Play

बेलायतमा लेबर पार्टी १४ बर्षपछि सत्तामा, कन्जर्भेटिभ पार्टीको लज्जाजनक हार

लेबर पार्टीका नेता सर कियर स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त


गुरुकुल खबर


लन्डन, लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन। बेलायतका राजा चाल्र्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए ।

बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् ‘हाउस अफ कमन्स’मा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ ।

लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठुलो सफलता हो । प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए ।

विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ । यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रा. सूर्यप्रसाद सुवेदीले लेबरको आप्रवासी नीति अलि उदार रहेको बताउँदै श्रमिकको पक्षमा उभिने भएकाले नेपाललगायतबाट आउने श्रमिकका लागि नकारात्मक असर नपर्ने बताए । उनले भूतपूर्व गोर्खाको विषयमा पनि लेबर सकारात्मक हुन सक्ने जानकारी दिए ।

२२ असार २०८१, शनिबार ०८:२८ मा प्रकाशित
Nabintech