Play

आफ्नै कारणले काँग्रेस कमजोर बनेको भन्दै समुदायबाट कांग्रेसलाई विभिन्न सुझाब

सरकार ब्यबस्थित रुपमा चलाएर जनताको आर्थिक अबस्थामा सुधार गर्नुपर्छ- नेका केन्द्रीय सदस्य शाह


गुरुकुल खबर


पोखरा, नेपाली काँग्रेसको गाउँ तहका नेता कार्यकर्ता र समुदायका सदस्यहरुले निर्बाचित जनप्रतिनिधिहरुले जनताको अपेक्षा पुरा गर्न निरन्तर पहल गर्न र शुशासन अनि पारदर्शितामा जोड आग्रह गरेका छन्  । नेपाली काँग्रेसले संचालन गरिरहेको समुदायमा काँग्रेस अभियान अन्तर्गत विभिन्न गाउँ र टोल तथा समुदायमा भैरहेका अन्तरक्रिया कार्यक्रममा काँग्रेसका मतदाता सहित अन्यले पनि जनप्रतिनिधिहरुले राम्रो काम गरेमा त्यसको जस पार्टीलाई जाने भएकोले जनप्रतिनिधिहरु बढी जिम्मेवार बन्नुपर्नेमा उनीहरुको जोड छ ।

समुदायका सदस्यहरु सहित नेपाली काँग्रेसका कार्यकर्ताहरुले नेपाली काँग्रेसका जिल्ला र प्रदेश अनि केन्द्रबाट खटिएका प्रतिनिधि समक्ष पार्टीलाई अझ बलियो बनाउने हो भने पार्टीभित्र गुट-उपगुटको नाममा हुने आन्तरिक विवाद अन्त्य गर्नुपर्ने, केन्द्रीय नेतासहित माथिल्लो तहका नेताको नाम लिएर तल्लो तहमा गुट-उपगुट सिर्जना गर्न नहुने, पदमा नपुग्दा एउटा बोलि र पदमा पुगेपछि अर्को बोलि गर्न नहुने, पार्टी र विभिन्न तहको सरकारमा निर्बाचित हुनेहरुको लागि निश्चित समय वा पदावधि तोकिनुपर्ने, चुनाबमा नेपाली काँग्रेसले अरु पार्टीसंग गठबन्धन गर्न नहुने जस्ता कुरासमेत प्रतिनिधिहरुलाई सुझाएका छन् ।

कतिपय नेता कार्यकर्ताहरुले केन्द्रीय नेताको कार्यशैलीका कारण पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै पार्टी संगठनमा काम गर्ने भनि पार्टीमा पद लिने अनि चुनाब समेत लड्ने प्रवृतिका कारण पनि पार्टी कार्यकर्तामा निराशा आउने गरेको उल्लेख गरे ।

समुदायमा काँग्रेस अभियानको क्रममा कास्की जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरत कुमार शाह समक्ष पनि काँग्रेस कार्यकर्ताहरुले त्यस्तै गुनासो गरे । कास्कीको अन्नापुर्ण गाउँ पालिका वार्ड नम्बर ४ भदौरे सल्यानमा सोमबार पुगेका शाह समक्ष कार्यकर्ताहरुले गाउँमा बस्ने मानिसको संख्या घट्दै गएको, युवाहरु अवसरको खोजीमा विदेश पलायन भैरहेको, नेपाली काँग्रेसभित्र आन्तरिक गुटबन्दीको कारण विवाद देखिने गरेको, एउटा ब्यक्तिलाई धेरै पटक विभिन्न अवसर दिईने तर कतिपय योग्य र क्षमताबानलाई पार्टीबाट पाखा लगाउन खोजिने गरेको र उमेद्वार बनाउदा पनि क्षमता र योग्यतालाई ध्यान नदिईने गरेको भन्दै गुनासो गरे  ।

कार्यकर्ताहरुले आगामी दिनमा काँग्रेसले विभिन्न जातजाति र सम्प्रदायको कुरा सुनेर सोहि अनुसारको नीति बनाउन, युवाहरुलाई देश भित्र रहने बाताबरण बनाउन, आर्थिकरुपमा देशलाई समृद्ध बनाउने नीति ल्याउन, नेताहरु आफु मिलेर तलका कार्यकर्तालाई पनि तेही सन्देश दिन, बोलि र ब्यबहारमा फरक नगर्न, गाउँमा बिध्यमान समस्या समाधानमा पार्टीको सम्बन्धित तहबाट पहल गर्न, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई खबरदारी गरि जनहितमा काम गर्ने बनाउन र जनताका हरेक सवालमा पार्टीको सम्बन्धित तह बोल्न सक्ने बनाउन आबश्यक रहेको कुरामा जोड दिएका थिए ।

समुदायको कुरा सुनेपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरत कुमार शाहले काँग्रेसले सदैब आफ्नो कुरा जनतालाई सुनाउने गरेको तर यो पटक समुदायको कुरा सुन्न र बुझ्न काँग्रेस समुदायमा पुगेको बताए  ।

उनले नेपाली काँग्रेस जनताको सेवा गर्न जन्मेको पार्टी भएको कारण राजनीतिसंगै जनहितमा काम गर्न गम्भीर हुनुपर्नेमा जोड दिंदै देशको समग्र बिकासको लागि काँग्रेसले नै धेरै काम गरेको तर धेरै पटक सरकारमा बसेको र ठुलो पार्टी पनि काँग्रेस नै भएकोले जनताले स्वाभाविक रुपमा काँग्रेस प्रति नै गुनासो गर्ने स्पस्ट पारे ।

हामीले जनतासामु धेरै कुरा गर्छौं भनेको छौं तर सबै कुरा पुरा हुन नसक्दा हामीप्रति गुनासो र आक्रोश पनि छ, अरुले काँग्रेसले गरेन भनेर बिरोध मात्र गरिदिन्छन अनि जनताले पनि बिकल्प खोज्छन तर आखिर काँग्रेसको विकल्प बनेर आएका एमाले, माओबादी लगायतको बारेमा जनताले बुझिसके र अरु केहि नया पार्टीको बारेमा पनि जनताले बुझ्न धेरै कुर्नु पर्दैन- पूर्व अर्थ राज्यमन्त्री समेत रहेका शाहको भनाइ थियो ।

नेपाली काँग्रेसले महिला, दलित, जनजाती, पिछडिएको वर्ग र अरु सबै क्षेत्रको लागि रचनात्मक काम गरेको भए पनि अझै पूर्ण हुन नसकेको स्पस्ट पर्दै उनले देशमा अवसरको सिर्जना गरि जनताको आर्थिक अबस्थामा सुधार ल्याउन  र सरकार  ब्यबस्थित रुपमा चलाउन सके  जनताको निराशा स्वत आशामा परिणत हुने उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसको केन्द्रीय प्रचार प्रसार विभागका सदस्य गंगाधर पराजुलीले नेपाली कांग्रेसको इतिहास गर्व गर्न लायक भएपनि पछिल्लो समयमा राजनीतिमा देखिएका चुनौतीको सामना कसरी गर्ने भन्ने बारेमा समुदायको धारणा बुझ्न काँग्रेस समुदायमा आएको बताए ।

उनले राणा शासन र पंचायति शासन फाल्नमात्र नभएर माओबादीको सशस्त्र युद्ध अन्त्य गर्न, देशमा संबिधान जारी गर्न, संबिधानको रक्षा र कार्यान्वयनको लागि आवधिक निर्बाचन गर्न पनि काँग्रेस नै चाहिएको  स्मरण गराए । पछिल्लो समयमा राजनीति प्रति जनतामा बितृष्णा बढ्दै जाँदा कांग्रेसका नेता कार्यकर्ताको मनोबल पनि कमजोर देखिन लागेकोले समुदायमा काँग्रेसको संगठन कसरि सुद्रिढ़ गर्न  सकिन्छ भनेर यस किसिमको कार्यक्रम आयोजना गरिएको उनले बताए।

नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य मोहदत्त पोखरेलले कांग्रेसले आफ्नो कार्यदिशा राम्रो बनाउनुपर्ने, एक्लो भएर चुनाब लड्न डराउन नहुने र भ्रष्टाचारको बिरोधमा बोल्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसको तर्फबाट निर्बाचित वडासदस्य बिजय गुरुङले काँग्रेसका नेता कार्यकर्ता सुध्रिन जरुरि रहेको भन्दै काँग्रेसको जग बलियो बनाउन सबै अनुशासित बन्नुपर्ने बताए।

अन्नपुर्ण -४ का पूर्व वडाध्यक्ष भरत केसीले जनप्रतिनिधिले जनताको मन जित्ने गरि काम गर्न, काँग्रेसले आफ्ना कार्यकर्ताको सम्रक्षण गर्न र नेत्रित्वलाई गाली गर्नुभन्दा आफ्नो तहबाट सुध्रिन जरुरी रहेको बताए।

काँग्रेस नेता शुक्रराज पौडेलले वडा र टोलमा हुने बिकाश निर्माण र सामाजिक काममा काँग्रेसले नेत्रित्व लिनुपर्ने बताउदै बजेट दिने काँग्रेसको सरकार तर जस भने अरु पार्टीका कार्यकर्ताले लिने अवस्था भैरहेको बताए, उनले कांग्रेस भित्र गुट उपगुट हुनु लाई अस्वाभाविक रुपमा नलिन समेत आग्रह गरे ।

वडा सदस्य पशुपति केसीले सामाजिक विभेदको अन्त्य, गाउँमा बिकास निर्माण, बाटोघाटो, पुलपुलेसो निर्माण र बाँझो खेतबारीलाई उर्बर बनाउन काँग्रेस लाग्नुपर्ने बताइन।

सोहि वडाका वडाध्यक्ष आइन्दल गुरुङले कुनै पदमा सिमित समय मात्र बस्न मिल्ने व्यवस्था गर्न सके र आन्तरिक विवाद मिलाउन सके काँग्रेस बलियो हुने बिश्वास ब्यक्त गरे।

अर्का नेता आश बहादुर गुरुङले काँग्रेस लाई काँग्रेसले नै कम्जोर बनाएको टिप्पणी गरे उनले जनताको काम काँग्रेस कार्यकर्ताले गरिदिए जनता काँग्रेसकै पक्षमा हुने बताए वडा कार्य समितिका उपसभापति देबसिंह थापा ले आफुले अवसर पाए ठिक अरुले पाए बेठिक भन्ने प्रवृतिले काँग्रेस कमजोर देखिएको टिप्पणी गरे।

समाजसेवी चित्रमणि शर्माले पोखराबाट नजिक भएर पनि भदौरे सल्यान बिकासमा पछाडी परेको भन्दै रतिखोला तालको बिस्तार , झारकोट-लामाचौर-काउले सडक निर्माण र प्याराग्लाइदींगको उडान हुन सके विकास हुने बताए।

सोहि वडाको लागि जिल्लाबाट खटिएका प्रतिनिधि तथा पूर्व महाधिबेसन प्रतिनिधि मन बहादुर  बिश्वकर्माले  समुदायमा काँग्रेस अभियान बारेमा जानकारी गराएको उक्त कार्यक्रमममा वडा समितिका बरिष्ठ सल्लाहकार सन्त बहादुर क्षेत्री, काँग्रेसका क्षेत्रिय सहसचिब शितल अधिकारी, वडाका पूर्व सभापति अमर बहादुर खत्री, युवा नेता त़ाईकाजी गुरुङ, गौरी तिमिल्सेना, तारा पौडेल, छबिलाल पौडेल, मोतिलाल पौडेल, बुद्धिसागर पौडेल, वडा कार्य समितिका सचिब रामचन्द्र पौडेल, पूर्व सभापति झनक बहादुर क्षेत्री, प्रेम बहादुर गुरुङ, बिबेक गुरुङ, राधा पौडेल लगायतले आफ्नो भनाई राखेका थिए कार्यक्रमको सभापतित्व वडा कार्यसमितिका सभापति मन बहादुर क्षेत्रीले गरेका थिए।

समुदायमा काँग्रेस अभियानको क्रममा भदौरे सल्यान पुगेको टोलीले स्थानीय क्षेत्रको बिकास निर्माण, स्थानीय बिध्यालय, वडा कार्यलय सहित स्थानीय बासिन्दाहरु संग समेत भेटघाट गरेर विभिन्न जानकारी र सुझाबहरु लिएको बताइएको छ।

२३ माघ २०८०, मंगलवार ००:०७ मा प्रकाशित
Nabintech