Play

सडक दुर्घटनामा परि दश बर्षमा २४ हजार बढीको मृत्यु, मृत्यु हुनेमा १६ देखि ३५ वर्ष उमेरका बढी

दुर्घटनामा पर्नेमा मोटरसाइकलको संख्या धेरै, तिब्र गति नै दुर्घटनाको मुख्य कारण, शहरी सडकमा धेरै दुर्घटना


गुरुकुल खबर


काठमाडौं । बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भयो । मृत्यु हुनेमा स्कुटर चालक ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला थिए ।

दुर्घटना ट्राफिक प्रहरीको सामुन्ने भएको थियो । दुर्घटना यति भयावह थियो, मृत्यु हुने व्यक्ति पुरुष हुन् वा महिला छुट्याउन प्रहरीलाई हम्मेहम्मे पर्यो ।

सुरुमा त दुर्घटनामा एक जना महिलाको मृत्यु भएको सूचना प्रहरीले दिएको थियो । बिहीबार साँझ मात्र मृत्यु हुने व्यक्ति महिला नभई पुरुष भएको खुल्यो । दुर्घटनामा मृत्यु हुने व्यक्तिको एउटा गोडा मात्र चिनिने अवस्थामा थियो, बाँकी सबै क्षतविक्षत भएको थियो ।

यस्ता विभत्स घटना नेपालका सडकमा दैनिक हुने गर्छन् । यस्ता घटना कम हुनेभन्दा पनि बढ्ने क्रममा छन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार, नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । तीन घटनामा औसतमा सात जनाको मृत्यु हुने गरेको छ ।

अर्थात् घरबाट काममा निस्केकामध्ये ७ जना नेपाली फर्केर घर जान पाउँदैनन्, उनीहरूले बाटैमा ज्यान गुमाउँछन् । नेपालमा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

नेपाल प्रहरी तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३५ हजार ४०४ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा परी नेपालमा २ हजार ३६९ जनाको मृत्यु भएको थियो । ६ हजार १६० जना गम्भीर र २५ हजार ९९६ जना सामान्य घाइते भएका थिए । सडक दुर्घटनामा परी १०१ चौपायाको समेत मृत्यु भएको थियो ।

पछिल्ला १० वर्षको तथ्याङ्कले नेपालमा सडक दुर्घटना कति भयावह बन्दै छ भन्ने स्पष्ट देखाउँछ ।

नेपाल प्रहरी उपलब्ध गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्मको १० वर्षका अवधिमा नेपालमा सडक दुर्घटनामा परी २४ हजार ३५१ जनाको मृत्यु भएको छ । पछिल्लो ६ वर्षमा मात्र १५ हजार १६८ जनाको मृत्यु कारक सडक दुर्घटना बनेको छ ।

बितेको ६ वर्षमा प्रत्येक वर्ष औसतमा २ हजार ५२८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको देखिन्छ । उक्त अवधिमा प्रत्येक दिन औसतमा ६.९२ जनाको मृत्यु सडक दुर्घटनामा हुने गरेको तथ्याङ्कले देखाउँछ ।

प्रहरीको तथ्याङ्क अनुसार, आर्थिक वर्ष (आव) २०७१/७२ मा २ हजार ४, आव २०७२/७३ मा २ हजार ६, आव २०७३/७४ मा २ हजार ३८४, आव २०७४/७५ मा २ हजार ७८९, आव २०७५/७६ मा २ हजार ७८९, आव २०७६/७७ मा २ हजार २५१, आव २०७७/७८ मा २ हजार ५००, आव २०७८/७९ मा २ हजार ८८३, आव २०७९/८० मा २ हजार ३७६ र आव २०८०/८१ मा २ हजार ३६९ जनाको मृत्यु भएको थियो ।

पछिल्लो ६ वर्षमा सडक दुर्घटनामा परी १ लाख ५१ हजार ३८३ जना घाइते भएका छन् । तीमध्ये ३४ हजार ६२८ जना गम्भीर र १ लाख १६ हजार ७५९ जना सामान्य घाइते भएका थिए ।

हाम्रो लक्ष्य के हो ?

तत्कालीन भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयले २०६९ सालमा ‘नेपाल सडक सुरक्षा कार्ययोजना २०६९–२०७७’ ल्याएको थियो । कार्ययोजनामा सडक दुर्घटना र यसबाट हुने क्षति कम गर्न केही योजना समेटिएका थिए।

अधिकार सम्पन्न राष्ट्रिय सडक सुरक्षा परिषद् गठन गर्ने, सरोकारवाला निकायहरूलाई तालिम दिने, सबै किसिमका सडकहरूमा दुर्घटनास्थल विश्लेषण गरी दुर्घटना प्रतिरोधक संरचना स्थापना गर्ने कुरा कार्ययोजनामा थिए ।

दुर्घटना पीडितहरूका लागि दिगो आर्थिक कोषको व्यवस्था, घाइतेहरूको उपचारका लागि ट्रमा केयर सेन्टर खोल्ने लगायतका कुरा पनि कार्ययोजनामा समेटिएको थियो ।

कार्ययोजनामा सडक दुर्घटनाबाट हुने मृत्यु २०७२ पुस १६ गतेसम्म ३५ प्रतिशत र २०७७ पुस मसान्तसम्म ५० प्रतिशतले घटाउने लक्ष्य राखिएको थियो ।

सडक सुरक्षा क्रियाकलापका लागि सडक पूर्वाधार खर्चको १० प्रतिशत बजेट छुट्टाउने, सडक बोर्ड कोष उपयोग गर्ने, राजमार्गमा सुस्त गतिका सवारी प्रतिबन्ध लगाउने पनि कार्ययोजनामा समेटिएको थियो । उक्त अवधिमा ती योजना र लक्ष्य कागजमै सीमित भए ।

‘सन् २००८ को एउटा अध्ययन अनुसार नेपालमा सडक दुर्घटनाको कारणबाट अर्थतन्त्रमा वर्षेनी कम्तीमा पनि २.७ अर्ब बराबरको क्षति भएको अनुमान भएको थियो जुन देशको कुल ग्राहर्यस्थ उत्पादनको ०.४ प्रतिशत हो,’ कार्ययोजनामा भनिएको छ ।

कार्ययोजना अनुसार, २०६९ सालदेखि २०७७ सालसम्म आइपुग्दा सडक दुर्घटनाबाट हुने मृत्यु ५० प्रतिशतले घट्नुपर्ने थियो । तर उक्त अवधिमा सडक दुर्घटनाबाट हुने मृत्यु नेपालमा ३८.३८ प्रतिशतले बृद्धि भयो ।

राष्ट्रिय योजना आयोगले १५ औँ योजना (आव २०७६/७७ – २०८०/८१) मा आधुनिक, सर्वसुलभ, भरपर्दो, वातावरणमैत्री र पूर्वाधारमैत्री यातायात सेवा विकास गर्ने कल्पना गरेको थियो ।

आयोगले १५औं योजनामा आव २०७५/७६ लाई आधार वर्ष मानेको छ, जुन वर्ष नेपालमा सडक दुर्घटनामा परी २ हजार ७८९ जनाको मृत्यु भएको थियो । आयोगले आव २०८०/८१ सम्म यो संख्या घटाएर ९ सयमा झार्ने लक्ष्य लिएको थियो, तर यो वर्ष सडक दुर्घटनामा २ हजार ३६९ जनाले ज्यान गुमाए ।

यातायात व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै सडक दुर्घटना न्यूनीकरण कम गर्ने योजना आयोगको थियो । तर आयोगको योजनाले लक्ष्य भेट्याउन सकेन ।

गृह मन्त्रालयले अध्ययन गरी २०७५ सालमा सडक दुर्घटनालाई समेत समेटी ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना सन् २०१८–२०३०’ तयार पारेको थियो ।

गृहको कार्ययोजनामा बढ्दो विकास प्रक्रियासँगै नेपालमा वृद्धि हुँदै गइरहेको सहरीकरण र सडक सञ्जालको बिस्तारले सडक दुर्घटनाहरू वर्षेनी वृद्धि हुँदै गइरहेको औंल्याइएको छ ।

गृहको कार्ययोजनामा भनिएको छ, “सवारी चालकको लापर्बाही, मदिरा सेवन गरी गाडी चलाउनु, तीव्र गतिमा गाडी चलाउनु, पैदल यात्रुहरूको लापर्बाही, अव्यवस्थित पार्किङ, अव्यवस्थित सडक पार गर्ने प्रणाली, साँघुरो सडक, भिरालो सडक, खराब साइड ड्रेन, मोडहरूमा कमजोर दृश्यता आदि सडक दुर्घटनाका मुख्यकारण छन् ।’’

कार्ययोजनामा सन् २०१५ सम्म नेपालमा सडक दुर्घटनाबाट वार्षिक २ हजार जनाको मृत्यु हुने गरेको उल्लेख छ । सडक दुर्घटनामा मृत्यु हुनेको वार्षिक औसत संख्या कार्ययोजनामा सन् २०२० सम्म १ हजार ७ सय, सन् २०२५ सम्म १ हजार २ सय र सन् २०३० सम्म ७ सयमा झार्ने लक्ष्य लिइएको छ ।

सन् २०१५ मा नेपालमा सडक दुर्घटनामा परी १३ हजार जना घाइते भएका थिए । कार्ययोजनामा सडक दुर्घटनाबाट घाइते हुने व्यक्तिहरूको वार्षिक औसत संख्या सन् २०२० सम्म ११ हजार, सन् २०२५ सम्म ८ हजार र सन् २०३० सम्म ५ हजारमा झार्ने लक्ष्य लिइएको थियो ।

कार्ययोजनामा सडक दुर्घटना र यसबाट हुने क्षति कम गर्न पेशेवर सवारी चालकहरूको क्षमता विकास गर्ने, चालकहरूलाई नियमित सडक सुरक्षा शिक्षा कार्यक्रम सञ्चालन गर्ने, ड्राइभिङ् स्कूलहरूको क्षमता विकास गर्ने, सडक प्रयोगकर्ताहरूका लागि विस्तृत आचार–संहिता विकास गर्ने, सडक निर्माण लागतको कम्तीमा १० प्रतिशत रकम सडक सुरक्षाका लागि छुट्याउने व्यवस्था गर्ने, सडक बोर्ड कोषको रकम सडक सुरक्षाका लागि खर्च गर्न मिल्ने व्यवस्था गर्ने उल्लेख छ ।

गृहको कार्ययोजनामा सडक दुर्घटनाबाट हुने मृत्यु सन् २०२० सम्म १ हजार ७ सय र घाइतेको संख्या ८ हजारमा झार्ने लक्ष्य राखिएको थियो । यो कार्ययोजना अनुरुप उपलब्धि हासिल गर्न सकिएन । आव २०७७/७८ मा मात्रै सडक दुर्घटनामा परी नेपालमा २५ हजार ७१ जना घाइते भएका छन्, जुन संख्या लक्षितभन्दा १७ हजार बढी हो ।

विश्व स्वास्थ्य संगठन के भन्छ ? 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सन् २०२० प्रकाशित रिपोर्टले भन्छ– ‘‘सडक दुर्घटनाका कारण हुने मृत्युदरको आधारमा नेपाल विश्वको ७२ औं राष्ट्रमा पर्छ ।’’

नेपालमा हुने कूल मृत्युमध्ये २.९० प्रतिशत सडक दुर्घटनाका कारण हुने गरेको छ । यो मृत्युदर उमेर समूह मृत्युदरसँग समायोजन गर्दा प्रति एक लाख जनसंख्यामा २०.७० व्यक्ति हुन आउँछ । डब्लुएचओले नेपाललाई सडक दुर्घटनाको हिसाबले अत्यन्त असुरक्षित राष्ट्रको सूचीमा राखेको छ ।

डब्लुएचओले अत्यन्त असुरक्षित राष्ट्रको सूचीमा नेपाललाई त्यसै राखेको होइन । तथ्याङ्कले भन्छ– आर्थिक वर्ष २०६४ साउन १ गतेदेखि २०८० पुस मसान्तसम्मको साढे १६ वर्षको अवधिमा २ लाख ७४ हजार ९०९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी ३४ हजार ३३० जनाको मृत्यु र २ लाख ५९ हजार ६३५ जना घाइते (सामान्य र गम्भीर) भएका छन् ।

डब्लुएचओले सन् २०१३ र २०१८ को प्रतिवेदनमा नेपालमा सडक सुरक्षाको अवस्था विश्वमै खराबमध्येमा पर्ने जनाएको थियो । सन् २०१३ को प्रतिवेदनमा नेपालमा सडक दुर्घटनामा परी वार्षिक १ हजार ८ सय जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

नेपाललगायत विश्वभर सवारी दुर्घटना बढेपछि संयुक्त राष्ट्रसंघले ‘विश्व सडक सुरक्षा दशक’ कार्ययोजना बनाई विश्वभर लागू गर्ने निर्णय गर्यो । सोही अनुसार नेपालले सडक सुरक्षा कार्ययोजना (२०६९–२०७७) तयार गरेर लागू गरेको थियो । कार्ययोजनाको समय सकियो, तर दुर्घटनाको संख्या र यसबाट हुने मानवीय क्षति घट्नुको साटो झन् बढ्यो ।

त्यतिमात्र होइन ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३०’ मा समेटिएका योजना अनुसार पनि उपलब्धि हासिल गर्न सकिएको छैन ।

कुन सवारी साधन पर्छ बढी दुर्घटनामा ? 

प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालमा कुल ३५ हजार ४०४ वटा सडक दुर्घटना भएका थिए । उक्त अवधिमा कुल ३५ हजार २२४ सवारी साधन दुर्घटनामा संलग्न थिए । नेपालमा हुने सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न भएको देखिन्छ । गत आर्थिक वर्ष १९ हजार ९८४ वटा मोटरसाइकल (५६.४५ प्रतिशत) दुर्घटनामा परेका थिए ।

प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष नेपालमा भएका दुर्घटनामा २ हजार १९३ वटा बस, ६ हजार ८३७ वटा कार तथा जिप, १ हजार ४८६ वटा ट्रक तथा ट्याङ्कर, ४८२ वटा माइक्रो, ४६६ वटा टिपर, ७८३ वटा ट्याक्टर, १ हजार ४७३ वटा तीन पाङ्ग्रे सवारी साधन र १ हजार ५२० वटा साइकल संलग्न थिए ।

सडक दुर्घटनाको प्रमुख कारण के हो ? 

प्रहरीको तथ्याङ्कले तीव्र गतिमा गुड्ने सवारी साधनहरू बढी दुर्घटनामा परेको देखिन्छ । तीव्र गति लगायत दुर्घटनाका विविध कारण छन् ।

२०८० साउनदेखि पुस मसान्तसम्मको ६ महिनामा तीव्र गतिको कारण ५ हजार ६४० वटा, बाटो काट्दा यात्रुको कारण ७५६ वटा, मादक पदार्थ सेवन (मापसे) गरेका कारण ६९४ वटा, अन्य ट्राफिक नियम उल्लंघन गरेका कारण ५७४ वटा, सवारी चालक अनुमतिपत्र प्राप्त नभएको ४६० वटा र ओभरटेक गर्दा ३५३ वटा सवारी दुर्घटना भएका थिए ।

प्रहरीका अनुसार, ओभरलोड, ब्रेक फेल, मोबाइल फोन प्रयोग, यान्त्रिक गडबडी, झुण्डिएर यात्रा जस्ता कारणले समेत सवारी दुर्घटना हुने गरेका छन् । जीर्ण सडक, कच्ची सडक, उकालो ओरालो, साघुँरो सडक, हुस्सु कुहिरो, बाढि पहिरो र चौपायको कारण पनि दुर्घटना हुने गरेको पाइन्छ ।

कुन समयमा हुन्छ बढी दुर्घटना ?

नेपाल प्रहरीको अध्ययन अनुसार, आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा बिहान ६ देखि दिउँसो १२ बजेसम्म ३ हजार ४७ वटा, दिउँसो १२ देखि साँझ ६ बजेसम्म ४ हजार ९५९ वटा, साँझ ६ देखि राति १२ बजेसम्म ४ हजार २६१ वटा र राति १२ देखि बिहान ६ बजेसम्म ५ सय ८१ वटा दुर्घटना भएका थिए । ८ वटा दुर्घटनाको समय खुल्न सकेको छैन ।

कुन उमेरकाले गराउँछन् बढी दुर्घटना ? 

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र लतिलपुरमा सवारी दुर्घटना गराउनेमा सबैभन्दा ठूलो संख्या २५ देखि ४० वर्ष उमेर समूहका चालक भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको एक वर्षको तथ्याङ्कले उपत्यकामा हुने सवारी दुर्घटनामा संलग्न चालकमध्ये सबैभन्दा ठूलो संख्या २५ देखि ४० वर्ष उमेर समूह देखाएको हो ।

कार्यालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा उपत्यकाका तीन जिल्लामा कुल १० हजार ६७५ वटा सवारी दुर्घटनाका घटना भएका थिए । तीमध्ये काठमाडौंमा ७ हजार ५३७, ललितपुरमा १ हजार ९४६ र भक्तपुरमा १ हजार १९२ वटा दुर्घटना भएका थिए ।

उपत्यकामा सवारी दुर्घटना गराउनेमा सबैभन्दा बढी २५ देखि ४० वर्ष उमेर समूहका चालक छन् । गत आर्थिक वर्ष सवारी दुर्घटनामा संलग्न चालकमध्ये ९ हजार २१७ जना उक्त उमेर समूहका थिए ।

त्यही अवधिमा दुर्घटनामा संलग्न चालकमध्ये दोस्रो ठूलो संख्या १६ देखि २५ वर्ष उमेर समूह छ । आर्थिक वर्ष २०७९/८० मा १६ देखि २५ वर्ष उमेर समूहका ५ हजार ५२० जना सवारी चालक दुर्घटनामा संलग्न थिए ।

दुर्घटनामा संलग्न चालकमा तेस्रो ठूलो संख्या ४० वर्ष माथिकाको छ । गत आर्थिक वर्ष ४० वर्ष माथिका ४ हजार ५०३ जना चालक दुर्घटनामा संलग्न रहेको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

मृत्यु हुने सबैभन्दा बढी १६ देखि ३५ वर्षका 

काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटनामा परी मृत्यु र घाइते हुनेमा सबैभन्दा ठूलो संख्या १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०७९/८० मा उपत्यकामा भएका सवारी दुर्घटनमा परी कुल १८७ जनाले ज्यान गुमाएका थिए । त्यही अवधिमा दुर्घटनामा परी ८ हजार ५६१ जना घाइते भएका थिए ।

उक्त वर्ष उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनामा परी मृत्यु हुनेमा १६ देखि ३५ वर्ष उमेर समूहका १०० जना थिए । अर्थात मृत्यु हुनेमध्ये आधीभन्दा बढी (५३.४७ प्रतिशत) १६ देखि ३५ वर्षका थिए । दुर्घटनामा परी सोही उमेर समूहका ५ हजार ६४५ जना घाइते भएको तथ्याङ्कले देखाउँछ ।

प्रतिवेदन अनुसार, गत आर्थक वर्ष उपत्यकाका तीन जिल्लामा दुर्घटनामा परी ६ वर्षमुनिका ५ जना बालबालिकाको मृत्यु भएको थियो भने १७५ जना घाइते भएका थिए । उक्त अवधिमा दुर्घटनामा परी ६ देखि १६ वर्षका ५ जना बालबालिकाले ज्यान गुमाएका थिए भने ३०२ जना घाइते भएका थिए ।

गत आर्थिक वर्ष नै दुर्घटनामा परी उपत्यकामा ३५ वर्षभन्दा माथिका ७७ जनाको मृत्यु भएको थियो । यस अवधिमा ३५ वर्षभन्दा माथिका २ हजार ४३९ जना सवारी दुर्घटनामा परी घाइते भएका थिए ।

सबैभन्दा बढी दुर्घटना सहरी सडकमा 

काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी दुर्घटना राजमार्ग र ग्रामीण सडकमाभन्दा पनि सहरी सडकमा हुने गरेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७९/८० मा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भएका १० हजार ६७५ दुर्घटनामध्ये ९ हजार ११४ वटा दुर्घटना सहरी सडकमा भएका थिए । अर्थात् ८५.३७ प्रतिशत दुर्घटना सहरी सडकमा हुने गरेका छन् ।

उक्त आर्थिक वर्ष उपत्यकाको तीन जिल्लाका ग्रामीण सडकमा १४७ र राजमार्गमा १ हजार ४१४ वटा सवारी दुर्घटना भएका थिए । सहरी सडकमा भएका सवारी दुर्घटनामध्ये काठमाडौंमा ६ हजार ९३४, ललितपुरमा १ हजार ५९९ र भक्तपुरमा ५८१ वटा रहेका थिए ।

यस्तै, राजमार्गमा भएका सवारी दुर्घटनामध्ये काठमाडौंमा ५७८, ललितपुरमा २९७ र भक्तपुरमा ५३९ वटा थिए । उक्त समयमा ग्रामीण सडकमा भएका सवारी दुर्घटनामा काठमाडौंमा २५, ललितपुरमा ५० र भक्तपुरमा ७२ वटा थिए ।

३० वर्षमा उपत्यकामा दुर्घटनको संख्या ५४८ प्रतिशतले वृद्धि 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, पछिल्लो ३० वर्षमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाको संख्या ५४५.८४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कार्यालयका अनुसार, आर्थिक वर्ष २०४९/५० मा उपत्यकामा तीन जिल्लामा १ हजार ९४५ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १५६ जनाको मृत्यु भएको थियो । यसको १० वर्षपछि अर्थात आर्थिक वर्ष २०५९/६० मा उपत्यकामा २ हजार २२५ वटा सवारी दुर्घटना रेकर्ड भएका थिए । ती दुर्घटनामा परी १८० जनाले ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०६९/७० मा उपत्यकाका तीन जिल्लामा ४ हजार ७७० वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १४७ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७९/८० मा उपत्यकामा १० हजार ६७५ वटा सवारी दुर्घटना भएका छन् र यी घटनामा परी १८७ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०४९/५० को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा काठमाडौं उपत्यकाका तीन जिल्लामा सवारी दुर्घटनाको संख्या ५४७.८४ प्रतिशतभन्दा बढीले वृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

अध्ययनले के भन्छ ? 

दुर्घटना निकै बढेपछि संघीय संसदको विकास तथा प्रविधि समितिले सवारी दुर्घटना कसरी घटाउन सकिन्छ भन्नेबारेमा अध्ययन गर्न उपसमिति गठन गरेको थियो । अध्ययन गरेर ‘सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति प्रतिवेदन, २०७७’ शीर्षकमा प्रतिवेदन बुझायो, तर कार्यान्वयन हुन सकेको छैन ।

प्रतिवेदनमा नेपालमा सवारी दुर्घटना हुने ९७ वटा कारण र तीनको समाधान प्रस्तुत गरिएको छ । यी कारण र समाधानका उपाय प्रतिवेदनमा सीमित भए ।

‘नेपालमा सवारी दुर्घटना हुनुमा कुनै एक कारणमात्र जिम्मेवार देखिँदैन । सडक अनुशासनको अवहेलना, दक्ष र अनुभवी चालकको कमी, मापदण्डविपरीत बनेका सडक संरचना, सवारी साधन प्रयोगकर्तामा सवारी नियमको ज्ञानको अभाव, सवारी साधनको कमजोर अवस्था, सडक प्रयोगकर्ताको लापर्बाही सडक दुर्घटना निम्त्याउने प्रमुख कारण बनेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा सवारी साधनको यान्त्रिक समस्या, सडक समस्या, सवारी चालक समस्या, यात्रु, पैदलयात्री तथा सर्वसाधारणसम्बन्धी समस्या, ट्राफिक प्रहरीसम्बन्धी समस्या, सवारी धनीसम्बन्धी समस्या, संस्थागत एवं अनुगमनसँग सम्बन्धित कारण र कानुन कार्यान्वयनसम्बन्धी समस्या शीर्षकमा दुर्घटनाका कारणहरू विस्तृत रुपमा उल्लेख छ ।

सवारी साधनको नियमित मर्मत–सम्भार तथा परीक्षण नगर्ने प्रवृत्ति, पुराना सवारी सधान प्रयोगमा रहनु, मर्मतमा नक्कली पाटपूर्जा प्रयोग हुनु, कृत्रिम वा थप अस्थायी सिट राखी सवारी साधन संचालन गरिनु, एक सिट एक यात्रु नियम पालना नहुनुका कारण नेपालमा दुर्घटना बढेको प्रतिवेदनमा स्पष्ट किटान गरिएको छ ।

सडक क्षमताभन्दा सवारी साधनको संख्या बढी हुनु, सडकमा साँघुरा मोड र ठाडो उकालो ओरालो हुनु, प्राविधिक मापदण्ड र उचित इन्जिनियरिङविना सडक निर्माण हुनु, राजमार्ग तथा अन्य सडकमा पर्याप्त ट्राफिक संकेत, लाइट नहुनु, सडकमा खाल्टाखुल्डी व्यापक हुनु, सडकपेटी पर्याप्त नहुनु पनि नेपालमा सवारी दुर्घटनाका कारण हुन् ।

सवारी चालकले लापर्बाही तरिकाले सवारी चलाउनु, पर्याप्त ट्राफिक ज्ञानको कमी, मादक पदार्थको सेवन, तीव्र गतिमा सवारी चलाउनु, पर्याप्त तालिमको अभाव, बढी कमाउन चालकहरूबीच बढी सामान र यात्रु राख्न अस्वस्थ प्रतिस्पर्धा हुनु, चालकलाई न्यून सामाजिक मर्यादामा राखिनु, सवारी चालक अनुमतिपत्र लिन निश्चित शैक्षिक योग्यता नराख्दा पनि सडक दुर्घटना बढेको ठहर प्रतिवेदनमा गरिएको छ ।

‘सवारी सुरक्षाका समस्याहरू समाधान गर्न सकिने सम्भावना हुँदाहुँदै पनि सो हुन सकेको छैन । यस्ता समस्याहरू समाधानका लागि जिम्मेवार सम्बन्धित निकायहरूले गम्भीरता देखाउन जरुरी छ,’ प्रतिवेदनमा भनिएको छ ।

लक्ष्य धेरै पर 

नेपालले सडक दुर्घटना र यसबाट हुने क्षति कम गर्न गरेको प्रयास निरर्थक भएको देखिन्छ । यसलाई सरकारी तथ्याङ्कले पुष्टि गर्छ ।

नेपालले सन् २०२५ सम्म सडक दुर्घटनाबाट हुने मृत्युको संख्या १ हजार २०० मा झार्नुपर्थ्यो । यो लक्ष्य भेट्ने कुनै लक्षण छैन । आर्थिक वर्ष २०८०/८१ मा २ हजार ३६९ जनाको मृत्यु सडक दुर्घटनामा भएको छ ।

कार्ययोजनामा सन् २०२५ सम्म (एक वर्षमा) सडक दुर्घटनामा घाइते हुनेको संख्या ८ हजारमा झार्ने लक्ष्य राखिएको थियो । यो लक्ष्य पनि पूरा हुने देखिँदैन । आर्थिक वर्ष २०८०/८१ मा सडक दुर्घटनामा घाइते हुनेको संख्या ३२ हजार १५६ छ । सन् २०२५ आउन साढे चार महिना मात्र बाँकी छ, तर लक्ष्यहरू निकै टाढा छन् ।

सुरेन्द्र पौडेल / बाह्रखरी बाट 

३२ श्रावण २०८१, शुक्रबार २१:५६ मा प्रकाशित
Nabintech