Play

सिरोहिया पक्राउको बिरोध जारी, एमाले, माओबादी, एकीकृत समाजबादी र राप्रपाको पनि बिरोध

गुरुकुल खबर


एकोर्याबले भन्यो – यो घटनाले केहि गम्भीर शंका जन्माएको छ

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि आरोपबारे राज्यका निकायले छानबिन गर्न पाउने कुरामा दुईमत नरहे पनि यो घटनाले केही गम्भीर शंका उपशंका जन्माएको अकोराबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘गृहमन्त्री सहकारी ठगी प्रकरणमा जोडिएको बारेमा लगातार समाचार प्रकाशित गरिरहेको कान्तिपुर पब्लिकेसन्सका प्रबन्ध निर्देशक सिरोहियाले आफूमाथि लागेको आरोपबारे न्यायिक छानबिनमा सघाउने बताइरहेका बेला कार्यकक्षबाटै पक्राउ गरिनु स्वतन्त्र प्रेसविरुद्ध राज्यले साँध्ने निशाना र प्रतिशोधपूर्ण रहेको बुझ्न कठिन छैन,’ विज्ञप्तिमा भनिएको छ,‘एउटा स्वतन्त्र पत्रकारिता संस्थाका प्रमुखलाई यसरी अनावश्यक रूपमा थुनामा राख्नु निन्दनीय कदम हो । स्वतन्त्र पत्रकारिता प्रजातन्त्रको आधारशीला हो । सञ्चार जगतले निर्भीक र स्वतन्त्र रूपमा आफ्नो काम गर्न दिनुपर्छ ।’

विज्ञप्तिमा प्रहरी प्रशासनले पत्रकारहरूलाई यसरी निशाना बनाउनु उचित नभएको र उक्त घटनालाई अकोराब विरोध गर्दै प्रजातान्त्रिक मूल्य मान्यतालाई कायम राख्न सरकारसँग आग्रह गरेको छ ।

सिरोहियाको गिरफ्तारी सर्वथा अनुपयुक्त – राजेन्द्र लिंग्देन, अध्यक्ष राप्रपा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंग्देंनले पनि सिरोहोया पक्राउ घटनाको बिरोध गरेका छन्  सहकारी ठगीमा तथ्य र प्रमाणसहित निरन्तर समाचार प्रकाशन गरेको प्रतिशोध राज्यले लिएको लिङ्देनको भनाइ छ । ‘कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुने नै छ ।

तर, सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो, सर्वथा अनुपयुक्त छ,’ अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यसप्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो ।’

नागरिकता काण्डमा लामिछानेलाई पनि पक्राउ गरिएको थिएन – माओबादी सचिब राम कार्की 

काठमाडौँ — सरकारको नेतृत्व गरेको माओवादी सचिव राम कार्कीले कान्तिपुर पब्लिकेशन्स् लिमिटेडका अध्यक्ष सिरोहियालाई आवश्यक सोधपुछ समेत नगरी पक्राउ गरेकाले सरकारको नियतप्रति आशंका उत्पन्न भएको बताए । उनले नागरिकता लिएको विषयमा सोधपुछनै नगरी पक्राउको आदेश गर्नु र पक्रनु अपरिपक्व निर्णय भएको बताए

‘जुन विषयमा अभियोग लगाएर पक्राउ गरियो । यो परिस्थितिमा तुरुन्तै पक्राउ गर्ने अवस्था देखिँदैन,’ उनले भने, ‘नागरिकतामा प्रश्न उठेपछि बोलाएर बयान नलिई पक्राउ गरी गिरफ्तार गरेपछि सरकारप्रति आशंका उठेको छ ।’ उनले सहकारीको रकम हिनामिनाको विषयमा कान्तिपुरले निरन्तर खबरदारी गरिरहको बेला अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु ‘कुखुरा हराउनु र स्याल कराउनु’ जस्तै भएको बताए ।

मिडिया र राज्यबीच द्वन्द बढाउन सिरोहिया पक्राउ –  एकीकृत समाजबादी

यसैबीच सरकारको गृहमन्त्रीकै निर्देशनमा सिरोहिया पक्राउ परेको भएपनि सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गर्नु निन्दनीय भएको जनाएको छ ।

पार्टीका महासचिव घनश्याम भुसालले मंगलबार एक विज्ञप्ति जारी गर्दै मिडियालाई दबाबमा राख्ने प्रयास भएको भन्दै यस्तो बताएका हुन् । मिडिया र राज्यबीच द्वन्द्व सिर्जना गर्न खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

“प्रतिष्ठित सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाले प्रेस र राज्यका बीच द्वन्द्व सिर्जना गर्न खोजिएको देखिन्छ । मिडियालाई दबाबमा राख्ने कुनै पनि प्रयास निन्दनीय छ । यो कार्य कान्तिपुरको निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र होइन भन्ने कुरा सरकारले तुरुन्त पुष्टि गर्नुपर्छ,” भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राज्यले संयमता गुमायो – प्रदिप ज्ञवाली, एमाले उपमहसचिब 

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरी राज्यलेले संयमता गुमाएको बताएका छन् । उनले कुनै अभियोगमा व्यक्तिलाई पक्राउ गर्नुअघि पर्याप्त अनुसन्धान गर्नुपर्ने अभ्यास भएको उल्लेख गर्दै पक्राउ गर्नु पर्ने हो कि होइन ख्याल गर्नुपर्ने बताए ।

मिडियामाथि चरणबद्ध रुपमा लामिछानेको कुदृष्टिको एक उदाहरण – नेपाल प्रेस युनियन 

नेपाल प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । ‘सहकारी ठगी’का विषयमा कान्तिपुर दैनिकमा निरन्तर खोजमूलक समाचार प्रकाशित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि छामिछानेको निर्देशनमा प्रहरीले पूर्वाग्रहपूर्ण ढंगले कान्तिपुरका प्रबन्धक निर्देशक सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई प्रेस युनियन घोर निन्दा गर्दछ ।

प्रहरीले ‘नागरिकताको विषय’ देखाएर पक्राउ गरिएको भनिए पनि मन्त्री लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले पक्राउ गरिएको ठहर युनियनले गरेको छ । सिरोहियाको नागरिकताको विषयमा कानुन सम्मत अनुसन्धान गर्ने कुरा स्वभाविक छ र अनुसन्धानमा सिरोहियाले पनि सघाउनुपर्छ भन्ने मान्यता युनियनको छ । अनुसन्धानको बहानामा सञ्चार माध्यमलाई त्रसित बनाउने गरी विधि र प्रक्रिया मिचेर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी सत्ताको बलमा बदलाको भावनाले पक्राउ गरिएको घटना निन्दनीय छ ।

गृहमन्त्री लामिछानेले यसअघि ‘बाह्र भाइ’को नाममा सम्पादकहरू विरुद्ध दिएको अव्यिक्ति, सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने गरी गृह मन्त्रालयले दिएको हुकुमी शैलीको लिखित निर्देशन, सार्वभौम संसद्को रोष्टमबाटै मिडिया विरुद्ध बोल्नु, र अहिले मिडिया सञ्चालकलाई पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गर्न निर्देशन दिनुले रास्वपाका सभापतिसमेत रहेका लामिछानेको नियत प्रष्ट हुन्छ । दोहोरो नागरिकता, राहदानी र सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने आफ्ना कुकृत्य ढाकछोप गर्न सत्ताको दुरुपयोग गर्दै अर्नगल प्रचारबाजी गर्दै आएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई आफ्नो राजनीतिक यात्राको जग स्मरण गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धताबाट विचलित नहुन, मिडियाप्रति पूवाग्रहपूर्ण व्यवहार नगर्न आग्रह गर्दछ । मिडियाप्रति सरकारको धारणा सार्वजनिक गर्न पनि प्रेस युनियन आग्रह गर्दछ । कान्तिपुरका प्रबन्ध निर्देशक सिरोहियालाई पक्राउ गरिए पनि सम्पादकीय नीतिबाट विचलित नहुन, र नागरिकले सुसूचित हुन पाउने अधिकारलाई जीवन्त राख्न अविचलित भएर सञ्चार सामग्री उत्पादन गरी प्रकाशन तथा प्रशारणमा अडिग रहन कान्तिपुर मिडियालाई प्रेस युनियन आग्रह गर्दछ ।

साथै युनियन सञ्चार गृहको साथमा रहेको प्रतिवद्धतासमेत व्यक्त गर्दछ । सत्ता र शक्तिको दुरुपयोग गरेर मिडियामाथिको आक्रमण रोक्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य नगर्न प्रेस युनियन सम्बन्धित सबै पक्षलाई सचेत गराउन चाहन्छ ।

८ जेष्ठ २०८१, मंगलवार २३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा