Play

महानगरको पहिलो चरणको सफाइ अभियान सम्पन्न

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाको व्यवस्थापनमा सप्ताहव्यापी सफाइ अभियान शनिवार सकिएको छ । अभियानका क्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा सरसफाइका कार्यक्रमहरू गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ । अघिल्लो शनिवार पोखरा १९ लामाचौर स्थित प्रसिद्ध शक्तिपिठ अकलादेवी मन्दिर परिसरबाट सुरु गरिएको पहिलो चरणको सफाइ अभियान पोखरा १३ मियाँपाटन स्थित जामे मस्जिदे अक्सा परिसर सरसफाइसँगै टुङ्गिएको हो । यद्यपि, महानगरपालिकाको नियमित सफाइको कार्य भने जारी नै रहनेछ ।

नजिकिँदै गरेको चाडपर्वको पुर्वसन्ध्यामा धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरू मठमन्दिरहरू, मस्जिद, गुम्बा लगायत सडक, खोलानाला, सार्वजनिक चोक चौतारा र खुला स्थानहरूमा सरसफाइ गर्ने प्रचलनलाई निरन्तरता दिँदै सफाइ अभियान सञ्चालन गरिएको हो । यस अभियानले पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पर्यावरणीय स्वच्छता प्रदान गर्नुका साथै नगरवासीहरूमा सफाइ प्रति सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

पछिल्लो समय नगर क्षेत्रमा डेङ्गी लगायत मौसमी सङ्क्रमणहरूको जोखिम बढिरहेकाले यसको नियन्त्रण तथा रोकथामका लागि फोहरको उचित व्यवस्थापन प्रति जागरण ल्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको महानगरपालिकाको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताइन्। उनका अनुसार सयौँ टन फोहोर सङ्कलन गरिएको अभियानमा टोल विकास संस्था, आमा समूह, महिला सञ्जाल, युवा क्लब, नागरिक समाज, सुरक्षा निकाय, महानगर प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका लगायत हजारौँ अभियान्ताहरुले सहभागिता जनाएका छन् । सरसफाइ प्रतिको नागरिक जागरणमा यसले महत्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले सरसफाइ नागरिक चेतनाको विषयसँग जोडिएको बताए। “वातावरणलाई सफा राख्न स्वच्छता प्रवद्र्धनका यस खाले अभियनाहरु निकै महत्वपूर्ण मानिन्छन् यसले मानिसहरूलाई जागरणको स्थितिमा ल्याइपुर्याउदछ, उनले भने, स्थानीय सरकार, जनप्रतिनिधि र सरोकारवालाहरू जिम्मेवारीको हिस्सेदार बन्नुपर्दछ ।” उनका अनुसार पोखरामा वातावरण संरक्षण प्रति नागरिकहरू सचेत बन्दै गएका छन् ।

२८ आश्विन २०८०, आईतवार १२:३१ मा प्रकाशित
Nabintech