Play

राष्ट्रपति पौडेलद्वारा तनहुँको भिमादमा बिद्यालय भवन उद्घाटन, देश, संबिधान र गणतन्त्र जोगाउन लाग्ने प्रतिबद्दता

गुरुकुल खबर


तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आफू निष्ठापूर्वक लागिरहने बताएका छन् ।

तनहुँको भिमादस्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने। ‘राजनीतिक अस्थिरताको श्रृङखलाले यो देश र व्यवस्थालाई अप्ठयारो नहोस भन्ने मेरो चिन्ता हो, मैले प्रधानमन्त्रीलाई पनि यही भनेको छु,’ तपाइहरूको राजनीतिमा मेरो भन्नु केही छैन तर राजनीतिक अस्थिरताले देश र व्यवस्थालाई अप्ठ्यारो नहोस भन्ने मेरो चिन्ता हो,

शुक्रबार आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले आफुलाई देश र व्यवस्था बचाउने जिम्मा मिलेकोले संविधान, देश र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन निष्ठापूर्वक लागिरहने प्रतिबद्दता समेत ब्यक्त गरे ।

उनले तनहुँ जिल्लालाई विशिष्ट जिल्ला बनाउन आफूसँग दुईवटा दृष्टिकोण र कार्यक्रम रहेको उल्लेख गर्दै भने, “ एउटा जिपी कोइराला श्वास प्रश्साव केन्द्रलाई शिक्षण अस्पताल बनाउने र अर्को संसारमा कुनै पनि नेपालीले एक पटक नआई नहुने भानु साहित्य उद्यान बनाउन सके तनहुँ विशिष्ट जिल्ला बन्छ । ”

राष्ट्रपति पौडेलले विकासको काम रोकेर कानुनको कुरा नगर्न, जनताको पक्षमा न्याय गर्न र देश विकासको मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रमा पर्याप्त बजेट, भौतिक पूर्वाधार र प्रविधिको व्यवस्था, तालिमप्राप्त दक्ष शिक्षक र व्यवस्थापकीय सुव्यवस्थाको सुनिश्चितता गर्न आवश्यक रहेको कुरामा जोड दिए।

संविधानले प्रत्याभूत गरेअनुरुप सहज, सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता नै आजको आवश्यकता हो भन्दै उनले ज्ञान पुँजी सबैभन्दा ठूलो पुँजी भएको र यसले नै भौतिक विकास, संस्कार र सभ्यता निर्माणको जग बसाल्ने बताए।

आधुनिक युगमा प्राविधिक, व्यावसायीक र प्रतिस्पर्धी शिक्षा दिन सरकार, नीति निर्माता र शिक्षासँग सरोकारवालाहरुले एक भएर सोच्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड थियो।

सामाजिक अगुवा एवं शिक्षासेविहरुको प्रयासमा डेढ दशक अघि ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउने उद्देश्यले यस क्याम्पसको स्थापना हुनु खुशीको विषय भएको प्रसंग उल्लेख गर्दै उनले तनहुँ, स्याङ्जा, नवलपुर र पाल्पा जिल्लाबाटसमेत उच्च शिक्षा अध्ययनका लागि विद्यार्र्थीहरूको गन्तव्यको रुपमा यसको महिमा बढ्दै जानु स्वभाविक भएको धारणा व्यक्त गरे।

भीमादबाट रिसिङ, भीरकोट हुँदै चितवन र रिसिङ राम्जाकोट, पिपलटार हुँदै नवलपरासीसम्मको फराकिलो सडक पूर्वाधार बनाएर उत्तर र दक्षिणका छिमेकी देशलाई जोड्नेतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । “निर्माणाधिन १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाले बनाउने जलाशयले यस क्षेत्रको पर्यटकीय आकर्षण बढाउन योगदान दिननैछ”, उनको भनाई थियो।

२३ चैत्र २०८०, शुक्रबार २१:१८ मा प्रकाशित
Nabintech