Play

हेमजा साहित्य प्रतिष्ठानमा मोतीरामको चर्चा र प्रशिक्षण

गुरुकुल खबर


पोखरा, हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोतीजयन्तीको पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चाका साथै गजल प्रशिक्षण सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले मोतीराम भट्टले नेपाली भाषा साहित्यमा दिएको योगदानको तुलना नै हुन नसक्ने बताए । ढकालले देशको विकास निर्माण बाटाघाटा, पुलपुलेसा मात्र नभएर सभ्यता र संस्कृतिको संरक्षण पनि देश निर्माणको अभिन्न अङ्ग भएको बताए ।

प्रतिष्ठानको रजतजयन्तीका सन्दर्भमा मोती जयन्ती सन्दर्भमा सहकार्य गर्न पाउनु प्रतिष्ठानका लागि एउटा गौरवको विषय भएको बताउँदै प्रतिष्ठानद्वारा अर्पण गरिएको रजतजयन्ती विशेष सम्मानका लागि आभारसमेत व्यक्त गरे ।
प्रज्ञा–प्रतिष्ठानका बारेमा बोल्दै ढकालले प्रतिष्ठानको कानूनमा महानगरको प्रमुख कार्यकारी अधिकृत सदस्य–सचिव रहने व्यवस्थाले प्रतिष्ठानका गतिविधि सञ्चालनमा सदस्य–सचिव महानगरकै काममा व्यस्त रहनुपर्दा स्वतस्फूर्त कार्य सम्पादनमा असहजता भएकोसमेत जानकारी गराए ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले हेमजा साहित्य प्रतिष्ठान यस क्षेत्रको एउटा गौरवका रूपमा अगाडि बढेको देख्दा आफूलाई निकै खुसी लागेको धारणा राखे ।

मोतीराम भट्टको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकी समितिका महासचिव असफल गौतमले नेपाली भाषासाहित्य सिर्जना र सङ्गठनका अलौकिक र प्रेरक आधिकारिक प्रतिभाकारूपमा मोतीराम भट्टलाई चिनाए । उनले मोतीराम भट्टले कोरेको भानुभक्त आचार्यको मुहारचित्र र नेपाली भाषामा पहिलो नेपाली गजल रेकर्ड गराउने गीतकार व्यक्तित्वलाई ओझेलमा पार्न नहुनेमासमेत जोड दिएका थिए ।

मुख्य प्रशिक्षक अनुराग अधिकारीले सिकाइ कहिल्यै पनि पूरा नहुने भएकाले भाइबहिनीले सिकेका कुरा दैनिक जीवनमा लागू गर्न साधनाको सधैँ खाँचो रहने बताए । उनले यस्ता प्रशिक्षण पाठ्यपुस्तकको पढाइ जस्तो नभएकाले जति धेरै प्रयास उति धेरै सफलता मिल्ने भएकाले निरन्तर प्रयासमा लाग्न सुझावसमेत दिए ।

कार्यक्रम संयोजक सुनिल गायकले प्रतिष्ठानका गतिविधिमा सहभागी हुँदै आउँदा आज मोतीराम जयन्तीको सन्दर्भमा कार्यक्रम संयोजन गरेर पछिल्लो पुस्ताका भाइबहिनीलाई गजलप्रति आकर्षित गर्न पाउँदा आफूलाई गौरवबोध भएको धारणा राखे ।

प्रतिष्ठानका सचिव परशुराम अधिकारीले प्रतिष्ठान स्थापनाको रजतवर्षमा वार्षिक नियमित कार्यक्रमबाहेक २५ फरक–फरक प्रकृतिका विशेष कार्यक्रम अन्तर्गत पोखरा प्रज्ञा–प्रतिष्ठानको आर्थिक सहयोगमा नवौं कार्यक्रम मोतीराम भट्टको व्यक्तित्व तथा कृतित्वको परिचर्चा र गजल प्रशिक्षण राखेको बताए ।

हेमजा क्षेत्रका ४५ जना विद्यार्थी तथा गजल अनुरागी स्रष्टा साहित्यसेवीको सहभागिता रहेको कार्यक्रममा सहभागी सबैले गजल लेखेर प्रस्तुतसमेत गरेका थिए ।

सहभागीमध्ये महिलातर्फबाट सरिता थापाले प्रशिक्षण निकै प्रभावकारी रहेको र साहित्य लेखनले खराब प्रवृत्तिका गतिविधिलाई निरुत्साहित गराउन पनि सहायता गर्ने बताइन् । पुरुषतर्फबाट मिजास विकले प्रशिक्षणबाट अब आफूलाई अब गजल लेख्न सक्छु भन्ने हिम्मत बढेको धारणा राखे ।

अध्यक्ष बलराम पौडेलले प्रतिष्ठानका हरेक गतिविधिलाई सफल पार्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, विभिन्न सहयोगी दाता, शुभेच्छुक, शुभचिन्तकप्रति आभार व्यक्त गरे । साथै उनले २३ गते आयोजना हुने गजल प्रतियोगितालाई सफल पार्न सबैलाई सहयोग गर्न र भाइबहिनीलाई सहभागिताका लागि आग्रहसमेत गरेका थिए ।

१७ भाद्र २०८०, आईतवार ११:४४ मा प्रकाशित
Nabintech