Play

निर्बाचन प्रणालीमा सुधार गर्न र आपुर्ती ब्यबस्था प्रभावकारी बनाउन आबश्यक-केन्द्रीय सदस्य बराल

गुरुकुल खबर


काठमाडौँ,  काठमाडौँमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधनको विषयमा पार्टीका केन्द्रीय सदस्यहरुले कुरा उठाएका छन । बैठकको दोस्रो दिन बिहीबार  नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले संविधान संशोधन गरी निर्वाचन प्रणाली सुधार गर्नुपर्ने विषय लगायत उपभोक्ता अधिकारको बारेमा समेत कुरा उठाए।

बरालले मौजुदा संविधान कार्यान्वयनमा आएको १० वर्ष पुग्न लागेको भन्दै निर्वाचन प्रणालीलाई समयानुकूल परिमार्जन र संशोधन गर्नुपर्ने र चुनाव महँगो बनेकाले त्यसलाई पनि रोक्नुपर्ने कुरामा जोड दिए। उनले निर्बाचन प्रणालीमा कमजोरी रहेको कारण इमान्दार र निरन्तर पार्टीमा सक्रिय नेता कार्यकर्ताहरु हतोत्साही हुन पुगेको भन्दै निर्बाचन प्रक्रियामा हुने गरेको अपारदर्शी र अनुचित गतिबिधि रोक्न जरुरी रहेको समेत स्पष्ट पारे।

बरालले बंगलादेशको राजनीतिक संकटलाई लिएर नेपालमा गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै त्यसको खण्डन कांग्रेसले समेत गर्नुपर्नेमा जोड दिए। उनले मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचारले जरा गाडेको कारण भ्रष्टाचार नियन्त्रणमा तत्काल उपयुक्त कदम चाल्नुपर्नेमा जोड दिए

नेपाली काँग्रेसको आपूर्ति तथा उपभोक्ता बिभाग गठन भएपछि विभागले महत्वपूर्ण काम गरेको जानकारी गराउंदै विभागका प्रमुख समेत रहेका बरालले भन्सारमा अग्रिम आयकर बुझाउनुपर्ने निर्णय खारेज गर्न र चाडपर्बको अबसरमा दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाब, कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रभावकारी अनुगमन गर्नुपर्ने कुरामा जोड दिए।

विभागले पूर्णता पाउन बाँकि रहेपनि बिभाग गठन भएको छोटो समयमा धेरै काम गरेको बताउंदै बरालले पेट्रोलियम पदार्थको ढुवानीमा समस्या आएको समयमा ढुवानी सहज बनाउन पहल गरेको, कृतिम अभाव र कालोबजारी रोक्न नेपाल सरकारका गृहमन्त्री र कृषिमन्त्री लाई ज्ञापन पत्र बुझाइएको, तत्कालिन सरकारले भन्सारमा अग्रिम आयकर लिने निर्णय गरेको बिरोधमा सार्बजनिक रुपमा बिरोध गरिएको जानकारी दिए। अब छिट्टै नै मुलुकमा दैनिक उपभोग्य बस्तुहरुको आपुर्ती सहज बनाउन आपुर्ती मन्त्री संग अन्तरक्रिया गरिने समेत उनले जानकारी दिए ।

२४ श्रावण २०८१, बिहीबार १८:१३ मा प्रकाशित
Nabintech