Play

कांग्रेस महानगर सभापतिहरुको बैठक पोखरामा, सभापतिलाई नै मेयरको उमेद्वार बनाउन माग

महानगरको सभापतिलाई कांग्रेसको महाधिबेशन प्रतिनिधि सुनिश्चित गरिनुपर्नेमा बैठकको जोड


गुरुकुल खबर


पोखरा, देशका विभिन्न ६ वटा महानगरका नेपाली काँग्रेसका सभापतिहरुको पोखरामा सम्पन्न बैठकले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने कुरामा जोड दिंदै कांग्रेसको महानगर कार्यसमितिको सभापतिलाई पार्टीको पदेन महाधिबेशन प्रतिनिधि रहने ब्यबस्था गर्नुपर्ने माग गरेको छ।

बैठकपछि सार्बजनिक गरिएको बिज्ञप्तीमा भनिएको छ। “यो वा त्यो बहानामा महानगरको सभापतिलाई महाधिबेशन प्रतिनिधि हुन बाट नरोक्न र स्थानीय तहको निर्बाचनमा महानगरको प्रमुख पदको उमेद्वार नेपाली काँग्रेसको सम्बन्धित महानगरको सभापतिलाई सुनिस्चित गर्न पनि जोडदार माग गर्दछौं।”

बैठकले स्थानीय तह अन्तर्गत वडा, गाउँ, नगर र उपमहानगरपालिकाका सभापतिहरु पनि संगठन निर्माणको क्रममा तल्लो तहमा खटिने र जनताका पिर मर्कासंग जोडिने भएपनि उनीहरुले समेत आँफुहरुमा कुनै अधिकार नरहेको भन्दै निराशा ब्यक्त गर्ने गरेको कारण बैठकले उनीहरुलाई निरुत्साहित बन्न नदिने तर्फ पार्टीका नेताहरु गम्भीर र जिम्मेवार बन्न आग्रह गरेको छ। यसका साथै स्थानीय तह अन्तर्गतको वडा, गाउँ, नगर, उपमहनगर र महानगर समितिलाई सम्बन्धित सम्बन्धित तहको निर्बाचनमा उमेद्वार छान्न पाउने अधिकार सुनिस्चित गर्न पनि बैठकले माग गरेको छ।

यस अगाडी महानगरका सभापतिहरुको पहिलो बैठक नेपाली काँग्रेस काठमाडौँ महानगरसमितिको आतिथ्यतामा सम्पन्न भएकोमा यस पटकको दोश्रो बैठक नेपाली काँग्रेस पोखरा महानगर समितिको आतिथ्यतामा बिहिबार सम्पन्न भएको थियो।

बैठकमा सहभागी नेपाली काँग्रेस पोखरा महानगर समितिका सचिब गणेश बहादुर थापाले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार नेका पोखरा महानगरका सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

बैठकपछि महानगर सभापतिहरुको टोलिले नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर बैठकले गरेका निर्णय कार्यन्वयनको लागि केन्द्रीय समितिमा पहल गरिदिन समेत आग्रह गरेका थिए ।

केन्द्रीय सदस्य एबम मुख्य मन्त्री पाण्डे समक्ष उनीहरुले यस अगाडी भएको पहिलो बैठकका निर्णयको कार्यन्वयनमा समेत सहयोग गरिदिन आग्रह गरेको पोखराका सभापति सुरेन्द्र बिजुक्छेले गुरुकुल खबरलाई जानकारी दिए।

यस अगाडिको बैठकले स्थानीय तहका पदाधिकारी एबम सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्दा पार्टीले विभेद र अन्याय  गरेकोले त्यसमा संसोधन गरिनुपर्ने, पार्टीको केन्द्रीय महाधिबेशन वा महासमिति बैठकमा स्थानीय तहबाट प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, स्थानीय तह अन्तर्गत वडाको निर्बाचनमा उमेद्वार छनोट गर्ने अधिकार सम्बन्धित तहलाई दिईनुपर्ने र पार्टीको विधानमा संसोधन गराएर समयानुकुल बिभिन्न अधिकार सहित काम कर्तब्य समेत स्पष्ट गरिनुपर्ने जस्ता निर्णय गरेको थियो।

बैठकमा नेपाली काँग्रेसका काठमाडौँ महानगर सभापति नीलकाजी शाक्य र सचिब पुरुषोत्तम खकुरेल, ललितपुरका सभापति शुभाननरत्न धाख्वा र कोषाध्यक्ष प्रबिण ताम्राकारको साथै पार्टीको ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, भरतपुर महानगरका सभापति चित्रसेन अधिकारी र उपसभापति बिजय घले, बिराटनगरका सभापति दिपक दिपक चापागाईं र सचिब तेजेन्द्र भट्टराई, बिरगंजका सभापति मनिन्द्र नेपाली र सचिब शिबचन्द्र यादब सहभागी थिए भने पोखरा महानगरको तर्फबाट सभापति बिजुक्छे सहित उपसभापति प्रयागराज भण्डारी र भवासागर बराल, सचिब गणेश थापा सहित महानगरको कार्यसम्पादन समितिका केहि सदस्यहरुको सहभागिता रहेको समेत सचिब थापाले जानकारी दिए।

महानगर समितिको बैठकको लागि सबैजसो महानगरका सभापतिहरु सहितको टोलि बुधबार नै पोखरा आएको थियो उक्त टोलीलाई पोखराको फेवाताल, सरांगकोट, पोखराको पुरानो बजार, बिन्ध्यबासिनी मन्दिर तालबाराही मन्दिर लगायतका स्थलको दृष्याबलोकन समेत गराइएको थियो।

महानगर सभापतिहरुको अर्को बैठक बिराटनगर महानगर समितिको आतिथ्यतामा गरिने भएको छ।

२९ भाद्र २०८१, शनिबार १९:०७ मा प्रकाशित
Nabintech