Play

पूर्व जोड्ने हवाई सेवा सुचारु गर्न व्यवसायी एकमत

गुरुकुल खबर


विराटनगर, १८ कात्तिक : पोखराबाट पूर्वी नेपालका विभिन्न शहरसम्म विगतमा हुँदै आएको सिधा हवाई सेवालाई पुन: सुचारु गर्न व्यवसायी एकमत देखिएका छन् ।

१६ कात्तिकबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेस्रो दिन शनिबार पुर्वी नेपालको औद्योगिक शहर विराटनगरमा आयोजित पत्रकार सम्मेलन एबं अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु आन्तरिक पर्यटन प्रबर्द्धनबारे चर्चा गर्दै थिए ।

२०७६ को माघ महिनामा विराटनगर र गएको फागुन महिनामा झापाको भद्रपुरबाट पोखरा जोड्ने गरी सुरु गरिएका सिधा उडान सेवा विगतदेखी नै स्थगित छन् । पर्यटनका लागि पहुँच (कनेक्टिभिटी) महत्वपूर्ण हुने कारण सिधा हवाई सेवा पुन: सुचारु गर्न जरुरी देखिएको अभियानको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पूर्वी नेपालका विभिन्न शहरबाट पोखरा सम्म सिधा उडान सेवा र स्तरीय पर्यटक बस सेवा संचालन गर्न पुन: पहल अगाडि बढाउनुपर्नेमा अध्यक्ष सुवेदीले जोड दिए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले आबश्यक तयारी गरी पूर्वबाट पोखरा सम्मको सिधा उडान सेवा सुचारु गरिनु पर्ने सुझाव राखे । सेवा दिगो हुन त्यसको निरन्तरता ठूलो कुरा भएको उनले बताए ।

कार्यक्रममा बोल्दै होटल संघ नेपाल कोशी प्रदेशका अध्यक्ष राजन श्रेष्ठले पोखरासम्म सिधा हवाई सेवा संचालन हुन नसक्नुका कम्जोरीहरु समीक्षा गरी सेवा पुन: सुचारु गर्नु अघि सिमावर्ती भारतीय शहरमा पनि सेवाबारे प्रचारप्रशार गरिनुपर्ने सुझाव राखे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन भएको बताउँदै पर्यटनका लागि हवाई र स्तरीय बस सेवाको आबश्यकता औंल्याए । पुर्वी नेपालबाट आन्तरिक र भारतीय पर्यटक पोखरा पुर्‍याउन कनेक्टिभिटि महत्वपूर्ण पक्ष भएको उनले बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले हवाई सेवा संचालनलाई दिगो बनाउन पालिकाहरुले प्रति यात्रु सब्सिडिज रकम उपलब्ध गराउनुपर्ने सुझाव राखे ।

पूर्वका व्यवसायी भविशकुमार श्रेष्ठले पोखराबाट पूर्वी नेपालका शहरसम्म सिधा स्तरीय बस सेवा संचालनका लागि पोखराका व्यववसायीसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्दै होटल संघ पोखरा नेपालले कात्तिक २० गते सम्म संचालन गर्ने गरी सुरु गरेको पाँच दिने अभियान अन्तर्गत जनकपुर, बिराटनगर, बिर्तामोड, धनकुटा र चितवन लगायतका स्थल समेटिएका छन् । पोखरा महानगरपालिकाले यो अभियानलाई प्रबर्द्धन गरेको छ । दुई दशक अघि सुरु गरिएको जाउँ है पोखरा अभियानकै कारण हाल पोखरा घुम्ने आन्तरिक पर्यटकको दर कूल पर्यटकको ३५ प्रतिशत पुगेको संघका अध्यक्ष सुवेदीले जानकारी दिए ।

कार्यक्रमको संचालन होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

यसअघि शुक्रबार इटहरीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा राज्यले होटल क्षेत्रलाई हेर्नुपर्ने दृष्टिकोण परिवर्तन हुनु पर्ने माग गर्दै पर्यटन क्षेत्रलाई उद्धोग सरहको मान्यता र सुविधा दिनु पर्ने माग व्यवसायीले गरे ।

१८ कार्तिक २०८०, शनिबार १४:५३ मा प्रकाशित
Nabintech