Play

पोउबासंघको निर्बाचन: कार्की प्यानलबाट छुट्टीएका अधिकांश उमेद्वार पोखरेलको प्यानलमा

पोखरेलको प्यानल शनिबार घोषणा हुँदै, अधिकांश पूर्व अध्यक्षहरुको साथ रहने सम्भावना


गुरुकुल खबर


पोखरा, पोखरा उद्योग बाणिज्य संघको आसन्न अधिबेशनबाट संघको नेतृत्व लिनको लागि गोकर्ण कार्की र अर्जुन पोखरेलले अध्यक्षमा उमेद्वारी दिने चर्चा चलिरहेको भएपनि औपचारिक रुपमा उमेद्वारी घोषणा गर्न ढिलो हुँदै गएपछि सम्भावित उमेदवारहरुले प्यानल परिबर्तन गर्न थालेका छन।

अधिबेशनको मिति तोक्ने बेला सम्म संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलाई प्यानल बनाउन सहज देखिएको थियो तर समय बित्दै जाँदा कार्कीको सट्टा पोखरेललाई प्यानल बनाउन सहज बनेको छ। कार्की नेतृत्वको प्यानलबाट कार्य समितिको विभिन्न पदमा उमेदवार बन्न चाहेकाहरु एक पछि अर्को गर्दै पोखरेलको प्यानलमा समाहित हुन थालेपछि अब कार्कीलाई आफ्नो टिम बनाउन भने असहज भएको छ ।

हालका बरिष्ठ उपाध्यक्ष कार्की स्वाभाविक अध्यक्षका उमेद्वार हुन। उनले आफ्नो प्यानलमा बस्ने भनि टुंगो गरेका केहि साथीहरुले धोका दिएको कारण तत्काल प्यानल घोषणा गर्न कठिनाइ जस्तो देखिएपनि केहि नयाँ र केहि पुराना साथीहरु मिलाएर टिम बनाउने प्रयास भैरहेको गुरुकुल खबरलाई जानकारी दिए ।

गत अधिबेशनमा अध्यक्षका उमेद्वार पोखरेलले कार्कीको प्यानल घोषणा भएपछि मात्र आफ्नो प्यानल घोषणा हुने बताउंदै आएका थिए। कार्कीको प्यानलमा नपरेका र अन्य उद्योगी ब्यबसायीलाइ मिलाएर प्यानल बनाउने पोखरेलको योजना थियो । तर अहिले कार्कीको भन्दा पहिले नै पोखरेलको प्यानल घोषणा हुने तयारी भएको छ संभवत शनिबार (आज) नै पोखरेलले आफ्नो प्यानलमा रहेर उमेद्वार बन्ने पदाधिकारी र सदस्यहरुको नाम समेत घोषणा गर्ने छन।

शुरुवातका दिनमा कार्की अध्यक्ष रहने प्यानलको बरिष्ठ उपाध्यक्षमा बलराम आचार्य, दुई उपाध्यक्षमा देबेन्द्र केसी र उत्तममान बुद्दाचार्य, महासचिबमा दिनेश बाँस्तोला, उप महासचिबमा सुदिप प्रधानाङ्ग र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई राख्ने भनेर तयारी गरिएको थियो। तर उत्तममान बुद्दाचार्यले आफुलाई बरिष्ठ उपाध्यक्ष नै चाहिने अडान राखेपछि कार्कीको प्यानल घोषणामा ढिलाई भएको थियो।

कार्कीको प्यानल निर्बिबाद रुपमा बनाउनसक्ने अबस्था नदेखिएपछि पोखरेलले कार्कीको टिममा रहेकाहरुलाई आफ्नो प्यानलमा आउन विभिन्न किसिमबाट प्रभाब पार्दै गए । उनले  कार्कीको प्यानलमा अटाउन नसकेका उत्तममान बुद्दाचार्य र  शोभा गौतमलाई उनीहरुले रोजेको पद बरिष्ठ उपाध्यक्ष र महासचिब दिन तयार भए त्यसपछि पनि कार्की नेतृत्वको प्यानल तत्काल घोषणा हुन सकेको भए उमेद्वारहरु सोहि टिममा रहने अबस्था थियो। तर दिन बित्दै जाँदा कार्की प्यानलमा परेका भनिएकाहरु समेत द्विविधामा पर्दै गए सोहि कारणले अघिल्लो पटक पोखरेलको प्यानलबाट उपाध्यक्ष जितेका देबेन्द्र केसीले यसपटक कार्कीको प्यानलमा निर्बाध रुपमा उपाध्यक्ष बन्ने अवसर पाएको भएपनि उनि पोखरा उद्योग बाणिज्य संघको आगामी अधिबेशनमा कुनै पनि पदमा चुनाब नलड्ने घोषणा गरे उनलाई पोखरेलले आफ्नो प्यानलमा रहेर अघिल्लो पटक चुनाब जितेकोले यसपटक पनि आफ्नो प्यानलमा आउन दबाब दिएका थिए।

बुद्दाचार्यको असन्तुष्टि र केसीको बहिर्गमनका कारण कार्की टिममा ठुलो धक्का लाग्यो तैपनि उनीहरुले आफ्नो टिम बनाउन कसरत गरिरहेका थिए। तर कार्की टिममा आफुलाई बरिष्ठ उपाध्यक्ष नै चाहिने भनेर दाबी गरेपछि बुद्दाचार्यलाई पाखा लगाएर बरिष्ठ उपाध्यक्षको उमेद्वार उनै आचार्यलाई बनाउने सहमति भएको थियो। तर २/३ दिन अगाडी मात्र बलराम आचार्यले एकाएक समीकरण बदलेर कार्की प्यानलमा पाएको बरिष्ठ उपाध्यक्ष छोडेर पोखरेलको प्यानलमा दुई मध्ये एक  उपाध्यक्ष (बाणिज्य) मै बस्न तयार भएपछि कार्कीको टिम भताभुङ्ग बन्नपुगेको छ।

अब कार्कीको टिममा रहेका भनिएका आचार्य, बाँस्तोला, श्रेष्ठ लगायतका उमेद्वार पोखरेलको टिममा रहने भएका छन। संभवत शनिबार घोषणा हुने पोखरेलको प्यानलको बरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्दाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बाँस्तोला, बाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिबमा शोभा गौतम, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र उपमहासचिबमा बालकृष्ण कोइराला पदाधिकारीमा रहनेछन भने सदस्यका पदमा ललित कुँवर, भिम गौतम, दिलिप कुमार श्रेष्ठ, जिबन प्रकाश श्रेष्ठ, छबि सुबेदी, र आशिष गुरुङ ( दुधमान ) लगायतका उमेद्वार बन्ने करिब पक्का जस्तै भएको छ।

पोखरेलको प्यानलको घोषणाको तायारी संगै कार्कीले पनि आफ्नो प्यानल बनाएर चुनाबमा जाने तयारी गरेका छन यसका लागि उनले केहि नयाँ र केहि पुराना उद्योगी ब्यबसायीको सुची तयार गरिरहेका छन। वर्तमान कार्यसमितिमा रहेका हरुबाट पनि उमेद्वार बनाउने उनको तयारी छ तर हाल सम्म उनले कसैको नाम सार्बजनिक गरेका छैनन । उनले केहि पूर्व अध्यक्ष र केहि आफुसंगै कार्यसमितिमा रहेका साथीहरुले अन्तिम अबस्थामा नसोचेको धोका दिएको कारण यो अबस्था आएको भएपनि चुनाबको नतिजामा कुनै फरक नपर्ने दाबि गरे ।

यसपटक अप्रत्याशित ढंगले कार्कीको प्यानलको पासा पल्टेर पोखरेलको प्यानल छिटो बन्नुको पछाडी केहि पूर्व अध्यक्षहरुको समेत हात रहेको बताईन्छ। कार्कीको प्यानल बनाउन पूर्व अध्यक्ष विश्वशंकर पालिखे, नारायण कोइराला, दामु अधिकारी र वर्तमान अध्यक्ष पवन प्रजापती लागेको भएपनि अन्य अधिकांश पुर्ब अध्यक्षहरु कार्कीको बिरोधमा देखिएको बताईन्छ।

यस पटकको चुनाबको कारण पोखरा उद्योग बाणिज्य संघको चुनाबमा सधैं जसो बिपरित ध्रुबमा उभिने पूर्व अध्यक्षहरु आनन्दराज मुल्मी र अशोक पालिखे समेत एकै ठाउँमा उभिने सम्भावना देखिएको छ । बिगतमा एक आपसमा अधयक्ष पदमा प्रतिष्पर्धा गरेका सन्जिब बहादुर कोइराला र बिन्दु कुमार थापा पनि एकै ठाउँमा उभिने सम्भावना देखिएको छ।  पोखरामा बिगतमा बिग हाउस भनेर मानिने लक्ष्मी हाउस र कर्माचार्य हाउस पनि यो पटक एकै ठाउँमा आउने अबस्था देखिएको छ । तर बामपन्थी पृष्ठभुमिबाट अध्यक्ष बनेका सन्जिब बहादुर कोइराला र दामु अधिकारी भने दुई ध्रुबमा विभाजित हुने सम्भावना बढेको छ ।

 

१ भाद्र २०८१, शनिबार १२:१२ मा प्रकाशित
Nabintech