Play

एमालेका मन्त्रीको राजिनामा पछि सहमति सार्बजनिक गरिने, प्रम प्रचण्डको पनि राजिनामा आउने बिश्वास, कांग्रेस पदाधिकारीको बैठक बस्दै

गुरुकुल खबर


काठमाडौं । नेकपा एमाले र नेपाली काँग्रेसको बिचमा राजनीतिक सहमति भए लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजे देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठक नेकपा एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा केन्द्रित हुने बताइएको छ । बैठकले एमालेसँग सत्ता साझेदारीका विषयमा भएको समतिलाई अनुमोदन गर्ने नेताहरूले बताएका छन् ।

कांग्रेस–एमालेले सरकारको नेतृत्वको आलो–पालो गर्ने सहमति गरेका छन् । उक्त सहमतिमा पदाधिकारीको समर्थन खोज्न सभापति देउवाले बैठक बोलाएका हुन् ।  सहमतिअनुसार सुरुका दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने र बाँकी अवधि कांग्रेसले गर्ने समझदारी भएको छ ।

यस अघि नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच गए राति सहमति भएको हो । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

दुई नेताहरु बीच भएको सहमति पूर्व नै एमालेबाट सरकारमा गएका मन्त्रीहरुले राजिनामा दिने र त्यसपछि मात्र सहमति सार्बजनिक गरिनेछ ।

नेपाली काँग्रेसका एक नेताका अनुसार संसद्का दुई ठूला राजनीतिक दलबीच सहमति भइसकेपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन प्रयास  नगरी राजिनामा दिन सक्छन  उनले प्रधानमन्त्रीले करिब दुई तिहाइ देखदेख्दै विश्वासको मत लिन्छु भन्नु मुर्खताबाहेक केही नहुने बताए ।

यदि प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्ने अडान राखेमा कोसी प्रदेशमा भएको नजिरले पनि काम गर्ने ती नेताको तर्क छ । “भर्खरै कोसीमा बहुमत सदस्यहरुले बुझाएको हस्ताक्षरलाई सर्वोच्चले मान्यता दिएको छ,” उनको तर्क छ, “त्यही अवस्था संघिय सरकार गठनमा पनि हुन सक्छ ।”

दुई दलबिच भएको वार्तामा सहभागी का‌ंग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् ।

एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।

यसैगरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको बैठकमा सहभागी नेताले जानकारी दिएका छन ।

देउबा र ओलीको बिचमा भएको सहमति अनुसार संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदामा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने तथा उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने उल्लेख छ ।

यता प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितलाई मात्रै राख्ने विषय मस्यौदामा राखिएको छ ।

यसअघि कांग्रेस र एमाले नेताहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको बताइएको छ ।

यसअघि २०७९ पुस १० मा देउवाले संसद्को पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजना बनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो ।

१८ असार २०८१, मंगलवार ०८:०२ मा प्रकाशित
Nabintech