Play

तायमचा नृत्य प्रतियोगितामा तेर्सापट्टि तायमचा समिति प्रथम, प्राप्त गर्यो तीन लाख नगद पुरस्कार

गुरुकुल खबर


पोखरा, पोखरामा सम्पन्न तायमचा नृत्य प्रतियोयगितामा पुरुषतर्फ तेर्सापट्टी तायमचा समिति पोखरा–३ ले प्रथम स्थान हासिल गरेको छ । गाईजात्रा अवसरमा रानीपौवा तायमचा नाच समितिले आयोजना गरेको प्रतियोगितामा २० टिमलाई पछि पार्दै तेर्सापट्टीले नगद ३ लाखसहित ट्रफी र प्रमाणपत्र पुरस्कार हात पारेको हो ।

प्रतियोगितामा नयाँबजार सांस्कृतिक समिति द्वितीय र भीमसेन टोल सुधार समिति तृतीय भए । उनीहरुले क्रमशः २ लाख र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । मोहरिया सिंहनाथ टोल तायमचा समिति सान्त्वना हुँदै ३० हजार नगद पुरस्कार हात पारेको छ ।

महिलातर्फ बागबजार बगर तायमचा समिति, पोखरा–१ प्रथम तथा लामाचौर नेवा खल गुठी र भण्डारढिक नेवा खल क्रमशः दोस्रो र तेस्रो भएको नेवाः खल कास्कीले जानकारी दिएको छ ।

महिलातर्फ प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २० र १० हजार रुपैयाँ पुरस्कार दिइएको नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पुरस्कार प्रदान गरे । शनिबार बिहानदेखि सुरु भएको प्रतियोगिता राति अबेर सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ २१ र महिलातर्फ ९ टिमले सहभागिता जनाएका थिए ।

यस वर्षदेखि पोखरा तेर्सापट्टी निवासी तीन दाजुभाइ रामकाजी, रवीन्द्र र शंकर श्रेष्ठले आफ्नाबाबु हेमकुमार र बालकुमारीको स्मृतिमा पुरस्कारका लागि १० लाख रुपैयाँ प्रदान गरेका थिए ।

१७ भाद्र २०८०, आईतवार १२:१५ मा प्रकाशित
Nabintech