Play

चौथो टाइगर कप महिला तथा पुरुष भलिबलको सम्पूर्ण तयारी पुरा

गुरुकुल खबर


पोखरा । चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने भएको जनाएको छ ।

प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिंदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा यहि माघ १ गते देखि ६ गते सम्म हुने उक्त प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी पक्का भएको हो । देशकै ठूलो धनराशी पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल दिउसो साढे साढे १ बजे सुरु हुनेछ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले सम्पूर्ण तयारी पुरा भएको जनाउँदै माघ १ देखि ६ गते सम्म पोखरा रंगशालामा आउन दर्शकहरुलाई आह्वान गरेका छन् ।

अध्यक्ष शर्माका अनुसार पोखरा रंगशाला भलिबल ट्र्ेनिङ सेन्टरमा करिव १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ भने सहभागि सबै महिला तथा पुरुष टिम पोखरा आइसकेका छन् । खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी चार खेल हुने आयोजकले जनाएको छ ।

नेपाल भलिबल संघको स्विकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस क्लव, नेपाल आर्मीको त्रिभुवन क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने  टाइगर क्लबका महासचिब प्रकाश बरालले दिएका छन्

त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक पोखरा आएको छ । प्रतियोगितामा सहभागि हेल्प नेपाल स्पोर्टस क्लवले समेत तीन जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ संगै तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लवले सहभागिता जनाउने छन् ।

खेल तालिका अनुसार लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन माघ १ गते ३ गते सम्म हरेक दिन महिलातर्फ दुई र पुरुषतर्फ गरी चार खेल हुनेछन् ।

महिलातर्फ पहिलो दिन माघ १ गते विभागिय टोली एपिएफ क्लवले नेपाल पुलिस क्लवको सामना गर्ने छ भने दोश्रो खेल त्रिभुवन आर्मी क्लव र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवका विच हुनेछ । पुरुषतर्फको पहिलो खेल मध्यान्हमा दुई विभागिय टोली एपिएफ क्लव र नेपाल पुलिस क्लवका विच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुने छ ।

त्यसै गरी माघ २ गते महिलातर्फ महिलातर्फ गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोश्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लव र हरियाणा टिम भारतका विच हुनेछ । त्यस्तै पुरुषतर्फको पहिलो लिग खेल श्रीलंका आर्मी टिम र एपिएफ क्लव तथा दोश्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लवका विच हुने भएको छ ।

माघ ३ गते महिलातर्फ एपिएफ क्लव र गण्डकी प्रदेशका विच हुने छ भने दोश्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लवले हरियाणा पुलिस क्लवको सामना गर्नेछ । यता पुरुषतर्फ सोही दिन लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लव र श्रीलंका आर्मी टिमका विच तथा दोश्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेश आमने सामने हुनेछन् ।

खेल तालिका अनुसार माघ ४ गते महिला र पुरुष दुबैतर्फ समीफाइनलका खेलहरु सञ्चालन हुनेछन् भने माघ ५ गते तेश्रो र चौथो हुने टिमको टुङ्गो लाग्नेछ । माघ ६ गते महिला र पुरुषतर्फ फाइनल खेल सञ्चालन हुने छ ।

२९ पुष २०८०, आईतवार १९:०९ मा प्रकाशित
Nabintech