Play

यातायात व्यवसायीको आन्दोलन एकैदिनमा स्थगित, पत्रकार कुट्ने ५ जना पक्राउ

गुरुकुल खबर


  • रिता गुरुङ/पोखरा

रातो प्लेटका सवारी साधनलाई राइड शेयारिंगलाई बैधानिकता दिन नहुने लगायतका विभिन्न माग राखेर सार्बजनिक यातायात ब्यबसायीले गण्डकी प्रदेश भित्र शुरु गरेको आन्दोलन आइतबार एक दिनमै स्थगित भएको छ। आन्दोलनको क्रममा ब्यबसायीले सार्बजनिक यातायातका साधन नचलाउँदा पोखरा लगायत यस क्षेत्रको यातायात सेवा प्रभावित बन्न पुगेको थियो ।

रातो नम्बर प्लेटलाई राइड सेयरिङको मान्यता दिने गरी सरकारले ल्याउन लागेको कार्यविधि खारेज गर्नुपर्ने उनीहरूको  मुख्य माग हो, जुन गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था ऐन, २०७६, नियमावली २०८० विपरीत छ । सरकारले राइडिङ सेयरलाई पनि दर्ता गरेर सार्वजनिक सवारीको मान्यता दिने नीति ल्याएको छ । गण्डकी प्रदेश सरकारले अन्य सवारी झैँ राइड सेयरिङमा दर्ता सवारीले पनि वर्षमा निश्चित रकम कर तिर्नुपर्ने ब्यबस्ठा सहित नयाँ नीति ल्याउन लागेको हो ।

तर, यहाँका यातायात व्यवसायीहरू यसको विरुद्धमा छन् । उनीहरूले कार्यविधि खारेज गर्नुपर्ने मागसहित गत साउनन १० गते विज्ञप्ति बुझाएर ४८ घण्टाको अल्टिमेटम दिएका थिए । यातायात व्यवसायीले २ र ४ पांग्रे निजी (रातो नम्बर) प्लेटका सवारी साधनलाई यात्रु ओसारपोसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागु गर्नुपर्ने माग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा राखेका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी संयोजक केदार पौडेलले आइतबार र सोमबार पहिलो चरणमा आन्दोलन गर्ने र दुई दिनसम्म माग पूरा नभएमा आन्दोलनको प्रकृति पनि फेरिने बताएका थिए तर आन्दोलनको कार्यक्रम एक दिनमा नै स्थगित भएको छ ।

गण्डकी प्रदेश सरकारका अधिकारीहरुसंगको बार्तामा एक कार्यदल गठन गर्ने सहमति संगै यातायात व्यवसायीको आन्दोलन स्थगित भएको र आइतबार साँझपखबाट नै सवारी साधन चल्न शुरु भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारको लागि भारत गएको कारण कार्यबाहक मुख्यमन्त्रीको रुपमा बिन्दुकुमार थापा रहेका छन

आगामी १५ दिन भित्र सुझाब सहितको प्रतिबेदन बुझाउने जिम्मा सहित भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।  मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा बनेको कार्यदलमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरमध्येबाट एकजना सदस्य रहनेछन् । कार्यदलले तयार पार्ने प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयमा पेस हुनेछ । थप छलफलका लागि विज्ञहरूलाई समावेश गर्न पाउने अधिकार कार्यदललाई नै दिइएको छ ।

कार्यदल गठन भएसँगै आइतबारदेखि सुरु भएको यातायात व्यवसायीका आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र केसीले जानकारी दिए ।

पत्रकार आक्रमण गर्ने ५ जना पक्राउ 

यसैबीच आन्दोलनरत यातायात ब्यबसायीको नामबाट पोखराको पृथ्वीचोकमा रिपोर्टिङमा खटिएका पत्रकारद्वय बिना थापा मगर र सुरज थापा मगरमाथि सांघातिक आक्रमण भएको छ । बिना पोखरा टेलिभिटन र सुरज गण्डकी भ्वाइसमा कार्यरत छन् ।

उनिहरुमाथि हातपात गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको जनाएको छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भएको आन्दोलनको क्रममा पृथ्वीचोक क्षेत्रमा उत्पन्न तनाबबारेमा रिपोर्टिंग गर्न गएको बेला उनीहरुमाथि आक्रमण भएको हो।

आक्रमणकारीहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न पत्रकारिता संग सम्बन्धित सबै जसो संस्थाले माग गरेका छन विभिन्न संसथाहरुले छुट्टाछुट्टै बिज्ञप्ति जारी गरि पत्रकार द्वय बिना र सुरजलाइ आक्रमण गर्ने र उनीहरुको सवारी साधन तोडफोड गर्नेमाथि कारबाही गर्न माग गरेका थिए ।

आक्रमण गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नं. ९ शान्तिबन बस्ने वर्ष ४१ को सुर्य बहादुर नेपाली (ट्याक्सी चालक), गोरखा जिल्ला स्थायी घर भई हाल पोखरा- ९ पृथ्वीचोक बस्ने बर्ष ३३ को बुद्धि बहादुर बयलकोटी (मजदुर),  पोखरा- १६ लामाचौर बस्ने बर्ष १६ को प्रशान गुरुङ (बसको सहचालक), लम्जुङ जिल्ला सुन्दरबजार – १ कुन्छा घर भई हाल पोखरा म.न.पा.५ जिरो बस्ने बर्ष २८ को सन्तोष बस्नेत (ट्याक्सी चालक) र स्याङ्जा जिल्ला आँधिखोला गा.पा- २ पोखराचौर घर भई हाल पोखरा म.न.पा.१७ घारीपाटन बस्ने बर्ष ३५ को टंक बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाले जानकारी दिए । अन्य आक्रमणकारीको खोजी कार्य भइरहेको एसपी थापाले बताए ।

१३ श्रावण २०८१, आईतवार २०:०२ मा प्रकाशित
Nabintech