काठमाडौँ, साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । आयोजक नेपाललाई १ को बिरुद्द २ गोलले पराजित गर्दै बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जित्न सफल भएको हो ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि तिन वटै गोल दोस्रो हाफमा भएको हो ।
खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् । तर, नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रू बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् ।
खेलको ८१औँ मिनेटमा ऋतु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट ऋतुले उत्कृष्ट गोल गरेकी हुन् । यही गोल निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको हो । यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बंगलादेशले ३–१ ले हराएको थियो ।
प्रतियोगितामा बंगलादेशकी रुक्मा चक्मा बेस्ट गोलकिपर बनिन् । भुटानकी देकी लाजोम सर्वाधिक गोल गर्ने खेलाडी बनिन् । उनले प्रतियोगितामा आठ गोल गरेकी थिइन् । बंगलादेशकी ऋतु पोर्ना चक्मा ‘बेस्ट प्लेयर अफ द टुर्नामेन्ट’ बनिन्।
नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेको घोषणा गरेका छन् । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक तामाङले पद छाडेको घोषणा गरेका हुन् ।
“यो मेरो अन्तिम हो । अब अगाडि जादिनँ । यो लास्ट हो । अब काम गर्दिनँ । म अब क्लबतिर जान्छु होला, राष्ट्रिय टिममा जादिनँ । अब यसलाई राजीनामा भन्ने कि के भन्ने अब तर म काम चाहिँ गर्दिनँ,” उनले भने ।
नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो । साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।
नेपालले हारेपछि दशरथ रंगशालामा खेल हेर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्शकहरूले नाराबाजी गरेका थिए ।