Play

नेपाली काँग्रेसको महासमिति बैठक शुरु, संबिधान संसोधनबारे छलफल गरौँ तर गठबन्धनको निर्णय अहिले नै नगरौं – देउबा

गुरुकुल खबर


काठमाडौँ । नेपाली काँग्रेसको नीति महाधिबेशनको रुपमा मानिने महासमितिको बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ । महासमितिको  बैठकमा देशका ७७ जिल्लाबाट १ हजार ७ सय ८०, जनसम्पर्क समितिबाट ८९ जना, पार्टीका केन्द्रीय सदस्यहरु १ सय ६५ जना सहित भात्री संस्थाबाट प्रतिनिधित्व गर्नेहरु,  विभिन्न जिल्लाका सभापतिहरु समेत गरि २ हजार १ सय भन्दा बढी महासमिति सदस्य र अन्य गरि करिब २ हजार ५ सय जनाको सहभागिता रहेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उद्घाटन  गर्दै आगामी  निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा अहिले नै निर्णय गरिहाल्न उपयुक्त नभएको बताए । सभापति देउवाले  आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न उपयुक्त नभएको बताएका हुन् ।

पार्टीभित्र आगामी गठबन्धनबारे अहिले नै निर्क्योल गर्नुपर्ने मत आइरहेका बेला सभापति देउवाले जतिबेला गठबन्धनको आवश्यकता पर्छ त्यतिबेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताएका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले आफ्नो सांगठानिक प्रतिवेदनमा गठबन्धन गर्न नहुने प्रस्ताव महासमिति बैठकबाट लिनुपर्ने उल्लेख गरेपछि सभापति देउवाले सुरुमै गठबन्धन गर्ने कि नगर्ने भन्ने अहिले निर्णय गर्न नहुने बताएका हुन् ।

‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुन्छ । त्यसैले पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विभिन्न ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिनसक्नेछ’, देउवाको भनाइ छ ।

देउवाले नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा दृढ रहेको बताउंदै  संविधानको उचित कार्यान्वयनबाट मात्रै मुलुकमा सुशासन, विकास र शान्ति कायम हुनसक्ने बताए ।

‘संविधान जनताको आशा र भरोसाको विषय बन्नुपर्छ । संविधान कार्यान्वयनका सवालमा देखिएका अस्पष्टता पहिचान गर्नुपर्छ’, सभापति देउवाले भने, ‘शासकीय स्वरूपको मूलभूत विषयमा प्रतिकुल प्रभाव नपर्ने गरी संविधान संशोधनका लागि छलफल प्रारम्भ गर्नुपर्छ ।’

उनले अन्तरिम संविधानदेखि अहिलेसम्मको संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । उनले कांग्रेस लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले सुनिश्चित गरेकाले संविधानको सार्थक कार्यान्वयन कांग्रेसको मुख्य एजेन्डा भएको बताए ।

सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएकाले संविधानको रक्षाका लागि वर्तमान गठबन्धन र सरकार बनेको देउवाको भनाइ छ । उनले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएको र यसका गुण र दोष दुवै रहेकाले यस प्रणाली अन्तर्गत कुनै एक पार्टीले बहुमत ल्याउन असम्भव जस्तै रहेको बताए ।

आगामी निर्वाचनमा चुनाव अघि गठबन्धन गर्ने नगर्ने भन्ने कुरा त्यसैवेला निर्णय गर्ने भन्दै देउवाले आफ्नो पार्टी सङ्गठनात्मक रूपमा बलियो र जनताले भरोस र विश्वास गरेको पार्टी भएकाले जनताको भरोसा खण्डित गर्न दिन नहुने बताए ।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले  कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

गुरुङले जनताको मन जित्ने हो भने कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्ने हो भने आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्न सक्ने बताएका हुन् ।

‘वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्ने प्रस्ताव यो महासमितिमार्फत पास गरौँ’, गुरुङको प्रस्ताव छ । त्यस्तै उनले क्रोनी क्यापिटलिजमका कारण आर्थिक सुशासन कायम हुन नसकेको पनि बताए ।

उपसभापति गुरुङले नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापिटलिजमको प्रभाव नेपाली कांग्रेसमा समेत पर्दा सही बाटो पहिल्याउन नसकेको हो कि भन्ने आफूलाई लागेको बताएका छन् ।

‘क्रोनी क्यापिटलिजमका कारण नेपालमा नेताहरु व्यापारी र व्यापारी नेताजस्ता देखिए’, गुरुङले भने, ‘अबका दिनमा हामीले क्रोनी क्यापिटलिजमको विरुद्धमा एक ठाउँमा उभिएर अघि बढ्न सक्नपर्छ ।’

कानुन मन्त्री समेत रहेका गुरुङले क्रोनी क्यापिटललिजमकै कारण आर्थिक सुशासन कायम गर्न नसकिएको स्वीकार गरे । उनले जबसम्म मुलुकमा भ्रष्टाचार रहन्छ तबसम्म भुइमान्छेलाई माथि उठाउन नसकिने भन्दै तलका मानिसलाई माथि उठाउन पनि नसकिने बताए ।

महासमिति बैठकको उद्घाटन समारोहमा नेपाली काँग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय डिना, ललितपुर काँग्रेसका सभापति जितेन्द्र श्रेष्ठ र बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानिया लगायतली आफ्नो आफ्नो भनाइ राखेका थिए।

१४ औँ महाधिवेशनपछि कांग्रेसको महासमिति बैठक बसेको हो । पार्टीका नीतिगत दस्ताबेजमा छलफल गर्ने उद्देश्यले महासमिति बैठक बोलाइएको हो । जसमा विभिन्न दस्ताबेज पेस हुनेछन् ती दस्ताबेजहरूमा छलफल गरेर परिमार्जनसहित पास गरिने कांग्रेसले जनाएको छ ।

७ फाल्गुन २०८०, सोमबार १९:३२ मा प्रकाशित
Nabintech