पोखरा, केन्द्रमा नेकपा एमाले र नेपाली काँग्रेसबीच सत्ता सहकार्य भएको लामो समय भएपनि गण्डकी प्रदेशमा भने यसै साताबाट मात्र काँग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी बन्ने भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेलाइ सरकारमा सहभागी गराउनको लागि हाल कायम सात वटा मन्त्रालयलाई फुटाएर नौ वटा मन्त्रालय बनाउने निर्णय भएको आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिए ।
मुख्यमन्त्री पाण्डेका अनुसार वन वातावरण तथा उद्योग पर्यटन मन्त्रालयलाई फुटाएर वन वातावरण मन्त्रालय र उद्योग पर्यटन मन्त्रालय बनाइने भएको छ भने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय बनाउने निर्णय भएको छ।
“वन, वातावरण तथा उद्योय, पर्यटन मन्त्रालयको लागि मन्त्री एकजना भएपनि वन वातावरण मन्त्रालय र उद्योग पर्यटन मन्त्रालयको संगठनात्मक संरचना छुट्टाछुट्टै रहेको थियो। दुई वटा कार्यालय, दुई जना सचिब लगायत सबै कुरा अलग अलग थियो तर अब एक जना मन्त्री र मन्त्रीको सचिबालयमा काम गर्ने कर्मचारी बाहेक अरु कुनै ब्ययभार पर्दैन” मुख्यमन्त्री पाण्डेले भने। पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री पाण्डे आफ्नो मन्त्रीमण्डलका सदस्यहरु सहित उपस्थित भएका थिए ।
“त्यसैगरि सामजिक बिकास तथा स्वास्थ्य मन्त्रालय हाल एउटा मन्त्रालय रहेको भएपनि यो मन्त्रालयको पनि मन्त्रालयको सचिब सहितको जनशक्ति र संरचना समेत अलग अलग रहेको छ।, त्यसैले यी दुईवटा मन्त्रालयलाई फुटाएर चारवटा मन्त्रालय बनाइने भएको हो” मुख्यमन्त्री पाण्डेले पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा भने।
गण्डकी प्रदेशमा हाल रहेका सातवटा मन्त्रालय फुटाएर नौ वटा बनाउने भएपछि प्रदेश सरकारमा एमालेबाट चारजना मन्त्री छिट्टै सहभागी हुने पाण्डेले जानकारी दिए। कांग्रेस र एमालेबीच भएको केन्द्रीय गठबन्धन अनुसार प्रदेशमा पनि गठबन्धन कायम गरेर अघि बढ्ने सहमति भएको पनि उनले जानकारी दिए।
गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजिव गुरूङ (दीपक मनाङे) लाई मन्त्रीबाट हटाएर कांग्रेस एमालेको मात्र सरकार बनाउनुपर्ने भन्ने पक्षमा एमाले रहेको थियो । तर मुख्यमन्त्री पाण्डेले आफुलाई बिश्वासको मत दिएर संकटमा साथ दिएका दुई जनालाई सरकारबाट नहटाउने अडान राखेपछि प्रदेश सरकारमा एमाले आउन ढिलाई भएको हो। लामो समयको बार्ता र सम्बादपछि एमाले र काँग्रेसको बिचमा नौ मन्त्रालय कायम गर्ने सहमति भएको र अब १/२ दिन भित्रमा नै एमाले सरकारमा सहभागी बन्ने भएको हो ।
अब गण्डकी प्रदेशका नौ वटा मन्त्रालयमध्ये मुख्यमन्त्री सहित पांचवटा मन्त्रालय कांग्रेसको भागमा र चारवटा मन्त्रालय एमालेको भागमा पर्ने भएको छ तर कांग्रेसको भागमा पर्ने पांचवटा मन्त्रालय मध्ये दुईवटा मन्त्रालय राजिब गुरुङ र फणीन्द्र देवकोटालाई दिएपछि काँग्रेसको भागमा तिनवटा मन्त्रालय मात्र पर्ने भएको छ।
काँग्रेसको तर्फबाट मुख्यमन्त्री पाण्डे सहित स्वास्थ्य तथा सामाजिक मन्त्रीमा बिन्दुकुमार थापा र आर्थिक मामिला मन्त्रीमा डा. टकराज गुरुङ कायम छन तर एमाले सरकारमा आउँदा कसलाई कुन कुन मन्त्रालय दिने भन्ने अझै स्पष्ट भएको छैन। ‘एमालेले पाउने चार वटा मन्त्रालय निर्क्यौल भइसकेको छैन। एमाले संसदीय दलका नेतासँग छलफल गरेर निर्णय हुन्छ,’ मुख्यमन्त्री पाण्डेले भने , ‘कांग्रेसले ५ मन्त्रालय र एमालेले ४ मन्त्रालय लिने सहमति बनेको छ।’