पोखरा, नेपाली काँग्रेसका पूर्व सभापति एबम पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको १ सय १ औं जन्मजयन्तीको सन्दर्भमा नेपाली काँग्रेस गण्डकी प्रदेश समितिले सोमबार पोखरामा ‘किसुनजी’ बिषयमा बिचार गोष्ठीको आयोजना गर्यो। उक्त गोष्ठीमा नेपाली काँग्रेसका विभिन्न तहका नेताहरुले किसुनजी जस्तो सादगी र त्यागी नेताको अभावका कारण मुलुकको राजनीतिमा बिकृति बढेको र आम रहेको बताएका थिए। बक्ताहरुले किसुनजीलाई सन्त नेता, त्यागको प्रतिमुर्ती, आध्यात्मिक शक्ति र नैतिक बल भएको नेताको रुपमा चर्चा गरेका थिए।
बिचार गोष्ठीमा बोल्दै नेपाली काँग्रेसका नेता एवं कृष्णप्रसाद भट्टराई स्मृति केन्द्रका अध्यक्ष समेत रहेका दीपकुमार उपाध्यायले किसुनजी सन्त नेता मात्र नभई काँग्रेस पार्टीको छविलाई सधै स्वच्छ राख्ने कार्यमा सक्रिय रहेको बताए । “राजनीति धमिलो नहोस् र काँग्रेस प्रतिको विश्वास जनतामा वढ्दै जाओस भन्ने चिन्ता उहाँमा सधै थियो” उपाध्यायले भने।
देशमा प्रजातन्त्र प्राप्तिसँगै किसुनजीले अन्तरिम संविधान लेखन र आम निर्वाचन समयमै सम्पन्न गरेर राजनीतिक सफलता हासिल गरेको मात्र नभएर पद र पैसाको पछाडी कहिल्यै नलाग्ने संदेश दिएको उपाध्यायले बताए । वर्तमान अवस्थामा राजनीतिमा नैतिकता, इमान्दारिता, मूल्य र मान्यताको आवश्यकता खड्किएको बताउँदै राज्य संचालनमा बस्नेहरुले किसुनजीको जस्तै व्यक्ति भन्दा पनि गुण र दोषलाई हेर्न आवश्यक रहेकोमा उपाध्यायले जोड दिए ।
भारतका लागि पूर्व नेपाली राजदुत समेत रहेका उपाध्यायले किशुनजीको जस्तो भावना बोकेर अगाडी बढ्न सबै राजनीतिकर्मीलाई आग्रह गरे । उनले बर्तमान अबस्थामा किसुनजीको जस्तो त्याग, निष्ठा र समर्पणको भावना समकालीन राजनीतिमा क्रियाशील नेता कार्यकर्तामा नदेखिएको भन्दै चिन्ता प्रकट गरे ।
आध्यात्मिक ज्ञान समेत पर्याप्त भएका किसुनजीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाको लागि सधै लडेको चर्चा गर्दै राजनीतिमा हार र जीतले कुनै प्रभाव नपार्ने भएकोले जीत र हार भन्दा माथी आफूलाई राख्नुपर्ने किसुनजीले सिकाएको उपाध्यायले बताए ।
अहिलेको राजनीतिमा अनैतिकता र छलछाम बढेको, डन र धनको संस्कृतिले मौलाएको कुराको चर्चा गर्दै सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास नगर्ने हो भने पार्टी खतराको अवस्थामा आइपुगेको उनले बताए। पूर्वमन्त्री उपाध्यायले भने- ‘किसुन जी भन्नुहुन्थ्यो, सत्ता प्राप्ती मेरो रुची होइन, मोक्ष नै मेरो लक्ष्य हो।’
अहिले नेपालमा बस्नेहरुले नै देशमा आफ्नो भबिष्य नदेख्ने अबस्था आएको उल्लेख गर्दै उपाध्यायले भने ” राजनीतिमा क्रियाशील नेताहरु बीच अथवा विभिन्न राजनीतिक दलहरुबीचमा आरोप प्रत्यारोपको अबस्था छ। नागरिकहरुले दल र नेताप्रति बिश्वास र भरोसा गर्न छाडेका छन। यो सबै राजनीति र नेतामा निष्ठाको अभाव नै प्रमुख हो, राजनीतिमा निष्ठा र समर्पणको भावना बिकास गर्न किसुनजीको बारेमा बुझ्न जरुरी हुन्छ।”
बिगतमा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु बिच आत्मियता र पारिवारिक भावनाको बिकास गर्न किसुनजी लगायतका नेताको व्यवहार उदाहरनिय रहेको नेता उपाध्यायले बताए। किसुनजीलाई चुनाब हराउन गएका काँग्रेस कार्यकर्ताहरुले केहि समयपछि किसुनजीसंग पुगेर आफुहरुले गल्ति गरेको कारण माफि दिन आग्रह गर्दा ‘गल्ति महशुस गर्नु नै महानता हो भन्दै दुखि नबन्न र भविष्यमा कांग्रेस बलियो बनाउन’ कार्यकर्ताहरुलाई निर्देशन दिने गरेको समेत उनले स्मरण गराए।
उपाध्यायले प्रजातन्त्र, मानबधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा कहिल्यै सम्झौता नगर्ने किसुनजीको प्रतिबद्दताको सबैले सराहना गर्ने गरेको स्पष्ट पारे।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रय सदस्य गोविन्द भट्टराईले सन्त नेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो हिड्ने हो भने नेपाली काँग्रेले जनतामाझ लोकप्रियता हासिल गर्ने मात्र नभएर नेपाली जनताको प्रिय पार्टी बन्न सक्ने विश्वास गरे।
केन्द्रीय सदस्य भट्टराईले कांग्रेस भित्रबाट गिरिजाबाबु र किसुनजीको बिचमा द्वन्द बढाउन खोज्ने केहि नेताहरु समेत रहेको बताउंदै आँफु किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेको समेत स्पष्ट पारे। उनले घर परिवारको माया मोह र सबै दवाब र प्रभावबाट मुक्त भएर देश र जनताको लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजी बाट नै मिल्ने भएकोले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए।
कार्यक्रमको बारेमा जानकारी दिंदै नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैब नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको बताए । किसुनजी जस्तो नेता संसारमा बिरलै मात्र पाउन सकिन्छ भन्दै गिरिजाबाबु, गणेशमान, सुबर्ण शमशेर सहित नेताहरुलाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपुर्ण रहेको बताए ।
नेपाली काँग्रेसका कास्कीका पूर्व सभापति एबम पूर्व मन्त्री यज्ञबहादुर थापाले किसुनजीको निष्ठा र समर्पणको चर्चा गर्दै काँग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ भनेर सदैब लागिपर्ने नेताको रुपमा किसुनजी रहेको स्पष्ट पारे ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णुप्रसाद लामिछाने, सहमहामन्त्री कोपिला रानाभाट, पार्टीको गण्डकी प्रदेश समितिका प्रबक्ता माधव प्रसाद बाँस्तोला,नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले काँग्रेसको संगठन बलियो बनाउन कृष्णप्रसाद भट्टराईको योगदान महत्वपूर्ण रहेको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा प्रा.डा. कुसुमाकर न्यौपानेले आदर्श नेता कष्णप्रसाद भट्टराई विषयमा किसुनजीको योगदान र व्यक्तित्वको बारेमा चर्चा गरेको नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एबम प्रचार बिभाग उपप्रमुख शिरोमणी बरालले गुरुकुल खबरलाई जानकारी दिए।