Play

रेन्टरटेनमेन्टको छैटौं संस्करण शुक्रबार र शनिबार पोखरामा हुँदै

आकाशबाट बर्षा नभए कृतिम बर्षा गराएर पनि कार्यक्रम गरिने, स्वदेश र विदेशबाट पार्टी लभरहरु आउने


गुरुकुल खबर


पोखरा, पोखरामा छैटौं संस्करणको सांगीतिक कार्यक्रम तथा डान्स पार्टी ‘रेन्टरटेनमेन्ट’ आउँदो शुक्रबार हुने भएको छ । वर्षेनी झरीको मौसमको छेको पारेर व्यञ्जन रेस्टुरेन्टले गर्दै आएको उक्त मनोरन्जनात्मक कार्यक्रम लेकसाइडस्थित व्यञ्जनमा र शनिबार पामे जाने बाटोमा रहेको ‘दि बिच बार’मा हुने आयोजकले बताए ।

कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महशुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ‘ग्राहकहरुको लागि मनोरञ्जनको प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत पोखरातिर आकर्षित गर्ने विश्वास लिएको छु ।’ उनले भने ।

आयोजक एवम् व्यञ्जन रेस्टुरेन्टका सञ्चालक वैभव पौडेलले पोखरा क्षेत्र नेपालको सबै भन्दा पानी पर्ने ठाउँ भएकोले पानीसँग पोखरा र पर्यटनलाई जोडेर यस्तो कार्यक्रम गर्न लागेको कुरा सुनाए । ‘जुन, जुलाई निकै पानी पर्ने समय हो। यति नै बेला यहाँको पर्यटन निकै सुस्त हुन्छ। यही कुरालाई मध्यनजर गरेर पर्यटन प्रवर्द्धन होस् भनेर कार्यक्रम गर्न लागेका हौँ ‘ उनले भने, ‘ त्यो दिनमा आकाशबाट पानी नपरेपनि कृत्रिम बर्षा गराएर कार्यक्रम गर्नेछौं।

रेन्टरटेनमेन्ट आफैँमा एउटा ब्रान्डको रूपमा स्थापित भइसकेको कुरा बाराही ग्रुपका कर्पोरेट म्यानेजर राज कुमार केसीले सुनाए । उनले झरीमा मोडलहरुलाई र्याम्पमा उतारिने बताए । ‘समर थिममा हामीले मोडलहरुलाई र्याम्पमा उतार्ने तयारी गरेका छौैँ ।  यसले अझै कार्यक्रमको ग्ल्यामर बढाउने हामीले ठानेका छौँ ।’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहनेछ । झरीमा रुझ्दै नाचगान अनि खानपिन गर्ने थिमको यो कार्यक्रमलाई यसअगाडि निकै रुचाईएको थियो । यो कार्यक्रमकै लागि पोखरासँगै काठमाण्डौ, चितवन, बुटवल, धरान, दमौली, भारत, थाइल्याण्ड लगाएतका देशबाट समेत  ‘पार्टी लभर’हरु पोखरा आउने गरेका छन् ।

व्यञ्जन र दि बिच बारको संयुक्त आयोजना रहेको यस कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको जिम्मा जक्सन डट कमले लिएको छ l

५ भाद्र २०८१, बुधबार २३:०८ मा प्रकाशित
Nabintech