Play

अमेरिकाको मेरिल्याण्डमा स्ट्रिट फेष्टिवलको तयारी तीव्र (भिडियो सहित)

मूल आयोजक समिति र विभिन्न उपसमिति गठन


गुरुकुल खबर


बाल्टिमोर, अमेरिकाको मेरिल्याण्ड राज्य अन्तर्गत बाल्टिमोर क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था बाल्टिमोर एसोसिएशन अफ नेपालीज् ईन अमेरिका ( बाना ) ले हरेक वर्ष गर्दै आएको स्ट्रिट फेष्टिवलको छैठौं संस्करणको तयारी तीव्र पारिएको छ ।

स्ट्रिट फ़ेस्टिवललाई प्रभावकारी बनाउन बानाका अध्यक्ष सुबोध विलास पन्तको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरी सबै समितिले आआफ्नो जिम्मेवारी अनुसार महोत्सवको तयारी अगाडी बढाएका छन् । महोत्सवको तयारीको क्रममा बानाले पटक पटक बाल्टिमोर स्थित विभिन्न जातीय, भौगोलिक सहित अन्य विधागत संघ संस्थाहरुसंग पटक पटक छलफल गरेको र विभिन्न सुझाव समेत लिएको बताईएको छ ।

यही अक्टोबर १५ मा बाल्टिमोरको टाउसन क्षेत्रमा हुने सडक महोत्सवमा नेपाली संस्कृति र परम्पराको प्रदर्शन गर्ने , सांगितिक र सांस्कृतिक मनोरन्न्जनात्मक कार्यक्रमहरु गर्ने , विभिन्न खानाका परिकारहरु प्रदर्शन एवं विक्री वितरण गर्ने र स्थानीय स्तरमा नेपालीहरुद्वारा संचालित व्यवसायको स्टल राखेर व्यवसायको प्रवर्द्धन गर्ने लगायतका उद्देश्य राखेर महोत्सव आयोजना गरिएको हो ।

बानाको अध्यक्ष पन्तका अनुसार महोत्सवको कारण मेरिल्याण्डमा रहेका नेपाली हरुबिच सम्बन्ध सुमधुर बनाउन र नेपालीहरुको प्रतिभा उजागर गर्न साथै व्यवसायिक प्रवर्द्धन गर्न सघाउ पुग्ने छ । महोत्सवको मूल आयोजक बाना रहेपनि सहआयोजकको रुपमा बाल्टिमोर स्थित विभिन्न संघ संस्थाहरु रहेका छन् । जस अनुसार अमेरिका स्थित नेपाली राजदुतावास, एनआरएनए अमेरिका लगायतका संस्थाहरुको सहकार्य रहनेछ भने गोर्खा समाज, कास्की समाज, बाग्लुङ समाज, पर्वत समाज, म्याग्दी समाज, लम्जुङ समाज, तनहुँ समाज, सुदुर पश्चिम समाज, मगर समाज, तनु समाज, नेवा समाज, नासो, टेक, ब्लड डोनर्स एसोसिएशन, ईनास र ओएनएफ लगायतका संस्थाहरु सहआयोजकको रुपमा रहने छन् ।

महोत्सवलाई भव्यतापुर्वक सम्पन्न गर्न बानाका अध्यक्ष सुबोध विलास पन्तको संयोजकत्वमा गठित एक सय एक सदस्यीय मुल समितिमा बानाका कार्यसमितिको पदाधिकारी एवं सदस्यहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु र बानाका ट्र्ष्टीहरु सदस्य रहेका छन् । महोत्सव सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिहरु मध्ये अतिथि सत्कारमा बानाका उपाध्यक्ष लक्ष्मी भारती, सांस्कृतिक उपसमितिमा ईशा गुरुङ , कार्यक्रम स्थल/ मन्च व्यवस्थापनमा कुलमणी आचार्य, संघ संस्था समन्वय उपसमितिमा कुल गुरुङ, आर्थिक संकलन उपसमितिमा ऋचा शाह, प्रचार प्रसार उपसमितिमा सागर घिमिरे,स्वयंसेवक व्यवस्थापन उपसमितिमा दमन विक्रम शाहलाई संयोजक मनोनित गरिएको छ ।

महोत्सवको तयारी सम्बन्धमा छलफल गर्न आईतबार बानाको कार्यालयमा विशेष बैठकको समेत आयोजना गरिएको थियो । बैठकमा बानाका अध्यक्ष एवं स्ट्रिट फ़ेस्टिवल मुल आयोजक समितिका संयोजक सुबोध विलास पन्तले महोत्सवको तयारी र स्थानीय नेपाली संस्था र अमेरिकी निकाय बिचमा भैरहेको समन्वयका बारेमा जानकारी गराएका थिए । बानाका महासचिव सागर घिमिरेले स्ट्रिट फ़ेस्टिवलमा दुई हजार बढी नेपाली र अमेरिकीहरु सहभागी बन्ने विश्वास व्यक्त गरे । सोही बैठकमा उपस्थित नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति एवं नेपाली कांग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुलीले अमेरिकाको मेरिल्याण्डमा हुने फ़ेस्टिवलका कारण अमेरिकामा नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा मात्र नभएर स्ट्रिट फेस्टिवलको वृहत रुप हेर्नका लागि अमेरिकी लगायतका विदेशीहरुलाई नेपाल जाने वातावरण सृजना गर्न महोत्सव सफल हुनुपर्नेमा जोड दिए ।

बैठकमा बानाका सल्लाहकार नीर बहादुर थापा,  वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, उपाध्यक्ष भीम केसी, सचिव हिरा खत्री, सदस्यहरु श्याम कोईराला, बसन्त घिमिरे र ईशा गुरुङ साथै एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुङ, स्थानीय व्यवसायी भरत बराल,संचारकर्मी शुसिल पंगेनी र लक्ष्मण पौड्याल लगायतले महोत्सवको तयारीका बारेमा जानकारी दिंदै विभिन्न सुझाव र भनाई समेत प्रस्तुत गरेका थिए ।

१५ आश्विन २०८०, सोमबार १३:१७ मा प्रकाशित
Nabintech