Play

स्थानीय उत्पादनको प्रवर्धन गर्दै सकियो तीज महोत्सव

गुरुकुल खबर


पोखरा, पर्यटन व्यवसायीमहिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमा आयोजना गरिएको महिला उद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीय उत्पादनको प्रवद्र्धन गरिएको थियो ।

पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषद लगायतका संघसंस्थाको सहयोगमा सम्पन्न भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरी जवाप mप्रतियोगिता, तीजगीतप्रतियोगिता, महिला दौड प्रतियोगिता लगायतका कार्यक्रमले महोत्सवको रौनकता थप्यो ।

महोत्सवको समापन दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन यस्ता कार्यक्रम गरिरहनुपर्ने बताए । तीजका समय टेवानले सांस्कृतिक महोत्सवको आयोजना गर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवा पुगेको उनले बताए । सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरी नै लागिरहेको भनाई उनको छ ।

“हामीलाई थाहा छ । पर्यटन क्षेत्र पहिले जस्तो छैन । व्यवसाय खस्किदो छ । पर्यटकको आगमन र उनीहरुको खर्चलाई व्यवस्थापन गर्न सकिएको अवस्था छैन । हामी यसको क्षेत्रको श्रीवृद्धिका लागि नै लागिरहेका छौं । सहजनीति निर्माण गरी शिघ्र पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्य प्रदेश सरकारको छ ।’, उनले भने ।

मन्त्री थापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लागत सहजीकरणले नै गण्डकी प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने धारणा उनको छ । प्रदेशमा उत्पादित वस्तुहरुको बजारीकरणमा ध्यान दिन सकियो भने आर्थिक लाभलिन सकिने उनले उल्लेख गरे । जसका लागि नीजि क्षेत्रसँग सरकार सहजीकरण गर्न तयार रहेको अभिव्यक्ति उनको छ ।

मुग्लिन देखि पोखरा सम्मको सडक मर्मतको काम छिटो सक्न केन्द्र सरकारलाई दबाब दिने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमा बाह्य मुलुकबाट सिधै हवाई अवतरण हुने वातावरण बनाउने गरी प्रदेश सरकार लागि रहेको उनले उल्लेख गरेका छन् । जसका लागि स्थानीय सरकारसँग समेत समन्वय भइरहेको उनले बताए ।

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिक महोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले अफसिजनमा पोखराको पर्यटन प्रवद्र्धनमा यसले ठूलो मद्दत पुग्ने बताए । व्यवसायिक मैत्री वातावरण बनाउन सरकारलाई आफुले आग्रह गरिरहेको उनले उल्लेख गरेका छन् ।

सांसद सरस्वती गुरुङले तीजका बेला महिला दिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्न भएको बताइन् । ‘सुरुवातमा नै सफलता मिलेको छ, यसको निरन्तरताको कामना गर्दछु ।’, उनले भनिन् । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि बेलाबेलामा यस्तो मेलाको आयोजना भइराख्नुपर्ने धारणा उनको छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए । उनले नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनका लागि पहल कदमी हुँदा सरकारको चाँसो सकरात्मक नहुनु समस्या भएको उल्लेख गरे । बोलेर भन्दा पनि काम गरेर नै देखाउने समय आएको भनाई उनको छ ।

पर्यटन क्षेत्र टाट पल्टिन लागेको र धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले सरकारले नै समयमा कदम चाल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्म कदम चालेको बताए । सुरुवात राम्रो भएकाले यसले निरन्तरता पाउनेमा आफु आशावादी रहेको भनाई उनको छ । उनले सरकार, नीजि क्षेत्र एक भएर नै अहिलेको समस्यालाई समाधान गर्न सक्ने उल्लेख गरे ।

टेवानकी अध्यक्ष कमला गिरीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै संघसंस्था तथा व्यक्तिलाई धन्यवाद दिएकी छिन् । यो सुरुवात भएको र आगामीदिनमा यस्तो कार्यक्रमले निरन्तरता पाउने भनाई उनको छ ।

 

२८ भाद्र २०८०, बिहीबार १२:५६ मा प्रकाशित
Nabintech