Play

हरितालिका तीज धुमधामसँग मनाइँदै, पोखराको लामाचौर, बाटुलेचौर र मालेपाटन चौरमा नाचगानका कार्यक्रम

गुरुकुल खबर


पोखरा, नेपाली नारीहरुको महान चाड हरितालिका तीज आज देशविदेशमा धुमधामसँग मनाइँदै छ । पोखराको लामाचौर, बाटुलेचौर र मालेपाटन खेल मैदानमा पनि यो चाड नाचगान प्रतियोगिताका साथ मनाइँदै छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वमा देवादिदेव महादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

शास्त्र अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूमाझ आफ्नो समस्या राखिन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास रही आएको छ ।

१ आश्विन २०८०, सोमबार १३:०३ मा प्रकाशित
Nabintech