Play

अस्ट्रेलियाको मेलबर्नस्थित बहुसांस्कृतिक केन्द्रमा दशैं बिशेष कार्यक्रम सम्पन्न

गुरुकुल खबर


  • गंगाधर पराजुली / मेलबर्न (अस्ट्रेलिया)

नेपालीहरुको महान पर्ब दशैंको अबसरमा देश भित्र मात्र नभएर परदेशमा पनि विभिन्न कार्यक्रमको साथ मनाउने प्रचलन बढ्दै गएको छ।  विभिन्न मुलुकमा रहेका नेपालीहरुले दशैंको आगमन संगै विभिन्न कार्यक्रम गरि शुभकामना आदान प्रदान गरि मनाउने क्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पर्ने मेलबर्नमा पनि शुभकामना आदान प्रदान सहित विभिन्न कार्यक्रम गरि मनाइएको छ।

दशैं, तिहार, छठ सहितका महत्वपुर्ण चाडबाड मनाउनेक्रममा मेलबर्नमा रहेका नेपालीहरुसंग सम्बन्धित विभिन्न संघसंस्थाको तर्फबाट संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन।

आइतबार दिउँसो मेलबर्नको दुकांस लेन, दीगर्स रेस्ट स्थित अस्ट्रेलियन नेपाली मल्टीकल्चरल सेन्टरमा आयोजित कार्यक्रममा नेपाली समुदायसंग सम्बन्धित विभिन्न संघसंस्थाको तर्फबाट शुभकामना सन्देश र श्रीमद्भागवत प्रवचन र आरती सहित अन्य बिबिध कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। जसअनुसार बिभिन्न उमेर समुहका मानिसहरुको नृत्य सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने बालबालिकाहरुले एकल वा सामुहिक रुपमा विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रम अन्तर्गत नवदुर्गा पुजा र दशैं चाडको महत्वका बारेमा अस्ट्रेलिया स्थित ब्रह्मकुमारी संस्थाको तर्फबाट प्रस्तुति दिईएको थियो भने बुद्ध धर्म र दर्शनको बारेमा भुटानबाट आएका धर्म गुरु योन्तेन जान्ग्पो र कथोक समुदायबाट  जानकारी गराईएको थियो। यसै गरि हरे कृष्ण कम्युनिटीको तर्फबाट कृष्ण सम्बन्धि भजन कृतन समेत गरिएको अस्ट्रेलियन नेपाली मल्टीकल्चरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईले गुरुकुल खबरलाई जानकारी दिए।

नेपालमा हालै गएको बाढी र पहिरोमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्दान्जली समेत अर्पण गरिएको उक्त कार्यक्रममा अस्ट्रेलियन नेपाली मल्टीकल्चरल सेन्टरका अध्यक्ष भट्टराईले कार्यक्रममा उपस्थित सबैलाई स्वागत सहित बिजया दशमीको शुभकामना प्रकट गरेका थिए ।

कार्यक्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यको सरकारका प्रतिनिधिहरुसहित विभिन्न तहका जनप्रतिनिधिहरु र नेपाली समुदायसंग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो कार्यक्रममा भिक्टोरिया राज्यका लागि नेपाली बाणिज्यदुत निराजन गौली लगायतले शुभकामना प्रकट गरेका थिए।

सेन्टर स्थापना भएको दशक बित्यो तर अभिलेख छैन  

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नमा नेपाली समुदायलाई एकीकृत गराउने उद्धेश्का साथ एक संस्थाको आवश्यकता महशुस गरि एक दशक अगाडी अस्ट्रेलियन नेपाली मल्टीकल्चरल सेन्टरको स्थापना गरिएको थियो। नेपालीहरुले गर्ने विभिन्न पुजाआजा गर्न, विभिन्न धार्मिक र सांस्कृतिक रितिरिवाजलाई निरन्तरता दिन तथा नेपाली समुदायलाई हिन्दु धर्म र बुद्ध धर्म एबम नेपाली संस्कृति र परम्पराको माध्यमबाट एकै ठाउँमा उभ्याउने उद्देश्यले स्थापित उक्त संस्थामा ५५ जना संस्थापक सदस्य र १ हजार ५ सय जना आजिबन सदस्य रहेको छन।

संस्थाले आफ्नो लक्ष पुरा गर्न अर्थ संकलन गर्ने लक्षका साथ सन् २०१७ मा महायज्ञ संचालन गरेको र २०१९ मा जग्गा खरिद गरि पशुपतिनाथको मन्दिर र बुद्दको मन्दिर बनाउने योजना अगाडी सारेको छ। नेपाली धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने साथै नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने लक्ष सहित करिब १ सय रोपनी क्षेत्रफल जग्गा खरिद गरेर पशुपति र बुद्ध मन्दिर बनाउने अभियान शुरु गरिएको अस्ट्रलियामा यो पहिलो हो । सेन्टरमा नवदुर्गा सहित बिभिन्न देबी देवताको दर्शन गर्नेहरुको संख्या पनि उल्लेखनीय रहेको थियो ।

मेलबर्नमा अस्ट्रेलियन नेपाली मल्टीकल्चरल सेन्टर स्थापन भएपछि क्विन्सल्याण्ड र साउथर्न अस्ट्रेलियामा पनि यस किसिमको अभियान शुरु भएको बुझिएको छ। सेन्टर स्थापना भएको दशक बितेको भएपनि र सेन्टरप्रति मेलबर्न क्षेत्रमा बस्ने नेपाली समुदायको आकर्षण बढ्दै गएको भएपनि सेन्टरले आफ्नो इतिहासलाई सुरक्षित गरि आम नेपाली समुदायलाई जानकारी गराउन नसकेको कतिपयको भनाई छ।

“म पनि यो सेन्टरको संस्थापक सदस्य रहेर अनि कार्यसमितिमा रहेर समेत काम गरें, धेरै नेपाली साथीहरुले विभिन्न कालखण्डमा संस्थामा रहेर काम गरेकै कारण आज संस्थाको महत्व बढेको छ। तर संस्थाका वर्तमान कार्यसमितिका साथीहरुले स्थापनाकाल देखिका विभिन्न समिति र अन्य इतिहासको बारेमा कुनै अभिलेख आँफुहरुसंग वा संस्थासंग छैन भन्दा निकै दुख लागेको छ।” सेन्टरका संस्थापक सदस्य बताउने राम रानाभाटले गुरुकुल खबरसंग गुनासो गरे।

भिक्टोरिया राज्यमा मात्र सवा लाख नेपाली 

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न लगायत का ठाउँमा करिब १ लाख २५ हजार नेपाली रहेको अनुमान छ। एनआरएन भिक्टोरियाका पूर्व अध्यक्ष एबम एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष केशब कंडेलका अनुसार मेलबर्न क्षेत्रमा मात्र नेपाली मुलका करिब २५ हजारले अस्ट्रेलियाको नागरिकता प्राप्त गरिसकेका छन ।

अस्ट्रेलियामा आएका नेपालीहरुमध्ये बिद्यार्थी, ब्यबसायी र सरकारी एबम निजि क्षेत्रमा जागिर गर्नेहरुको संख्या नै पर्याप्त रहेको बताउंदै कंडेलले भने “शुरुवातका दिनमा यहाँको भाषा, संस्कृति, सिस्टम बुझ्न गार्हो हुने भएपनि समय बित्दै गएपछि अधिकांश नेपालीहरुले आफ्नो जिबनशैलीलाई सहज बनाउन सकेको छन।”

बिगतको तुलनामा नेपालीहरुले आकर्षक रोजगारी समेत पाउने गरेको बताउंदै कंडेलले निजि एबम सरकारी स्तरमा डाक्टर, नर्स, इन्जिनियर लगायतका विभिन्न पेशा र ब्यबसायमा संलग्न नेपाली सहित निर्माण सम्बन्धि , रियल स्टेट, रेस्टुरेन्ट लगायतका विभिन्न ब्यबसायमा समेत नेपालीहरुको संलग्नता बढ्दै गएको स्पष्ट पारे ।

२० आश्विन २०८१, आईतवार १९:४२ मा प्रकाशित
Nabintech