Play

बाल्टिमोरस्थित हिन्दु-बुद्ध मन्दिरको बिकास र नेपाली संस्कृतिको जगेर्ना गर्न मेरिल्याण्ड आध्यात्मिक महोत्सव शुरु

गुरुकुल खबर


मेरिल्याण्ड ( अमेरिका), नेपाली समुदायको बसोबास उल्लेख्य संख्यामा रहेको अमेरिकाको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरलाई थप ब्यबस्थित र सुबिधा सम्पन्न बनाउने लक्षका साथ मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ। मार्च ३० अर्थात चैत्र १७ गते शनिबारबाट शुरु भएको महायज्ञ अप्रिल ६ अर्थात चैत्र २४ गते शनिबारसम्म चल्ने छ। महायज्ञका प्रमुख बाचकमा  बाचन प्रबिण पण्डित दीनबन्धु पोखरेल रहेका छन् ।

महायज्ञलाई सफलता पुर्बक सम्पन्न गर्न श्रीमद्भागवत महायज्ञ मूल आयोजक समिति, कार्यसमिति, व्यवस्थापन समिति र विभिन्न उप समितिहरु पनि गठन गरिएका छन् । पूजा व्यवस्थापन, कलशयात्रा, सरसफाई, पानी, प्रसाद व्यवस्थापन, टेन्ट व्यवस्थापन, पार्किङ व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्थापन लगायतका विविध समितिहरु बनाएर स्थानीय नेपाली समुदायका संस्था र व्यक्तित्वलाई जिम्मा दिइएको छ।

यस पटक संचालन भैरहेको श्रीमद्भागवत महायज्ञमा विभिन्न धार्मिक अनुष्ठानहरु गर्न सकिने व्यवस्था  पनि गरिएको छ । जसअनुसार ब्रतबन्ध, तुलादान, कलश यात्रा, बेलविवाह, पितृउद्दार एवं लाखवत्ती प्रज्जवलन जस्ता धार्मिक कार्यहरु संचालन भैरहेका छन् ।

यसैक्रममा महोत्सवको पहिलो दिन कलश यात्रा भब्यरुपमा सम्पन्न भएको छ सप्ताह महायज्ञमा  ५ सय १ वटा कलश नेपाली समुदायका व्यक्तित्वहरुले प्रति कलश  १ सय ८ डलर तिरेर सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक कलश राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा सजावट गरि कलश राखिएको र ति कलशहरु सात दिनसम्म अर्थात महायज्ञ अबधिभर सोहि स्थानमा रहने  त्यसपछी सम्बन्धित व्यक्तिलाई बुझाइने कलश ब्यबस्थापन समितिका एक संयोजक यमुना शर्माले गुरुकुल खबरलाई जानकारी दिईन।

कलश ब्यबस्थापनका लागि सृजन ताम्राकार सहित यमुना शर्मा, पुष्पलता पौडेल, अन्जिता श्रेष्ठ र कृष्णहरी घिमिरे, योगेन्द्र पराजुली र बिष्णु शर्मा सदस्य रहेर्को समिति गठन गरिएको छ समितिले ५ सय १ वटा कलश महायज्ञमा राख्ने र बिक्रि गर्ने लक्ष राखेको छ ।

कलश यात्रा पछि आयोजित औपचारिक कार्यक्रममा मेरील्याण्ड राज्यको बाल्टिमोर काउन्टीका प्रतिनिधि सहित नेपालबाट गएका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, मेरिल्याण्डका महावाणिज्यदूत प्रेमराजा महत, महायज्ञका प्रमुख बाचक तथा बाचन प्रबिण पण्डित दीनबन्धु पोखरेल, मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष डा श्याम कार्की र उपाध्यक्ष क्रिस घिमिरे लगायतले मन्दिरको आफ्नै भवनको ऋृण तिर्न, मूर्ति स्थापना गर्न, पार्किङ स्थल ब्यबस्थित गर्न, मूलगेट निर्माण गर्न , नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नको लागि पठनपाठन स्थल निर्माण गर्न, जेष्ठ नागरिकका लागि वस्ने स्थान बनाउन र  खेल मैदान बनाउन साथै अन्य बाँकि काम गर्न रकम संकलन गर्ने उद्धेस्यले महायज्ञ संचालन गरिएको बताए ।

महायज्ञ संचालन संगै त्यस क्षेत्रमा रहेका नेपाली युवा र बालबालिकाहरुलाई नेपाली परम्परा, धर्म र संस्कृतिको बारेमा समेत प्रत्यक्ष जानकारी पुर्याउने लक्ष राखिएको छ।

महायज्ञको पहिलो दिन बाल्टिमोरका समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिने घोषणा गरेका छन् । उनले यस अगाडी नै ५५ हजार डलर मन्दिरको लागि सहयोग गरेका थिए यसरी हेर्दा मन्दिरमा १ सय २५ हजार अमेरिकी डलर अर्थात सबै भन्दा ठुलो सहयोग गर्ने दाता समेत उनै केसी बनेका छन । सप्ताह ज्ञानमहायज्ञमा अन्य सहयोगदाताहरुबाट पनि सहयोग संकलन शुरु भएको छ र यो क्रम बढ्दै जाने बिश्वास आयोजकको  रहेको छ ।

पछिल्लो समय हिन्दु –बुद्ध मन्दिर, मेरिल्याण्ड एवं वरपर क्षेत्रमा बसोवास गर्ने र सनातन धर्ममा विश्वास राख्नेहरुकोे आस्थाको साझा थलोको रुपमा स्थापित भएको छ  । मन्दिरको स्थापना र बिकाशको लागि सन् २०१७ मा त्यस क्षेत्रका  ठुलो संख्यामा रहेका परोपकारीहरुले  विभिन्न किसिमबाट सहयोग गर्दै आएका छन् । मन्दिरप्रति अगाध श्रद्धा भएका अनुयायीहरुले आफ्ना घर धितोमा राखेर समेत मन्दिरलाई सघाएको मन्दिर समितिका उपाध्यक्ष कृष घिमिरेले गुरुकुल खबरलाइ बताए । उनका अनुसार मन्दिरलाई थप ब्यबस्थित र सुन्बिधा सम्पन्न बनाउन रकम जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।

यस पटक संचालित महायज्ञमा पनि आफूले चाहेको अनुष्ठान गरेर धार्मिक लाभ लिन सकिने र व्यक्तिगत रुपमा साप्ताह लगाउन अवसर नपाएकाहरुका लागि समेत यस पटक व्यवस्था मिलाइएको बुझिएको छ।

महायज्ञमा सहभागी हुन हुने भक्तजनहरुका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ ब्यबस्थापन समितिले प्रसाद बितरणको पनि प्रवन्ध गरेको छ । प्रसादको रुपमा सेल रोटी, खिर, पुरी तरकारी लगायतको परिकारको व्यवस्था गरिएको यमुना शर्माले जानकारी दिईन।

महायज्ञ सफल पार्न बाल्टिमोरमा रहेका विभिन्न सामाज र समुदायहरुले समेत आआफ्नो किसिमले सहयोग गरेका छन बाग्लुंग समाजले घर घरबाट बृद्ध र अशक्तहरु साथै सवारी साधन नभएकाहरुलाई मन्दिरसम्म लैजाने व्यबस्ठा गरेको छ भने म्याग्दी समाजले महायज्ञ स्थलमा जाने भक्तजनको सवारी साधनको पार्किंग ब्यबस्थापनको काम गरेको बुझिएको छ यसै गरि कास्की समाज, लम्जुंग समाज, गोर्खा समाज लगायत विभिन्न संस्थाले पनि विभिन्न जिम्मेवारी लिएर महायज्ञको लागि सहयोग गरेको छन।

पहिलोपटक श्रीमद्भागवत महायज्ञ सन् २०१७ मा गरिएको थियो। त्यस पटकको महायज्ञमा सहयोगदाताले प्रतिबद्दता गरेअनुसारको धेरै रकम उठिसकेको र केहि अझै उठ्न बाँकि छ। कानुनी दृष्टिकोणले मन्दिर निर्माणमा समस्या नरहेपनि स्थानीय छिमेकीको असहयोगका कारण  मन्दिरको बिकास क्रममा लामो समय र रकम खर्च भएको मन्दिरका ट्रश्टी केशव शर्माले जानकारी दिए। अहिले भने मन्दिरमा आबश्यक पर्ने निर्माण कार्य गर्ने स्वीकृति प्राप्त भएको बुझिएको छ।

मेरिल्याण्ड राज्यमा रहेका नौ वटा मन्दिरमध्ये बाल्टिमोर काउन्टीको उक्त मन्दिरको विकासका लागि आर्थिक सहयोग गर्ने दातासगै धेरै समय दिने स्वयसेवकको साथ उत्तिकै मिलेको मन्दिरका पुजारी कृष्णहरी घिमिरेले बताए।  उनका अनुसार सन् २०२३ यता भने मन्दिरमा आउने भक्तजनहरुको सहयोगबाट मन्दिरको खर्च चलेको छ ।

१९ चैत्र २०८०, सोमबार २०:३९ मा प्रकाशित
Nabintech