पोखरा, नेपाली काँग्रेस निकट कानुन ब्यबसायीहरुको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनको गण्डकी प्रदेश स्तरीय भेला शुक्रबार पोखरामा सम्पन्न भयो ।आगामी माघमा हुने कानुन ब्यबसायी परिषद सदस्यको चुनाब र चैत्रमा हुने नेपाल बार एसोसिएसनको केन्द्रीय महाधिबेशनलाई लक्षित गरि भेलाको आयोजना गरिएको बताइएको छ।
यस किसिमको भेला यस अगाडी कोशी, लुम्बिनी र मधेश प्रदेशमा सम्पन्न भैसकेको र अन्य प्रदेशमा पनि गरिने डीएलए केन्द्रीय समितिले जनाएको छ। भेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका डिएलए सम्बद्ध कानुन ब्यबसायीहरुको सहभागिता रहेको थियो।
भेलामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र डीएलएको केन्द्रीय समितिमा रहेका एबम कानुन ब्नेयबसायी परिषद र नेपाल बारको चुनाबमा आकाक्षि बन्न चाहने अधिकांशले अन्य संगठनसंग मिलेर चुनाबमा जानु भन्दा एकल रुपमा चुनाबमा जानुपर्नेमा जोड दिएका थिए।
नेपाली काँग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भैरहेको बर्तमान अबस्थामा एमाले र काँग्रेस निकट कानुन ब्यबसायीहरु मिलेर चुनाबमा जान पार्टी तहबाट हस्तक्षेप हुन सक्ने भन्दै केहि कानुन ब्यबसायीले त्यस्तो अबस्था आए केन्द्रीय नेतृत्वले खुट्टा टेकन सक्छ वा सक्दैन ? भनि प्रश्न समेत गरेका थिए।
डीएलए कास्कीका पूर्व अध्यक्ष कपिलमणि दाहालले भेला गर्नु अगाडी नै केन्द्रले आसन्न चुनाबमा अन्य संगठन संग गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा टुंग्याउनुपर्ने थियो भन्दै भेलाबाट साठारुको उमेद्वारी माग्ने तर भोलि गठबन्धन गर्नुपर्ने अबस्था आयो भने नेतृत्वले खुट्टा टेक्न सक्ने कि नसक्ने ? भन्दै प्रश्न गरे।
उनले गठबन्धन गर्नुपर्ने अबस्था आए नेपाल बारको केन्द्रीय उपाध्यक्ष र कानुन ब्यबसायी परिषदको सदस्य दुवै पद लिएर गर्नुपर्नेमा जोड दिंदै परिषदको सदस्य पद कुनै अबस्थामा पनि छोड्न नहुने तर्क गरे।
डीएलए कास्कीका अध्यक्ष कमल पौडेलले डीएलए नेपाली काँग्रेसको भात्री संस्था नभएको कारण काँग्रेसको सबै हस्तक्षेप स्वीकार्न बाध्य नहुने भन्दै डीएलए आसन्न चुनाबमा एक्लै चुनाब लड्न सक्षम रहेकोले खुट्टा नकमाई अगाडी बढ्न नेतृत्वलाई सुझाब दिए। तर डिएलएले घोषणा गरेका उमेद्वारलाइ जिताउन सबैले होस्टेमा हैंसे गर्नुपर्ने उनको भनाई थियो।
कास्की डिएलएका पूर्व अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले उमेद्वार चयन गर्दा संगठनमा काम गरेको र भोलिको लागि पनि संगठनमा योगदान दिन सक्ने कानुन ब्यबसायीलाई उमेद्वार बनाउनुपर्नेमा जोड दिए।
डिएलए नवलपुरका अध्यक्ष गणेश अधिकारीले पार्टी भित्रको गुटको प्रभावमा नपर्न र सबै कानुन ब्यबसायीले आफुलाई सुधार गर्न आग्रह गर्दै योग्य सक्षम र प्रभाव भएको व्यक्तिलाई उमेद्वार बनाउनुपर्नेमा जोड दिए।
डिएलए रुकुमका अध्यक्ष आरसी गौतमले गठबन्धन गरेर चुनाब जित्दा काम गर्न समेत अप्ठेरो हुने बताए। अहिले नेपाल बारको अध्यक्ष गोपाल घिमिरेलाई आफु अनुकुलको महासचिब नहुँदा चाहेको काम गर्न नसकेको भन्दै चुनाबमा गठबन्धन हुने भए बारको अध्यक्ष र महासचिब दुवै पद लिएर मात्र गठबन्धन गर्न अन्यथा गठबन्धन नगर्न उनले नेतृत्वलाई खबरदारी गरे।
उच्च अदालत बार एसोसिएसन पोखराका अध्यक्ष बिष्णु प्रसाद मरासिनीले प्रदेश स्तरीय भेलामा प्रदेश भित्रका विभिन्न जिल्लामा संगठनको अबस्था कस्तो छ भन्ने बारेमा जानकारी गराउनु पर्नेमा त्यस्तो हुन नसकेको भन्दै चिन्ता प्रकट गरे।
काठमाडौँ बारका पूर्व अध्यक्ष एबम बरिष्ठ अधिबक्ता राजेश्वर अधिकारीले प्रदेश स्तरको भेलामा उपस्थिति न्युन रहेको भन्दै यस्तै अबस्था चुनाबमा हुने हो भने गठबन्धन, महागठबन्धन वा ठगबन्धन जे गरे पनि चुनाब जित्न नसकिने तर्क गरे।
अधिकारीले मतदाता कानुन ब्यबसायीहरुमाझ लोकप्रिय र प्रभाव भएको व्यक्तिलाई उमेद्वार बनाउनुपर्ने भन्दै आफु अघिल्लो पटक नेपाल बारको उपाध्यक्ष पदमा उमेद्वार बने पनि मत नपुगेको कारण यस मत पुग्ने र जित्ने गरि उमेद्वार बन्न चाहेको स्पष्ट पारे। ‘यसपटक मेरो प्राथमिकता महासचिब हो, त्यो पद नमिले उपाध्यक्ष पदमा पनि चुनाब लड्ने इछ्या छ’ अधिकारीले भने।
कार्यक्रममा उपस्थित डिएलएका पूर्व अध्यक्षहरु यदुनाथ खनाल र योगेन्द्र बहादुर अधिकारीले डिएलएका गतिविधिको बारेमा चर्चा गर्दै आफुहरु नेपाल बारको अध्यक्षको उमेद्वार बन्ने चाहना ब्यक्त गरेका थिए भने नेपाल बारका पूर्व महासचिब माधब बास्कोटाले आफु बिगत २२ वर्षदेखि बारमा निरन्तर लागेको कारण अब अध्यक्ष पदमा उमेद्वार बन्न चाहेको जानकारी गराए।
बरिष्ठ अधिबक्ता रोहितराज बाँस्तोलाले संख्यात्मक हिसाबले धेरै भए पनि चुनाबको दिनमा अर्को तिर मतदान गर्ने प्रवृति चिन्ताजनक रहेको भन्दै आँफु कानुन ब्यबसायी परिषद सदस्यको लागि आकान्क्षी रहेको जानकारी गराए।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुको कुरा सुनेका न्याय परिषदका पूर्व सदस्य एबम बरिष्ठ अधिबक्ता उपेन्द्रकेशरी न्यौपानेले पहिले सैद्दान्तिक अबधारणा स्पष्ट हुनु पर्नेमा जोड दिंदै चुनाब लडेर कुनै पदमा जित्ने रणनीति मात्र भन्दा जितेर के गर्ने भन्ने स्पष्ट एजेन्डाको बारेमा बहस हुनुपर्ने बताए।
वर्तमान सरकारमा नेपाली काँग्रेस पनि सहभागी रहेको कुराको चर्चा गर्दै संबिधान संसोधन लगायतका एजेन्डाबारेमा स्पष्ट हुन नसके चुनाब जितेर मात्र केहि अर्थ नरहने उनको भनाई थियो।
बरिष्ठ अधिबक्ता न्यौपानेले तत्कालिन अबस्थामा नेपाली काँग्रेसलाई सहयोग गर्ने शुभेच्छुकहरुको समूह भनेर विभिन्न पेशामा जोडिएका प्रजातन्त्रबादीहरुको समूह बनाउन आफुले समेत पहल गरेको स्मरण गर्दै उनले भने। ‘कांग्रेसलाइ सहयोग गर्ने भनेर बनाइएको शुभेच्छुकहरुको समुहलाई नै पछि कांग्रेसले शुभेक्षुक संस्था भनेर घोषणा गरेको जानकारी दिंदै न्यौपानेले आफु चुनाबमा उमेद्वार नबन्ने स्पष्ट पारे।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिएलएका केन्द्रीय अध्यक्ष सिताराम केसीले अन्य संगठनसंग गठबन्धन गरेर चुनाबमा जाने सम्बन्धमा कुनै संस्थागत निर्णय नभएको जानकारी गराउंदै पार्टीको तर्फबाट समेत गठबन्धन गर्नको लागि हस्तक्षेप नहुने बिश्वास ब्यक्त गरे।
अध्यक्ष केसीले ब्यबस्थित न्याय प्रणाली अबलम्बन गर्न लोकतान्त्रिक कानुन ब्यबसायीको भूमिका महत्वपुर्ण हुने बताउंदै न्याय क्षेत्रमा देखिएका बिकृति विसंगति हटाउन निरन्तर खबरदारी गर्नुपर्ने बताए।
कार्यक्रमका बिशेष अतिथि एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले अन्य संगठन संग गठबन्धन गर्ने वा नगर्ने भन्ने सम्बन्धमा पहिलो निर्णय सम्बन्धित संस्थाले गर्नुपर्ने कुरामा जोड दिंदै नकारात्माक कुराले देश र संस्थाको हित नहुने बताए।
उनले नेपाली काँग्रेसमाथि इतिहास भजाएर राजनीति गर्ने गरेको आरोप लागे गरेको भन्दै अब इतिहास र बर्तमानको संयोजन गरेर पार्टी अगाडी बढ्नुपर्ने खाँचो रहेको बताए । उनले नकारात्मक कुराले मात्र देशको हित हुन नसक्ने भन्दै यस्तै अबस्थाम पनि आगामी २० बर्षमा नेपाललाई गरिबीमुक्त देश बनाउन सक्ने गरि काम गर्नुपर्ने खाँचो औंल्याए।
कार्यक्रममा डिएलएका बरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले हाल जारी प्रदेश भेलाकोबारेमा जानकारी गराउंदै डिएलएको बिधान संसोधनको प्रक्रिया समेत अगाडी बढिरहेको जानकारी गराए।
बरिष्ठ उपाध्यक्ष ढकाल सहित महासचिब ज्ञानेन्द्र अधिकारीले डिएलएको तर्फबाट सक्षम, परिचित र नेतृत्व क्षमता भएको व्यक्तिलाई नेपाल बारको अध्यक्षको उमेद्वार बनाउनुपर्ने खाँचो औंल्याए।
बरिष्ठ अधिबक्ता एबम कानुन ब्यबसायी परिषदका सदस्य मुकुन्द अर्यालले नेपाल बारको गरिमा बढाउन डिएलएले उमेद्वार छनोट गर्दा बिशेष ध्यान दिनुपर्नेमा जोड दिंदै नेपाल बारका अध्यक्षमाथि लगाइएको अपहेलनाको मुद्दाका बारेमा कानून व्यवसायीले आवाज उठाउनुपर्नेबताए।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेपाल बारका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र केसीको साथै कानुन ब्यबसायीहरु पदमबहादुर शाही कमलामोहन वाग्ले रामचन्द्र त्रिपाठी, दयााराम गौतम बाबुराम अर्याल,तनहुँका अध्यक्ष चन्द्रकान्त वाग्ले, बाग्लुंगका अध्यक्ष जयन्ता केसी, ड़िएलए कास्कीका उपाध्यक्ष कृष्ण कुमारी गुरूङ, पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले आफ्ना भनाइ राखेका थिए।
नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन गण्डकी प्रदेशका अध्यक्ष भूमेश्वर शर्मा गौतमको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिब प्रभाष पराजुलीले गरेका थिए।