Play

पत्रकार महासंघमा महिला नेतृत्व स्थापित हुँदै, कांग्रेस एमाले सम्बद्ध पत्रकारको बर्चस्व रहने, घोषणाको तयारी

गुरुकुल खबर


काठमाडौँ,  नेपाली पत्रकारहरुको छाता संस्थाको रुपमा परिचित नेपाल पत्रकार महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मतगणनाको प्राप्त परिणाम अनुसार अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महासंघले महिला नेतृत्व पाउने भएको हो ।

महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार निर्वाचनको मतपरिणामको अन्तिम नतिजा भने आज आइतबार बिहान १० बजे पछि सार्वजनिक गरिने बताइएको छ ।सबै मत गणना सकेर प्रक्रिया पूरा गरेर निर्वाचित भएकोहरुको घोषणा गरिने समितिका एक सदस्यले बताए ।

प्राप्त जानकारी अनुसार कर्णाली प्रदेशको केहि जिल्लाको र काठमाडौँ उपत्यकाको केहि स्थानको मतगणनाको आधिकारिक विवरण आउन बाँकी रहेकोले औपचारिक घोषणा हुन बाँकि रहेपनि निर्मला सहित उनको प्यानलका सबैजसो पदाधिकारीले जित्ने निश्चित भएको छ ।

शर्मा संचारिका समुहको पूर्व अध्यक्ष पनि हुन उनले महासंघको जिम्मेवारी लिन पटक पटक प्रयास गरेको भएपनि यस पटक अध्यक्ष बन्ने अवसर जुटेको हो उनले कान्तिपुर टेलिभिजन लगायत विभिन्न समाचार संस्थामा रहेर पत्रकारिताको अनुभव बटुलेकी छन।

उनले निकटम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गर्दै महासंघको नेतृत्व गर्ने निश्चित भएको हो । शर्माको माइती घर तथा कर्म घर पोखरा नै रहेपनि पछिल्लो समय सपरिवार काठमाडौँ बस्दै आएका छन।

पदाधिकारीहरु र केन्द्रीय समितिका सदस्यहरुमा पनि प्रेस युनियन र प्रेस चौतारीका उमेद्वारहरुको बर्चस्व रहने भएको छ।  जस अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य बिजयी हुने पक्का छ। उनि नेपाल प्रेस युनियनमा लामो समय देखि क्रियाशील छन। चितवन घर भएका आचार्य प्रेस युनियनका पूर्व बरिष्ठ उपाध्यक्ष समेत हुन्।

यसैगरी समाबेशी उपाध्यक्षमा कैलालीका उमीद बागचन्दको जीत पनि सुनिस्चित भएको छ।लामो समय बिबिसी नेपाली सेवामा काम गरेका बागचन्द सुचनाको हकको अभियन्ता संगै राष्ट्रिय संजालका संयोजक पनि हुन्। उनि पनि प्रेस युनियन निकटका हुन् र नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत हुन्।

महिला उपाध्यक्षमा नितु पण्डितले जित्ने पक्का भएको छ। प्रेस चौतारीको तर्फबाट उमेद्वार बनेकी नितु संचारिका समूहको पूर्व अध्यक्ष समेत हुन् ।

महासंघको महासचिवमा रामप्रसाद दाहालको जीत पनि सुनिस्चित भएको छ। हाल रातो पाटी डटकमका सम्पादक रहेका दाहाल महासंघको पूर्व सचिब पनि हुन्। उनले न्युनतम पारिश्रमिक निर्धारण समिति र प्रेस काउन्सिलको सदस्य रहेर पनि काम गरिसकेका छन उनि श्रमजीबी पत्रकारको एजेन्डा बोक्ने पत्रकारको रुपमा चिनिन्छन।

कोषाध्यक्ष पदमा रामकृष्ण ज्ञवालीको बिजय पनि निश्चित भैसकेको छ तर अन्य पदमा भन्दा कोषाध्यक्ष पदमा मतान्तर केहि कम हुने देखिएको निर्बाचन समितिको पछिलो मतगणनाको परिणामले देखाएको छ। ज्ञवाली प्रेस चौतारीको तर्फबाट उमेद्वार बनेको हुन्। उनलेयस अगाडी महासंघको केन्द्रीय सदस्य र कास्की शाखाको अध्यक्ष भएर काम गरिसकेका छन ।

यस्तै विभिन्न सचिब पदमा र अधिकांश केन्द्रीय सदस्य पदमा सत्ता गठबन्धन अर्थात नेपाल प्रेस यनियन र प्रेस चौतारीको गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित देखिएको छ। केही पदमा भने प्रेस सेन्टर निकटका उम्मेदवार निर्वाचित हुने सम्भावना समेत छ।

निर्वाचनमा कांग्रेस एमाले निकट क्रमशः प्रेस युनियन र प्रेस चौतारीको गठबन्धन थियो भने प्रेस सेन्टर र प्रेस संगठन सहितका केही पत्रकार संगठनले पनि तालमेल बनाएर निर्वाचनमा भाग लिएका थिए ।

यसरी तालमेल हुँदा प्रेस युनियनबाट बिद्रोह गरि अध्यक्षमा बागी उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर नेतृत्व लगायतले साथ दिएका थिए यसै गरि बरिष्ठ उपाध्यक्षमा प्रेस सेन्टरका रोशन पुरी लगायतका उमेद्वार रहेका थिए ।

३० मंसिर २०८१, आईतवार ०८:१८ मा प्रकाशित
Nabintech