Play

केहि उत्साह र केहि चिन्तासंगै ‘पोखरा’ अब नेपालको पर्यटकीय राजधानी बन्दै !

राजधानी घोषणाको दिन पोखरा महानगर र मातहतका कार्यालयहरु बन्द रहने


गुरुकुल खबर


पोखरा ।  राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा महत्वपूर्ण पर्यटकीय नगरको रुपमा परिचित पोखरालाइ देशको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य मानिने पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आबश्यक तयारी करिब पुरा भएको छ।

चैत्र ४ गते आइतबार नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा उक्त घोषणा हुन लह्गेको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।

पोखराको लेकसाइड स्थित बाराहीचोकमा आयोजना गरिने समारोहमा घोषणा कार्यक्रम गरिने र त्यस अगाडी  स्थानीय वसुन्धरापार्कबाट  विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली  निकालिनेछ । “प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्‍यालीपछि समारोह हुनेछ । राजधानी शहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ” उनले भने ।

पर्रायटकीय राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउनका लागि नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको बताइन्छ ।

प्रदेश सरकारले आफ्नो राजधानी शहर पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत फागुनमा  प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी तयारी गरिएको बताए । पोखरा पर्यटनको पर्यावाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताए ।

“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ”, महानगर प्रमुख आचार्यले भने । उनले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताए।

चौबिसै घण्टा पोखरा खुला राख्ने निर्णयले ब्यबसायी उत्साहित  

यसैबीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । व्यवसायीले लामो समयदेखि राजधानी घोषणा गर्न माग गर्दै आएका थिए तर आबश्यक पुर्वाधार, आबश्यक नीति र कार्यक्रमहरु नबन्दा केहिले चिन्ता समेत ब्यक्त गरिरहेका छन् ।

तर पोखरालाई पर्यटनको राजधानी घोषणा  गरेसंगै पोखरा चौबिसै घण्टा खुल्ला राख्ने निर्णय जिल्ला प्रशासन कार्यालय कास्कीमा  शनिबार बिहान सरोकारवाला सहित बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेकोमा पर्यटन ब्यबसायी भने खुशी बनेको छन्  ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार निश्चित मापदण्ड पूरा गरेका मुख्य सहरी क्षेत्रलाई अहिले खुल्ला गरिने र त्यसपछि सिंगो पोखरालाई नै २४ सै घण्टा खुला गर्दैजाने निर्णय भएको छ ।

सुरुमा महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक नागढुंगाहुँदै मुस्ताङचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लनचोकसम्म २४ सै घण्टा खुल्ला राख्ने निर्णय भएको छ । खुल्ला हुने क्षेत्रका व्यवसायी मापदण्ड भने पूरा गर्नुपर्ने शर्त राखिएको छ ।

पोखरेलीलाई  चिन्ता पनि 

पोखरालाई पर्यटकीय राजधानी घोषणा संगै स्थानिय बासिन्दा र अन्यले समेत विभिन्न अपेक्षा गरेको भन्दै विभिन्न प्रतिक्रियाहरु सार्बजनिक भैरहेका छन् । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेको भएपनि अन्तराष्ट्रिय उडान हुन नसक्नु, पोखरा आउने पृथ्बीराजमार्ग र सिद्दार्थ राजमार्गको निर्माण प्रक्रिया सुस्त हुनु, पर्यटकहरु आवत जावत गर्ने सडक यातायात प्रभाबकारी नहुनु, फोहरमैलाको समुचित ब्यबस्थापन नहुनु, ट्राफिक ब्यबस्थापन, यातायात ब्यबस्थापन अस्तब्यस्त रहनु, स्थानीय पर्यटकीय गन्तब्यको खोजि र प्रबर्धन नहुनु, नया गन्तब्यको खोजि र प्रबर्धन, नया नीति र कार्यक्रम नहुनु र पर्यटकहरुले चाहे जस्तो र सोचेजस्तो आतिथ्यता प्रदान गर्ने तर्फ सम्बेदनशील नहुनु जस्ता कुराले पर्यटकीय राजधानी घोषणा कार्यक्रम कतै औपचारिकतामा मात्र सिमित हुनेहोकि भन्ने चिन्ता पनि थपिएको छ राजधानी घोषणा भएपछी स्थानीय बासिन्दाहरुलाई के के फाइदा पुग्ने र पर्यटकले थप सेवा सुबिधा के कस्तो पाउने भन्ने समेत स्पष्ट हुनुपर्नेमा कतिपयको जोड छ ।

महानगरपालिकाका कार्यालयहरु बन्द रहने 

यसैबीच पोखरा महानगरले चैत ४ गते आइतबार महानगर र मातहतका कार्यालयहरुमा बिदा दिएको छ । पोखरालाई पर्यटकिय राजधानी घोषणा गर्ने दिन कर्कामचारीहरु पनि कार्यक्रममा सहभागी बन्नुपर्ने र कार्यालयहरु बन्द रहने महानगरले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले घोषणा कार्यक्रममा सबै पोखरेलीको सक्रिय सहभागिता रहने भएकाले महानगर कार्यालय, वडा कार्यालय, शाखा, महाशाखाहरु बन्द गरिएको जनाएका छन् ।

पोखराको थप प्रवद्र्धन गर्न र पर्यटनकै माध्यमबाट विकास गर्ने उद्देश्यले औपचारिक रुपमा यसलाई पर्यटनको राजधानी घोषणा घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगको आयोजनामा हुने समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् ।

०७८ कात्तिकमा गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गरेको थियो । त्यसअघि नै पटक पटक पोखरा महानगरले पर्यटकीय राजधानी घोषणा गर्न संघ सरकारलाई औपचारिक प्रस्ताव पठाएको थियो ।

३ चैत्र २०८०, शनिबार २२:४४ मा प्रकाशित
Nabintech