Play

मेरिल्याण्डको फेम्ली किचेनमा प्रकाश सपुत नाइट हुँदै

गुरुकुल खबर


मेरिल्याण्ड, नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय उदाएर पनि दर्शकमाझ लोकप्रिय मानिने कलाकार प्रकाश सपुत केही समयदेखि अमेरिकाको विभिन्न राज्यमा सांगितिक कार्यक्रमको लागि व्यस्त छन् ।

गत अक्टोबरमा अमेरिका आएका गायक प्रकाशले अमेरिकाको टेक्सास र पेन्सलभानिया लगायतका स्थानमा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका छन् । यसै क्रममा गायक प्रकाशले शनिवार र आईतबार अर्थात् नोभेम्बर ११ र १२ गते मेरिल्याण्ड राज्यको हेरिसबर्गमा र पेरिहलमा आफ्नो गायन सहितको प्रस्तुती दिंदै छन् ।

मेरिल्याण्डको पेरिहल स्थित फेम्ली किचनमा आईतबार हुने कार्यक्रमलाई “प्रकाश सपुतसँग तिहार नाईट” नाम दिईएको छ । गलबन्दी, बोल माया, सकम्बरी, कुरा बुझ्नुपर्छ जस्ता विभिन्न बोलका गीत सृजना गरेर साथै त्यस्ता गीत गाएपछि उनी निरन्तर चर्चामा छन् । गीत संगितबाट अगाड़ी बढेका प्रकाश पछिल्लो समयमा भने नेपाली चलचित्र परदेशी –२ को नायकको भुमिकामा ठूलो पर्दामा देखिन पुगे । अग्रज कलाकार नारायण रायमाझीले निर्देशन गरेको उक्त चलचित्रमा कलाकार प्रकाशसँगै नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकारहरु समेत विभिन्न भुमिकामा रहेका छन् ।

उनै लोकप्रिय कलाकार प्रकाशसँग यही नोभेम्बर १२ गते आईतबार मेरिल्याण्डको पेरिहल स्थित फेम्ली किचनको हलमा “प्रकाश सपुत नाईट” कार्यक्रम राखिएको र सबै तयारी पूरा भएको फेम्ली किचनका संचालक निर बहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए । करिब तीन महिना अगाडीबाट संचालनमा आएको फेम्ली किचन विभिन्न सभा, समारोह, सांगितिक एवं अन्य कार्यक्रम गर्न उपयुक्त स्थल बनेको छ ।

“प्रकाश सपुत नाईट”कार्यक्रममा पेरिहल आसपास र मेरिल्याण्डको विभिन्न स्थानबाट करिव ३ सय जना गीत संगितका पारखी दर्शकहरु सहभागी बन्ने अपेक्षा गरिएको छ । कार्यक्रममा आउने दर्शकका लागि ३५ डलर प्रवेश शुल्क राखिएपनि सोही रकमबाट दर्शकहरुलाई डिनरको समेत व्यवस्था गरिएको संचालक थापाले जानकारी दिए ।

२५ कार्तिक २०८०, शनिबार १२:१३ मा प्रकाशित
Nabintech