Play

एमालेबाट गण्डकीमा मन्त्री बन्नेको नाम टुंगियो, शपथ दिउँसो १ बजे हुने

गुरुकुल खबर


पोखरा,  नेकपा एमालेले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । संसदीय दलका नेता खगराज अधिकारीले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार भेटेपछि मन्त्री बन्ने सांसदको नाम टुंगो लागेको हो ।

एमाले स्रोतका अनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी र  बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने पक्कापक्की छ । एमाले प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले भने शपथको समयमै मन्त्रीको नाम थाहा हुने बताए । सम्भावित मन्त्रीलाई शपथका लागि तयार रहन भनेर खबर गरिसकिएको छ । एक जना मन्त्रीका स्वकीयले पुष्टि गरे, ‘आजै शपथ गर्ने कुरा छ । १ बजे भन्ने आएको छ ।’

प्रदेश प्रमुखको निवासमा आज एक बजे नवनियुक्त मन्त्रीलाई शपथ गराउने तयारी छ ।

योपटक मन्त्री बन्नेको नाम टुंगो लागेसँगै यसअघि एमाले दल नेता खगराज अधिकारीले गर्दै आएको गुटगत गतिविधि धेरै हदसम्म नियन्त्रणको अवस्थामा पुगेको छ । यसअघि आफ्नै गुटका सांसदलाई दुईपटकसम्म मन्त्री बनाएको भनेर दलभित्रै आलोचित अधिकारीले योपटक अध्यक्ष ओलीले टुंगो लगाएका नाम लिएर पोखरा आएका छन् । मित्रलाल उपमहासचिव पृथ्वीसुब्बा गुरूङ पक्षका सांसद हुन् ।

कास्कीका भीम कार्की पृथ्वीसुब्बा समूहबाट मन्त्री बन्ने चर्चा थियो । तर, दल नेता अधिकारीले कास्कीबाट आफ्नो टिमका प्रकाशबाहेक अरूलाई मन्त्री बनाउन चाहेका थिएनन् । त्यसैले अध्यक्ष ओलीले फरक समूहको पनि प्रतिनिधित्व हुने गरेर पर्वतका पुराना नेता बस्याललाई मन्त्री बनाउने निधो गरेका हुन् ।

मन्त्री बन्न लागेका चार जनामध्ये पद्मा जिसी श्रेष्ठ यसअघि खगराज अधिकारी दोस्रोपटक मुख्यमन्त्री बन्दा मन्त्री बन्ने सूचीमा थिइन् । तर, त्यतिबेला अधिकारीले पुरानै दुई मन्त्री दोहोर्‍याउँदा उनको नाम काटिएको थियो । २०४८ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा लागेर राजनीति सुरू गरेकी पद्मा संसदका सक्रिय महिला सांसदमध्ये एक हुन्। उनी नवलपुर २ (१)बाट निर्वाचित हुन् ।

अर्का सांसद मित्रलाल पर्वत प्रदेश सभा ‘ख’बाट निर्वाचित हुन् । हालको प्रदेश सभाका ज्येष्ठ सदस्य उनी धौलागिरी क्षेत्रका एमालेका पुराना नेता हुन् ।

अर्का सांसद कृष्णप्रसाद पाठक अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलनिकट हुन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् । बागलुङ अमलाचौरमा जन्मिएका पाठकले २०३१ सालमा नेकपा (मसाल) निकट विद्यार्थी संगठनमा लागेर राजनीति थालेका थिए । २०४१ सालमा मसाल छोडेका उनी त्यसपछि माले हुँदै एमालेको राजनीतिमा निरन्तर सक्रिय छन् ।

अर्का सांसद प्रकाशबहादुर केसी पनि ४ दशकदेखि राजनीतिमा सक्रिय छन् । केसी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिका १२ को वडाध्यक्ष भएका केसी राप्रपाबाट एमाले प्रवेश गरी खगराजकै जोडबलमा समानुपातिक सांसद बनेका हुन् । केसी यसअघि राप्रपा कोटाबाटै खाद्य संस्थानको महाप्रबन्धक समेत भएका थिए । केसीलाई मन्त्री बनाउने भएसँगै नेता खगराजमाथि एमाले सांसदबाटै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।। २०७४ सालदेखि भने प्रकाश एमालेको राजनीतिमा सक्रिय छन् । उनी नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पूर्व सचिवालय सदस्य हुन् ।

गण्डकीमा आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या ७ बाट ९ पुर्‍याएको छ । सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राइएको छ । मन्त्रालयबारे भने नवनियुक्त हुन लागेका मन्त्रीलाई केही जानकारी दिइएको छैन । शपथअघि मुख्यमन्त्री र एमाले दलको नेता बैठक बसेर मन्त्रालय टुंग्याउने र शपथकै समयमा सुनाउने तयारी छ ।

गण्डकी प्रदेशमा हाल मुख्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । भागबण्डा गर्दा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय पाएका थिए । कांग्रेसले आफ्नो भागबाट नेसपाका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङलाई मन्त्री बनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दुवैलाई नहटाउने अडान लिएपछि नयाँ गठबन्धनमा पनि उनीहरू यथावत रहेका हुन् ।

काँग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अर्थमन्त्री डा. टकराज गुरुङ, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा गरि ३ जना मात्र मन्त्री छन् ।

तर कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार एमालेलाई भौतिक पूर्वाधार, कृषि तथा भूमि व्यवस्था, स्वास्थ्य र वन तथा वातावर मन्त्रालय दिने तयारी छ । भौतिक मन्त्री मनाङेलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री थापा अब सामाजिक विकास मन्त्री मात्रै बन्नेछन् भने उर्जा मन्त्री देवकोटा र अर्थमन्त्री गुरुङलाई यथावत राख्ने बताइएको छ ।

एमालेले पद्या जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा सामेल हुने तयारी गरेको बुझिएको छ । उनी मन्त्री बन्ने पक्का जस्तै छ । तर नेतृत्व कसले लिने भन्ने अझै निक्र्यौल भएको छैन ।

१७ भाद्र २०८१, सोमबार १०:२६ मा प्रकाशित
Nabintech