Play

दुर्घटनाग्रस्त भारतीय बस नदिबाट निकालियो, मृतकमध्ये २५ जनाको शव जहाजबाट भारत पठाइयो

भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु र १६ जना घाइते,


गुरुकुल खबर


पोखरा, तनहुँको आबुखैरेनी गाउँपालिका-४ स्थित ऐना पहराबाट मर्स्याङ्गदी नदीमा खसेको भारतीय यात्रुबाहक बसलाई क्रेनको सहायताले नदीबाट १० मिटर बाहिर ल्याइएको छ। शनिबार सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण  भानु तनहुँ र विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गएको ५२ जनाको सुरक्षा फौजले बसलाई पानी बाहिर निकालेको डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

‘बस निकाल्नको लागि दमौलीबाट प्राइभेट क्रेन प्रयोग गरिएको थियो। पानीबाट बाहिर निकाले पनि अप्ठ्यारो जमिनका कारण सडकसम्म निकाल्न सकिएको छैन,’ उनले भने, ‘भोलि आइतबार पनि बस निकाल्ने कार्य जारी रहनेछ।’ शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय यात्रुबाहक बस दुर्घटना हुँदा २७ जनाको मृत्यु र १६ जना घाइते भएका थिए।

भारतीय एयर फोर्सको जहाजले चितवनबाट शव लिएर स्वदेश फर्किएको छ। घाइतेहरूको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको उनले बताए।  यसैबीच  बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ। भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय वायुसेनाको जहाजमार्फत आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो।

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनकाअनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ। मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से भरतपुर पुगेका थिए।

मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याई भरतपुर अस्पतालमा पोस्टमर्टम गरिएको थियो। शुक्रबार बिहान पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो। दुर्घटनामा २७ जनाको मृत्यु भएको छ। मृतकमध्ये १५ महिला, ११ पुरुष  र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।

घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ। मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिए। पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

यसैबीच एयरफोर्समा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि रहेकी छन् ।  दुर्घटनामा निधन भएका चालक र सहचालकको शव भने स्थलमार्ग हुँदै गोरखपुर लगिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।  राज्यमन्त्री खड्से दुर्घटनामा परेका घाइतेको अवस्था बुझ्न र शव लिन शनिबारै काठमाडौँ आएकी थिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यमन्त्री खड्सेलाई काठमाडौँ पठाएका थिए ।

शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहराबाट ४३ जना तिर्थयात्री सवार भारतीय युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्गदी नदीमा खसेको थियो । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १६ जना घाइते भएका थिए । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए ।

८ भाद्र २०८१, शनिबार २३:२६ मा प्रकाशित
Nabintech