अमेरिका, अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको बिजया सुनिश्चित भएको छ। राष्ट्रपति पदका लागि भएको निर्बाचनको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रपति जित्नको लागि आबश्यक पर्ने भन्दा बढी अर्थात २ सय ८० इलेक्टोरल मत प्राप्त गरेपछि ट्रम्पको बिजय सुनिस्चित भएको हो। राष्ट्रपति पदका अर्का उमेदवार कमला ह्यारिस भने प्रतिष्पर्धाको नजिक आएर पनि पराजित हुन पुगिन।
अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको शानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे । ‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् ।
आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताए । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ । विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तीमा ३१५ इलेक्टोरल मत ल्याउने ट्रम्पको भनाइ छ । ‘हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं । यो निकै महत्वपूर्ण र महान् छ,’ उनले भनेका छन् ।
सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन् । स्टेजमा उनले मेलानियलाई अंकमाल गरेका थिए । ट्रम्पले सम्बोधन गरिरहेका बेला समर्थकहरूले भने ‘अमेरिका, अमेरिका’ भन्दै हुटिङ गरेका थिए ।
डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति बन्दैछन, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए । यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए । उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
त्यस यता वा त्योभन्दा अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यस्तो सफलता हात पार्न सकेका थिएनन् । १३२ वर्षपछि डोनाल्ड ट्रम्प उक्त इतिहास दोहोर्याउन सफल हुँदैछन् ट्रम्प पहिलो पटक सन् २०१६ मा अमेरिकी राष्ट्रपति बनेका थिए । त्यतिबेला उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
सन् २०२० मा भएको निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भए । सन् २०२४ मा भने ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पपुलर मतमा पराजित गरेका छन् । यद्यपि, इलेक्टोरल मतमार्फत निर्वाचित नभइ अमेरिकाको नयाँ राष्ट्रपति चयन प्रक्रियाको औपचारिकता पूरा भएको मानिने छैन ।
अमेरिकी उच्च सदन (सिनेट) मा पनि रिपब्लिकन पार्टीले बहुमत ल्याइसकेको छ । पार्टीले चार वर्षपछि सिनेटमा आफ्नो सङ्ख्या बहुमतभन्दा माथि पुर्याएको बताइएको छ । सदनमा रिपब्लिकन पार्टीको ५१ र डेमोक्रेट पार्टीको ४९ सांसद कायम रहने देखिएको छ।
यसैबिच ट्रम्पले खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । मस्क यस पटकको चुनावी अभियानमा खुलेर ट्रम्पको पक्षमा लागेका थिए ।
राष्ट्रपति पदका अर्का उमेदवार कमला ह्यारिसले निर्वाचनको परिणाम कमजोर आएपछि अन्तिम समयमा आएर मतदातालाई सम्बोधन गर्ने भनिएको कार्यक्रम स्थगित गरेकी छन । ह्यारिसले सम्बोधन गर्ने खबर संगै ठुलो सङ्ख्यामा उनका समर्थकहरू कार्यालय बाहिर जम्मा हुन थालेका थिए तर अन्तिम अबस्थामा कार्यक्रम रद्द गरिएको थियो । राष्ट्रपतिका लागि सम्पन्न निर्वाचनको मतगणना अझै जारी छ ।