Play

बाँदर आतंक अन्त्य गर्न र वन पैदावारको उपयोग सहज हुने निती बनाउन बनका उपभोक्ताको जोड

फेकोफन पोखरा - १९ को अध्यक्षमा अधिकारी


गुरुकुल खबर


पोखरा, वन समुहको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ पोखरा १९ को सम्पन्न भेलाले डोलराज अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ । सो समितिको उपाध्यक्ष पिताम्वर पौडेल, सचिव कविता आचार्य, कोषाध्यक्ष दुर्गा लम्साल आचार्य र सदस्यहरुमा गंगाबहादुर केसी, प्रोणराज बास्तोला,शिव पौडेल,मैया सुनार,सूर्यकला अधिकारी,मुकुन्द गौतम र भगवती बास्तोला रहेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १९ का वडाअध्यक्ष पुष्पेन्द्र पाण्डेले भेलाको उद्घाटन गर्दै वन क्षेत्रलाई उत्पादनसंग जोड्नुको विकल्प नभएको बताए । जंगलको विस्तारसंगै बाँदर लगायतका बन्यजन्तुले कृषकलाई गाउँमा वस्नै नसक्ने स्थिती सिर्जना भएकोमा चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणमा तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

डाँडाको टुप्पोबाट रुखमा चढेको बाँदर भुईमा नझरि रुखैरुख घरको छानोमा आउने गरि जंगलको विकास हुँदा स्थानीय वासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै वडा अध्यक्ष पाण्डेले  वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्ने , वन क्षेत्र जोगाउने गरि हाँगा काट्ने व्यवस्था गर्नुपर्ने र कानूनी प्रकृया मिलाएर मात्र वन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले दाउरालाई काठमा परिणत गर्ने खालको प्रविधि भित्र्याउन सम्वन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औंल्याए  मुलुकको वन क्षेत्रमा मुल्यवान काठ कुहिएर खेर जाने र विदेशी काठ, आलमुनियम, युपिभिसी जस्ता वस्तु आयात हुँदा बार्षिक खरवौ रुपैया विदेशीने अवस्थाको अन्त्य गर्दै हरित रोजगार सिर्जना गर्न गर्नका लागि सातै प्रदेशमा कम्पोजिट प्लाण्ट स्थापना गर्नुपर्नेमा उनले जोड दिए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारी तवरबाट समुहले कहा गल्ती गर्दछन् भनेर चियाउनु भन्दा उपभोक्तालाई अधिकारका सम्वन्धमा सचेत गराउनुपर्ने बताए ।

महासंघ अध्यक्ष कमल भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा वन महासंघ गण्डकी प्रदेश सदस्य जित बहादुर बस्नेत, महानगर महासंघ उपाध्यक्ष भरतराज आचार्य, जमुना सुवेदी लगाएतले वनको महत्व र उपयोगका बारेमा चर्चा गरेका थिए ।

भेलामा बाँदर आतंकको अन्त्य हुनुपर्ने माग सहित वन पैदावार सहजरुपमा उपयोग गर्ने नितीको खाँचो, वनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिनुपर्नेमा सहभागिको जोड थियो । वडाका २१ वटा सामुदायिक वन समुहका ६० जना उपभोक्ताको सहभागिता रहेको थियो ।

२६ माघ २०८०, शुक्रबार २०:३४ मा प्रकाशित
Nabintech