पोखरा, भारतमा उत्पादन भएर नेपालमा समेत बिक्रि वितरण हुँदै आएका ५३ प्रकारका औषधी गुणस्तर चेकजाँचमा फेल भएको पाइएको छ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण आदि स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ ।
सीडीएससीओले जारी गरेको रिपोर्ट अनुसार पारासिटामोल, पान–डी, क्याल्सियम सप्लिमेन्टसहित ५३ वटा औषधि गुणस्तर चेकजाँचमा असफल भएको जनाएको छ । यी औषधिमा भिटामिन सी र डी ३ ट्याबलेट, शेलकल, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी सफ्टजेल, मधुमेहको औषधि ग्लिमेपिराइड, उच्च रक्तचापको औषधि टेल्मिसर्टन लगायत छन् ।
यी औषधि हेटेरो ड्रग्स, अल्केम लेबोरेटरिज, हिन्दुस्तान एन्टीबायोटिक्स लिमिटेड, कर्नाटक एन्टीबायोटिक्स एन्ड फर्मास्युटिकल्स, प्योर एन्ड क्योर हेल्थकेयर र मेग लाक्ष्फसाइन्सेज लगायतका कम्पनीबाट उत्पादित हुन् ।
गुणस्तर चेकजाँचमा ५३ औषधि फेल भएको जनाइएको छ । तीमध्ये ४८ औषधि निर्धारित मानक अनुरुप नभएको पाइएको छ भने बाँकी ५ औषधि नक्कली रहेको दाबीपछि सूचीबाट हटाइएको छ ।