Play

अष्ट्रेलियाको मेलबर्नमा पोखरेलीहरु संगठित बन्दै, संस्था स्थापनाको पहल

गुरुकुल खबर


मेलबर्न (अष्ट्रेलिया ), नेपालको पोखरा क्षेत्रबाट अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत मेलबर्न लगायत विभिन्न स्थानमा आएर बसोबास गर्नेहरु संगठित हुने प्रयासमा रहेका छन। विभिन्न मुलुकमा पुगेका नेपालीहरुले आफ्नो राजनीतिक बिचारको आधारमा मात्र नभएर जातिय र भौगोलिक आधारमा समेत विभिन्न संघ संस्था र समाज स्थापना गर्ने क्रम चलिरहेको छ जसका कारण बिदेशमा रहेका नेपालीहरु दर्जनौं संस्थाहरुमा समेत संलग्न हुने गरेका छन।

अष्ट्रेलियाको पारिवारिक भ्रमणमा रहेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष एबम नेपाल सरकारको न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुलीसंगको भेटघाटको क्रममा पनि  पोखरेली युवाहरुले पोखराबाट आएकाहरुलाई संगठित गरेर यथाशिघ्र कुनै संस्था बनाउने सोचाइ रहेको सुनाए। पोखरामा रहेर लामो समय पत्रकारिता र संचारकर्ममा क्रियाशील पराजुली पछिल्लो समय राजनीतिमा सक्रिय छन।

‘राजनीतिक र जातीय आधारमा मात्र नभएर आफ्नो क्षेत्रको बिकासको निम्ति सकेको सहयोग गर्ने, आफ्नो क्षेत्रका मानिसहरुलाई सुख दुखमा सहयोग गर्ने र आफ्नो क्षेत्रका मानिसहरुको प्रतिभालाई उजागर गर्दै आबश्यक पहिचान र सम्मान गर्नको लागि एउटा संस्था आबश्यक परेको हामीलाई महशुस भएको छ’ भेटघाटको क्रममा पोखराबाट अष्ट्रेलिया आएर बसेका सुमन गुरुंग (आइटी )ले भने।

पोखरा र आसपासको क्षेत्रबाट भिक्टोरिया राज्यमा आएर अध्ययन संगै बिभिन्न पेशा र ब्यबसायमा संलग्न हुनेहरुको संख्या करिब ५ हजार रहेको अनुमान गरिएपनि सबैलाई एकै ठाउँमा आबद्द गराउने संस्थाको अभाबमा संख्या एकिन गर्न नसकिएको र कुनै पोखरेलीलाई केहि समस्या पर्दा चाहेर पनि सहयोग गर्न नपाएको अबस्ठालाई दृष्टिगत गरि पोखरेलीहरुको संस्थाको आबश्यकता खड्किएको उनीहरुको भनाई छ।

भिक्टोरियामा चितवन क्षेत्रबाट आएर विभिन्न ब्यबसाय र पेशामा संलग्नहरुको बाहुल्यता रहेको छ जसका कारण चितवन समाज संगठित भएर विभिन्न गतिबिधि समेत संचालन गरिरहेको छ तर पोखरा क्षेत्रबाट आएर बसेकाहरुको अझै सम्म कुनै संस्था नभएको कारण पनि पोखराबाट मेलबर्न, भिक्टोरिया पुग्नेहरुले संस्था बनाएर संगठित हुने सोचाई बनाएका हुन।

पोखराबाट केहि वर्ष अगाडी अष्ट्रेलिया आएर बसेका र हाल एनआरएन अन्तराष्ट्रिय समन्वय समितिका सदस्य समेत रहेका मदनराज पौडेलले भेटघाटको क्रममा भने  ‘संस्था भयो भने त्यहि प्लेटफर्मबाट पोखरा क्षेत्रबाट विभिन्न प्रयोजनमा भ्रमणमा आउनेहरुसंग भेटघाट र अन्तरक्रिया गर्न अनि पोखरा क्षेत्रको समस्या बुझ्न पनि सजिलो हुन्छ, त्यसको आधारमा यहाँ रहेका पोखरेली, नेपालीहरुबाट पोखरा क्षेत्रमा आबश्यकता अनुसारको केहि सहयोग समेत गर्न सकिन्छ।’

नेपाली काँग्रेसको सूचना संचार तथा प्रचार बिभागको सदस्य समेत रहेका पराजुलीले  पोखरा लगायत त्यस क्षेत्रका स्थानीय एबम प्रदेश सरकार र यहाँको पनि विभिन्न तहको सरकारबीच समन्वय गरि आपसी सम्बन्ध कायम गर्ने, सहयोगको आदानप्रदान गर्ने लगायतका कामको लागि समन्वय कायम गर्न सकिने भएकोले त्यसतर्फ समेत सक्रिय रहन पोखरेलीहरुलाई आग्रह गरे।

संस्था स्थापना गर्दा सबै बिचार र सबै जातजाति सहित विभिन्न पेशा र ब्यबसाय गर्नेहरुको साथै अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई पनि समाबेश गर्न सके सबै क्षेत्रमा काम गर्न र समन्वय गर्न सहज हुने पराजुलीले सुझाब दिए।

पोखरामा पनि विभिन्न संघसंस्थामा रहेर काम गरेका सुमन गुरुङले पोखरा मेलबर्न समाज वा पोखरा युथ मेलबर्न सोसाइटी नाममा संस्था स्थापना गर्न आबश्यक समन्वयको पहल भैरहेको समेत जानकारी दिए।’ पोखराबाट आएर यहाँ स्थापित भएका कुनै अग्रजको नेतृत्वमा संस्था स्थापना गर्ने सोचाइमा हामी युवाहरु रहेका छौं।’ उनले भने ।

पोखरेलीहरुको संस्था बनाउन पोखराबाट आएका युवाहरु सुमन गुरुङ र मदनराज पौडेल सहित सुरज अधिकारी, बिबेक थापा, बिश्वास गुरुङ, नबिन गुरुङ, बिशाल गुरुङ, मनोज श्रेष्ठ,  हेम गुरुङ, मिलन गुरुङ, बीरेन्द्र क्षेत्री, निशान गुरुङ, किशोर गुरुङ,  सुगम पराजुली, अजय गुरुङ,अमृत गायक लगायतका युवाहरुले आबश्यक समन्वय र पहल गरिरहेको बुझिएको छ।

यसैबीच भिक्टोरिया राज्य अन्तर्गत मेलबर्नको मेल्टोन सिटि काउन्सिलमा केहि दिनभित्रै हुने निर्बाचनमा नेपाली मुलका कुबिर खनाललाई पोखरेली युवाहरुको समुहले शुभकामना प्रकट गरेको छ। खनालले मेल्टोन सिटि काउन्सिल अन्तर्गत आफ्नो वार्डको समुदायमा पूर्वाधार निर्माण, आर्थिक समृद्धि, बाताबरण संरक्षण, समाबेशी नीति र शुशासन जस्ता एजेन्डा बोकेर चुनाबी अभियानमा लागेका छन। उनि क्यम्ब्रियन वार्डबाट मेल्टोन सिटि काउन्सिलको सदस्यको उमेद्वार रहेका छन।

नेपाली मूल र नेपाली भाषी भएको कारण नेपाली समुदायले भोग्नुपर्ने बिभिन्न समस्याको समाधान गर्न र नेपाली समुदायलाई समेत विभिन्न क्षेत्रमा सहभागी गराउने तर्फ पहल गर्न पोखरेली युवाहरुले खनाललाई सुझाब दिएका थिए।

२४ आश्विन २०८१, बिहीबार ०६:०३ मा प्रकाशित
Nabintech