र बिजुक्छे र किसान महासंघका केन्द्रीय सदस्य भेषराज पराजुली सहितका नेताहरु सहभागी थिए। उक्त भेलामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईलाइ समेत आमन्त्रण गरिएको थियो तर भट्टराई अन्नपुर्ण गाउँपालिका स्तरीय कार्यक्रममा सहभागी हुन नाउडांडा पुगेका थिए ।
नाउडांडाको कार्यक्रम सकेर भट्टराई वडा न. २३ घाटीछिना पुगेका थिए। दिउँसो कार्यक्रममा पुग्न नसकेपनि बेलुकापख कार्यकर्ता भेटघाट सहित केहि अबस्था बुझ्न भनि जिल्लाको लागि खटिएका केन्द्रीय प्रतिनिधि भट्टराई सहितको टोलि त्यहाँ पुगेको थियो।
दिउँसोको निर्धारित कार्यक्रम सकिएको भएपनि कार्यकर्ताहरु संग भेटघाट गर्ने लक्षका साथ त्यहा पुगेको टोलीमा कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, महिला संघ कास्कीको अध्यक्ष मिना पाण्डे, नेपाली काँग्रेस कास्कीका सहसचिब शंकर ढुंगाना, पार्टीको गण्डकी प्रदेश सदस्य जिबनप्रसाद बाँस्तोला, महाधिबेशन प्रतिनिधि पोषनाथ शर्मा, पार्टीको केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली, प्राध्यापक बेदहरी तिमिल्सिना, क्षेत्रिय सह-सचिब शीतल अधिकारी लगायत रहेका थिए।
टोलि त्यहा पुगेर केहि समय अन्तरक्रिया गर्नुको साथै पार्टीलाई थप संगठित र सशक्त बनाउने बिषयमा केन्द्रीय सदस्य भट्टराईसंग गम्भीर छलफल भएको थियो । दिउँसो र बेलुकापख दुई चरणका कार्यक्रम सकेर कांग्रेसका वडा सभापति भण्डारी चंखपुर् स्थित आफ्नो रेस्टुरेन्टमा फर्किने क्रममा उक्त दुर्घटना हुन पुगेको हो ।