Play

युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

गुरुकुल खबर


पोखरा, पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार (आज)बाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् ।

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा सुरु भएको छात्र/छात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए ।

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ होली एन्जल स्कुल संग प्रतिस्पर्धा गर्ने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।

यस अघि भएको सेमीफाइनलमा छात्रतर्फ कालिकाले एकता वोर्डिङलाई २५–९ र २५–१४ को सोझो सेटमा पराजित गरि फाइनलमा प्रवेश गरेको थियो भने छात्रातर्फ कालिकाले एकतालाई २५–१३ र २५–२२ ले जित्दै फाइनलको यात्रा तय गरेको थियो ।

छात्र÷छात्रा भलिबलमा कालिका, होली एन्जल, शिलशिला, स्माइल हेभन, गेफ, पिनाकल र एकता वोर्डिङ स्कुलको सहभागिता रहेको थियो ।

मंसिर १६ गते सम्म हुने खेल महोत्सव अन्तर्गत छात्र/छात्रा भलिबल, छात्र फुटबल, छात्रा/छात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन १४ गते हुनेछ ।

प्रतियोगिता अन्तर्गत मावी स्तरिय (कक्षा ९–१०),छात्र फुटबल छात्र/छात्रा मावी स्तरिय भलिबल, मावी स्तरिय छात्रा खोखो, आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी, एथलेटिक्स छात्र÷छात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक नेपालीले जनाए ।

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक सुवेदीले बताए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने सुवेदीले जानकारी दिए ।

कोभिडका कारण विगत तिन वर्ष देखि युनिप्स खेल महोत्सव स्थगित रहेको थियो ।

१२ मंसिर २०८०, मंगलवार १३:३३ मा प्रकाशित
Nabintech