Play

काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको विभत्स हत्या

गुरुकुल खबर


पोखरा, काठमाडौंको तीनकुने स्थित गैरीगाउँमा एकै परिवारका ३ सदस्यसहित ४ जनाको हत्या भएको छ। उक्त स्थानको दिव्य सःमिलमा काम गर्ने चार जनाको शव शनिबार विहान घटनास्थलमा भेटिएको थियो ।

हत्या गरिएका २ पुरुष र २ महिलाको सनाखत भइसकेको प्रहरीले जानकारी दिएको छ । उक्त घटनामा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको हो ।

घटना शुक्रबार राति १२ बजेतिर भएको प्रहरीको भनाई छ । घटनास्थलमा कुकुरसहित प्रहरीले अनुसन्धान गर्दै छ । गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुर संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ। प्रहरी स्रोतका अनुसार घटनास्थलमा पु-याएको कुकुर सुँघ्दै जडीबुटीसम्म पुगेको थियो। त्यसपछि कुकुर अल्मलिएको थियो।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए । उनी आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ । घटनालगत्तै उनी आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए ।

प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पु-याइदिन भनेका थिए ।

घटनाको कारण खुलिसकेको छैन । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

मुख्य तस्वीर : सेतोपाटी

 

३० भाद्र २०८०, शनिबार १५:४० मा प्रकाशित
Nabintech