Play

मन्त्रालयको भागबण्डामा सहमति, कांग्रेस र एमालेबाट मन्त्री बन्न दौडधुप, शेखर टिमबाट चारजनाको नाम

गुरुकुल खबर


पोखरा, प्रधानमन्त्रीमा केपी ओलीको नियुक्तिपछि नेपाली काग्रेस र नेकपा एमालेको बिचमा मन्त्रालयको भागबण्डा समेत करिब टुंगिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।

दुई दलका नेताबीच भएको सहमति अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय परेका छन् । त्यस्तै वन तथा वातावरण मन्त्रालय पनि कांग्रेसको भागमा परेको बुझिएको छ ।

नेकपा एमालेको भागमा भने अर्थसहित भौतिक पूर्वाधार तथा यातायात,सञ्चार तथा सूचना प्रविधि र शिक्षा मन्त्रालय परेका छन् । त्यसबाहेक शिक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि एमालेको भागमा परेको छ । बाँकी चार मन्त्रालय भने साना दलका लागि छुट्याइएको छ ।

साना दल जसपा, जसपा नेपाल, लोसपा र जनमत पनि सरकारमा जाने तयारीमा छन् । मन्त्रालय भागबन्डामा दुवै दल सहमति भए पनि सरकारमा सहभागी हुने दल थपघट भएमा केही परिवर्तन हुनसक्ने अबस्था छ ।

एमालेबाट को को बन्लान मन्त्री ?

मन्त्रालय भागबन्डामा सहमति भएसंगै कांग्रेस र एमालेबाट मन्त्री हुनेको सुची तयार पार्न शीर्ष नेताहरू छलफलमा छन् । मन्त्री पदका आकाक्षीहरु पनि यतिबेला नेताहरु भेटघाट गर्ने दौडधुपमा लागेका छन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिने निश्चितजस्तै छ ।

एमालेको भागमा पर्ने अरू मन्त्रालयमा मन्त्रीहरूको नाम टुंगो लगाउने अन्तिम गृहकार्य भइरहेको छ । स्रोतका अनुसार, एमालेबाट सचिवद्वय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्दै छन् । यसअघि मन्त्री बनिसकेका जुलीकुमारी महतो, पदम गिरी र दामोदर भण्डारीसहित विद्या भट्टराईलगायत मन्त्री बन्ने स्रोतको दाबी छ । “अहिलेसम्म छलफलमा जारी छ । शपथसम्ममा प्रधानमन्त्रीले हेरफेर गर्ने सम्भावना नकार्न सकिँदैन,” स्रोतले भनेको छ ।

कांग्रेसबाट को को बन्लान मन्त्री ? शेखर कोइराला टिमबाट चार जनाको नाम

नेपाली कांग्रेसले भने दुई जना मन्त्रीको मात्र टुंगो लगाएको बुझिएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ। अन्य मन्त्रीको टुंगो सोमबार बिहान ८ बजे लगाउने तयारी छ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चार जना मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो । आजै बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । तर देउवा भने चार जना मन्त्री दिन इच्छुक नरहेको बताइएको छ ।

यसका साथै प्रकामान सिंह, चन्द्र भण्डारी, जिबन परियार, उदय शमशेर राणा, दिपक खड्का, बद्रि पाण्डे, शंकर भण्डारी लगायतको पनि मन्त्री बन्ने चर्चा चलिरहेको छ तर को को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन।

पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरेको हो।

सोमबार (भोलि) बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ लिने गरी राष्ट्रपतिको कार्यालयले समय निर्धारण गरेको जानकारी दिएको छ ।

३० असार २०८१, आईतवार २१:१६ मा प्रकाशित
Nabintech