Play

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने

गुरुकुल खबर


पोखरा, पोखरामा असोज दोश्रो साता हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने भएको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिताको फर्म यसअघि भदौ २५ गतेसम्म मात्र भर्न सकिनेगरी समयसीमा तोकिएको थियो ।

तर सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संस्था प्याव्सन, एन.प्याव्सन, हिसान र युनिप्सका अध्यक्षहरुसँग गरिएको परामर्शपछि आयोजक कलाकार संघले यसअघि तोकिएको फर्म भर्ने अन्तिम मिति भदौ २५ गतेबाट सारेर असोज ३ गतेसम्म पु¥याएको हो ।

विद्यार्थीको हितलाई मध्यनजर गरेर फर्म भर्ने मिति सारिएको कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । उनले भने,‘सहभागि हुन चाहनेका लागि फर्म भर्न शुरु भइसकेको छ । आजदेखि असोज ३ गते अपराह्न ५ बजेसम्म जुनसुकै बेला आएर भर्न सक्नुहुनेछ ।’ फर्म भर्न दुई हजार शुल्क लाग्ने संघका अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार फारम पेपे पिज्जा रेष्टुरेट (भाटभटेनीको माथिल्ला तला) न्यूरोड, जोजलपा नेवारी किचन तेर्सापट्टी, देउराली साउण्ड एण्ड म्यूजिक रामबजार, एसके साउण्ड महेन्द्रपुल, पोखरा म्यूजिक हाउस र गिटार नेसन न्यूरोडमा पाईन्छ ।

प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने संघका अध्यक्ष गुरुङले स्पष्ट पारे ।

प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्याण्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनको भिडियोपनि फर्म भर्ने मिति असोज ३ गतेसम्ममा नै ल्याईसक्नुपर्ने अध्यक्ष गुरुङले बताए । त्यसमा छनौट भएका व्याण्डहरुले पुनः फिजिकल अडिसन दिनुपर्ने उनले जानकारी दिए । फिजिकल अडिसनबाट छनौट भएकाहरु सेमीफाईनलमा पुग्ने अध्यक्ष गुरुङ बताउँछन् । ‘त्यसपछि सेमीफाईनल राउण्डबाट फाईनलिष्ट चयन गर्छौं र उनीहरुबीच प्रतिष्पर्धा गराई उपाधि बिजेता चयन गर्छौं’–उनले भने । उनका अनुसार व्याण्डहरुले फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ भने फाइनलमा एउटा कभर सङ्ग र अर्को एउटा आफ्नो मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५/५ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको अध्यक्ष गुरुङले बताए । ‘नब्बेको दशकमा व्याण्डहरुको जगजगी थियो तर पहिलेजस्तो अहिले रहेन । कोरोना र आर्थिक मन्दीले त झन् सांगीतिक क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । त्यसैले सुस्ताएको व्याण्ड र सांगीतिक क्षेत्रलाई पुनःजागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने उनको भनाई छ ।

प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताए । ‘मुर्झाएको पर्यटनलाई उकास्दै समग्र अर्थतन्त्र चलायमान गराउनपनि प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं’–उनले भने ।

२५ भाद्र २०८०, सोमबार १२:४६ मा प्रकाशित
Nabintech