Play

नेपाली कांग्रेसका नेता कोइराला-थापा पक्षको ‘गुट बैठक’, गगनजीसँग एजेन्डामा मेरो मतभेद छैन, साथीहरूले आशंका नगर्नू: कोइराला

गुरुकुल खबर


नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले काठमाडौंको बत्तिसपुतलीमा बुधबार बैठक गरेका छन्। करिब एक वर्षपछि कोइराला-थापा पक्षले ‘गुट बैठक’ गरेका हुन्।

२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा कोइराला समूहबाट जितेका पदाधिकारी, हारेका नेताहरू, प्रदेश सभापतिहरू, पार्टी केन्द्रीय सदस्यहरू र सांसदहरू गरी ४५ जना बैठकमा सहभागी रहे। उपस्थित भएकामध्ये अधिकांशले सुझावसहित धारणा राखेका छन्। बैठक सुरू गर्दै नेता कोइरालाले तीन मिनेटभित्र आफ्ना कुरा राख्न आग्रह गरेका थिए।

कोइरालाले मुख्यगरी महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, समसामयिक राजनीति, आन्तरिक विषयमा सुझावसहित कुरा राख्न समय दिएअनुसार पालैपालो नेताहरूले धारणा राखे। एउटा विषय भने कोइरालाले सुरूमै टुंग्याउन खोजेका थिए- गगनसँग सम्बन्ध सुमधुर रहेको जिकीर उनको छ। ‘गगनजीसँग एजेन्डामा मेरो मतभेद छैन, साथीहरूले आशंका नगर्नू,’ उनले भने।

यसपछि सहभागीहरूले धारणा राख्न थाले। मुख्य गरी पाँच विषयमा सहभागीले धारणा राखेका थिए।

१. राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छान्दा मापदण्ड बनाउनुपर्ने

२. महासमिति बैठक तोकिएको समयमै गर्नुपर्ने

३. समूहको बैठक कम्तीमा एक महिनामा बस्ने

४. १५ औं महाधिवेशनसम्म एकताबद्ध भई जाने, तल्लो तहसम्म एकताकै सन्देश दिने

५. भ्रष्टाचारविरूद्ध आवाज उठाउनुपर्ने, सुशासनमा सम्झौता गर्न नहुने

नेता गुरूराज घिमिरेले आन्तरिक गुट व्यवस्थापनलगायत कुरा राखेका थिए। ‘गिरिजाबाबु, सुशीलदाका बेलामा पनि गुटभित्र असमझदारी देखा पर्दथे तर व्यवस्थापन गरी उहाँहरू अघि बढ्नुहुन्थ्यो,’ उनले भने, ‘व्यवस्थापन गर्ने कि यसभित्र खेल्ने सुविधा दिइरहने?’

उनले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार तय गर्दा पार्टीले मापदण्ड बनाउनुपर्ने बताए।‘०४८ सालदेखि चुनाव लडेका, जितेका र सत्ता वरिपरि बसेकाहरूलाई नै फेरि पनि अवसर दिने हो कि पार्टीमा काम गरेका, राष्ट्रिय सभाको मर्मअनुसार काम गर्नेलाई पनि समेट्ने हो?  मापदण्ड बनाउनुपर्छ,’ उनले भने।

उनले संस्थापनइतर पक्षले सभापति देउवाको कार्यशैली लगायतमा प्रश्न उठान गरिरहेको तर आफूले पनि कार्यशैली सुधार गर्न नसकेको देखिएको बताए। ‘शेरबहादुर दाइ र हामीबीच फरक के त? विधान पालना, निर्णय प्रक्रिया, अवसरका वितरण, कार्यशैली र जीवनशैलीमा फरक के छ?,’ बैठकमा घिमिरेले भने, ‘हामी झन् खराब देखियौं भने त सभापति देउवालाई खराब भन्ने नैतिक आधार पनि रहन्न नि होइन?’

उनले कोशीका मुख्यमन्त्री केदार कार्कीले केही दिनअघि ओखलढुंगामा दिएको अभिव्यक्तिबारे पनि प्रश्न उठान गरे। ‘एउटै मञ्चमा रहेका महामन्त्रीलाई गाली गर्ने विशेष छुट कसैलाई दिइएको छ?,’ उनले प्रश्न गरे, ‘म र महामन्त्रीमाथि गाली गरिएछ। तर मुख्यमन्त्री भएपछि उहाँले कति काम गर्नुभयो? मन्त्रिपरिषद पूर्णता दिनुभयो?’

उनले पार्टी विधान संशोधनका कुरा उठेकोबारे पनि कुरा निकालेका थिए। अहिले सहमहामन्त्रीमा महिला आरक्षण रहेको र उपसभापति तथा महामन्त्रीमा पनि महिला ल्याउनुपर्ने कुरा उठेकोबारे प्रष्ट पार्नुपर्ने उनले बताएका थिए।

प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले आन्तरिक एकतामा जोड दिए। शेखर र गगन दुवैले हतार वा लोभ गर्न नहुने उनले बताए। ‘हतार र लोभ कसैले पनि गर्न हुँदैन, सहकार्यको आवश्यकता छ,’ बजगाईले भने। उनले कांग्रेस सम्मिलित सरकारले एनसेललगायत अनियमितता भएका सबै प्रकरणहरूमा कानुनी कारबाही गर्न पार्टी दह्रोसँग उभिनुपर्ने बताएका थिए।

नेता भूपेन्द्रजंग शाहीले पार्टी र समूहभित्रबाट पनि न्यायोचित व्यवहार हुनुपर्ने बताए। ‘अवसर आएका बेला कुनै नेताले खल्तीबाट नाम दिने होइन, समूहमा छलफल गरेर निर्णय गरिनुपर्छ,’ उनले भने, ‘राष्ट्रिय सभा चुनाव आउँदैछ, पार्टी र समूहभित्र पनि न्यायोचित व्यवहार होस्।’ उनले नेताहरू मिलेर जानुको विकल्प नरहेको बताए।

नेता जगदीश्वरनरसिंह केसीले अवसर नपाएकाहरूलाई राष्ट्रिय सभामा पठाउन पहल गर्नुपर्ने र त्यसका लागि मापदण्ड तय गर्न सुझाव दिए। ‘पटक-पटक अवसर पाएकालाई नै फेरि पार्टीले राष्ट्रिय सभामा लैजाने हो भने यो समूहले हाम्रो उपस्थिति नहुन पनि सक्छ भनेर सभापतिलाई प्रष्ट भन्न सक्नुपर्छ,’ उनले भने, ‘दु:ख पाएकाहरू र संविधानको मर्मलाई बुझ्न सक्नेलाई राष्ट्रिय सभामा लैजानुपर्छ, मन्त्री भइसकेकाहरूलाई अवसर दिन हुन्न।’

केसीले नेता कोइराला र थापाबीच असहमति देखिएका खबरले कार्यकर्तापङ्ति निराश देखिएको कुरा पनि बैठकमा राखेका थिए। ‘कोइराला र थापाको उपस्थितिमा हामी एक छौं, १५ औं महाधिवेशनसम्म एक नै भएर जान्छौं भनेर तपाईंहरूले दह्रोसँग कुरा राख्नुपर्छ,’ केसीले भने, ‘कार्यकर्तापङ्तिमा नकरात्मक सन्देश गइरहेको छ।’

मन्त्री छान्दा नेता कोइरालाले समूहमा छलफल नगरेको विषय पनि उठेको थियो। ‘यो समूहले जे प्राप्त गर्छ सामूहिक निर्णय गर्नुस् भनेर खबरदारी गरिएको छ,’ केसीले भने, ‘व्यक्तिले नाम दिने र समूहलाई बिथोल्ने काम जसले गर्छ कार्यकर्ताले हेरेर बसेका छन्, उपयुक्त समयमा बोल्छन्।’

पार्टीभित्र आन्तरिक व्यवस्थापनमा गर्नुपर्ने सुधारबारे छलफल गरिएको नेता अर्जुननरसिंह केसीले बताए। उनले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म गरिनुपर्नेमा जोड दिए। ‘महासमितिमा हाम्रो समूहबाट पार्टी रूपान्तरण, वैचारिक पुनर्जागरण, उदार अभियान र जनताका समस्या हल गर्ने कुरालाई महत्वका साथ उठाउनुपर्छ,’ उनले सुझाव दिँदै भने, ‘मेरो र तेरो मानिसभन्दा पनि निश्चित मापदण्ड बनाएर राष्ट्रिय सभा उम्मेदवार छानौं।’

उनले कस्ता मानिसलाई राष्ट्रिय सभामा लैजाने भन्ने पार्टीले मापदण्ड बनाउनुपर्ने बताए। ‘कुनै नेता, समूह वा व्यक्तिका मन पर्ने वा नपर्ने कुरामाभन्दा मापदण्ड बनाएर जानुपर्छ,’ उनले भने, ‘पार्टी सुधार अभियन्ताका रूपमा यो समूह अघि बढ्नुपर्छ।’ उनले समूहभित्र ठूलो विवाद देखा नपरेको दाबी गरे। ‘गुटभित्र कुनै फाटो आएको छैन। हामी लोकतन्त्रवादी हौं, यो भनेको वाद-प्रतिवाद र संवादकै प्रक्रिया हो,’ उनले भने, ‘विचारहरू आउँछ, विमति पनि हुन्छ।’

पछिल्लो समय कोइराला र थापाबीच देखिएको असमझदारी हल गर्न केसीले समन्वयकारी भूमिका पनि खेलेका थिए।

महामन्त्री गगन थापाले १४ औं महाधिवेशन ०८२ मै हुने सुनिश्चितताका लागि पनि संसदीय दल नेता फेर्न लाग्नुपर्ने बताए।

‘पार्टी नेतृत्वको अहिलेको काम गराई हेर्दा ०८२ मा १५ औं महाधिवेशन हुने सम्भावना देखिँदैन, हामीले त सक्दो कोसिस गरिराखिएको छ,’ थापाले बैठकमा भने, ‘त्यसैले जतिसक्दो छिटो संसदीय दल नेता परिवर्तन गरौं। जो संसदीय दल नेता भए पनि हुन्छ। सबै मिल्ने हो भने शेखर कोइरालालाई संसदीय दल नेता बनाएर जान पनि सकिन्छ।’

२०७९ पुस ६ मा भएको चुनावमा शेरबहादुर देउवासँग थापा संसदीय दल नेतामा प्रतिस्पर्धा गरेका थिए। त्यसबेला थापालाई हराउँदै देउवा विजयी भएका थिए। अहिले संसदीय दल नेता परिवर्तन गर्न सके समयमै महाधिवेशन गर्न दबाब पुग्ने थापाको भनाइ छ। महामन्त्री थापा यसपालि राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार बनाउँदा पार्टीले मापदण्ड तय गर्ने र न्यायोचित हुने गरी काम गर्नुपर्ने बताउँछन्।

‘यसपालि राष्ट्रिय सभा टिकट बाँड्दा सभापति सिंगो कांग्रेसकै सभापति बन्न सक्नुहुन्छ कि हुन्न? सभापति सिंगो कांग्रेसको सभापति बनाउने गरी हाम्रो तर्फबाट प्रेरित गर्ने र दवाव दिने काम गर्नुपर्छ,’ उनले भने।

उनले महासमिति बैठक तोकिएको समयमै गरिनुपर्ने बताए। ‘महासमितिले राजनीतिक, सांगठानिक रूपमा दिशानिर्देश गर्ने कुरा के-के छन् भन्नेबारे पनि आज छलफल भयो,’ उनले भने, ‘यसबारे थप छलफल पनि हुन्छ।’

उनले सुशासनको विषयबारे पनि छलफल भएको बताए। ‘हामीले सुशासनका बारेमा पनि छलफल गरियो। एकपछि अर्का काण्ड आउने, कांग्रेस सरकारमै रहने। यी विषयलाई सामान्य रूपमा लिन हुँदैन,’ उनले भने, ‘संगठित ढंगले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा लाग्नुपर्छ।’ उनले समूहभित्र संवादको कमी भएको कुरा सबैले स्वीकार गरेको बताए।

‘हामी महिनौंपछि बैठक बस्यौं। एकअर्कासँग गरिने र सामूहिक संवाद तथा केन्द्रीय सदस्य, सांसद र बाहिर सयौं साथीहरू हुनुहुन्छ, उहाँहरूसँग गरिने संवाद असाध्यै कमी भयो। जहाँ संवाद कम हुन्छ त्यहाँभित्र धेरै असमझदारी विकास हुन्छ,’ उनले भने, ‘नियमित छलफल गर्ने। कतिपय विषयलाई हेर्ने फरक मत हुन्छन् तर एक ठाउँ बसेर सबैलाई चित्त बुझाउने गरी जाने कुरा भएको छ।’ कार्यशैलीगत रूपमा देखिएका कमजोरीलाई संवादबाटै हल गरिने थापा बताउँछन्।

उपसभापति धनराज गुरूङले पनि पार्टीले राष्ट्रिय सभामा नयाँलाई अवसर दिनुपर्ने बताए। ‘पटक-पटक अवसर पाएकालाई भन्दा कहिल्यै अवसर नपाएकालाई राष्ट्रिय सभामा लैजानुपर्छ,’ उनले भने। उनले गुटभित्रका विवादभन्दा पनि महासमिति बैठकलगायत विषयबारे छलफल गर्न कुराकानी गरेको बताएका थिए।

सबैका कुरा सुनेपछि नेता शेखर कोइरालाले यो नियमित बैठक भएको प्रतिक्रिया दिए। ‘यो नियमित बैठक हो। पहिले पनि बैठक गरेको हो। केही महिनादेखि बैठक बसेको थिएन। मिडियाले लिएजस्तो चिन्तित भएर यो विषयलाई लिनुपर्ने आवश्कता म देख्दिनँ,’ उनले भने।

भिडिओ: 

आन्तरिक रूपमा पनि विभिन्न विषयमा छलफल भइरहेको दाबी उनको थियो। ‘कांग्रेस ठिक चलिरहेको छैन, देश ठिक रूपमा चलिरहेको छैन भनेर कुराकानी गरेको हो,’ उनले भने, ‘हाम्रो समूह ठिकसँगै चलेको छ, कसैले केही कुरा उठाउन त पाउनुहुन्छ।’

उनले राष्ट्रिय सभा उम्मेदवार बनाउँदा निश्चित मापदण्ड बनाउनुपर्ने बैठकले निष्कर्ष निकालेको बताए। उनले महामन्त्री थापासँग कुनै मतभेद नरहेको कोइराला दाबी गर्छन्।

‘एजेन्डामा महामन्त्रीजी र मेरोमा एक इन्च पनि फरक छैन,’ कोइरालाले भने, ‘के हुन्छ भने उहाँ (गगन) को उमेर र मेरो फरक छ। उहाँ र मेरो सोचाइ फरक छ, यो हरेक दुई जनामा फरक देखिन्छ, स्वभाविक हो।’

Sent

२७ मंसिर २०८०, बुधबार १९:४१ मा प्रकाशित
Nabintech