Play

पोखरा १५ अन्तरविद्यालय दौडमा शुभताराका प्रकाश र भ्यू पोइन्टकी सजिना प्रथम

गुरुकुल खबर


पोखरा महानगरपालिका वडा नंं. १५ कार्यालयले शनिबार आयोजना गरेको अन्तर विद्यालय सडक दौड प्रतियोगितामा छात्रतर्फ शुभतारा थ्री एन्जल्सका प्रकाश डाँगी र छात्रातर्फ भ्यू पोइन्ट स्कूलकी सजिना सुनार प्रथम भएकी छन् ।

वडाका १५ विद्यालयका करिब २५० विद्यार्थीले भाग लिएको प्रतियोगितामा छात्रतर्फ केल्स एकेडेमीका देव कुँवर द्वितीय, एसओएस हर्मन माइनरका टिजन बुढामगर तृतीय भए भने गौरब बुढामगर र गणेश भट्टचनले सान्त्वना स्थान प्राप्त गरे । छात्रतर्फ मात्रै करिब १ सय ५० विद्यार्थी सहभागी थिए ।

यस्तै, करिब एक सय छात्रा सहभागी प्रतियोगितामा शुभतारा थ्री एन्जल्सकी अप्सरा बिक द्वितीय, सिद्ध माविकी रचना चौधरी तृतीय र सिद्धकै श्रेया थापा र कृतिका भण्डारी सान्त्वना भइन् ।

छात्र तथा छात्रा दुवैतर्फ प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई नगद ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार साथमा मेडल र प्रमाणपत्रले पुरस्कृत गरियो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लाग खेलकुद’ भन्ने मूल नाराका साथ वडा नं. १५ को वडा कार्यालय परिसरबाट प्रतियोगिता सुरु भएको थियो ।

प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले वडा नं. १५ खेलकुद गतिवधिमा अग्रपंक्तिमा रहेको बताए । उनले धेरै बजेट खेलकुदमा छुट्याएर विभिन्न प्रतियोगिता गर्दै वडालाई स्वस्थ र युवा, विद्यार्थीमैत्री बनाएकोमा खुशी व्यक्त गरे । सांसद बरालले स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा भएकाले यसले स्वस्थ समाजसँगै राष्ट्र निर्माणमा टेवा पुग्ने बताए ।

वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधार विकासमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता र युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताए।

उनले बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने भन्दै यस्ता प्रतियोगिताले वडामा रहेका विद्यालय र विद्यार्थीबीच आपसी सम्बन्ध बढाउने बताए ।

कार्यक्रमका संयोजक तथा पोखरा १५ का सदस्य आशिष भण्डारीले गत वर्ष पनि संविधान दिवसको अवसर पारेर विद्यार्थीहरूबीच यही प्रतियोगिता गरेको र अहिले पनि निरन्तरता दिएको बताए ।

यस्ता प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्नुका साथै भावनात्मक एकतालाई प्रगाढ बनाउँदै स्वच्छ र शान्त वडा बनाउनको निम्ति सन्देश प्रवाह गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य मन्दिरा परियार, सदस्य बलराम पौडेल, सेतीमाया गुरुङ, निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो।

१० मंसिर २०८०, आईतवार १६:०८ मा प्रकाशित
Nabintech