Play

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण, दुई लाख डलर जमानतमा रिहा

गुरुकुल खबर


पोखरा, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन् । जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा उनले आत्मसमर्पण गरेका हुन् ।

उनलाई चुनाव उल्ट्याउन असफल प्रयास गरेको आरोप छ । सन् २०२२ को चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप उनीमाथि लागेको छ । औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरेर उनी दुई लाख डलर जमानतमा रिहा भइसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

जेलमा प्रहरीको रेकर्डमा राखिने ट्रम्पको आधिकारिक तस्वीर (मगशट) समेत जारी भएको जनाइएको छ । ट्रम्पको मगशट सार्वजनिक भएको यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । उक्त मगशट ट्रम्पले ट्वीट गरेका छन् । सन् २०२१ को जनवरी ८ पछि उनले ट्वीट गरेको यो पहिलो हो ।

उनले अदालत वा संघीय अधिकारी सामु आत्मसमर्पण गरेको यो चौथोपटक हो । यसअघि पनि आपराधिक मामलामा मुद्दा चलेपछि उनले तीनपटक आत्मसमर्पण गरेका थिए । अमेरिकी मिडियाहरुका अनुसार सन् २०२३ भन्दा अगाडिसम्म अमेरिकामा पूर्वराष्ट्रपतिमाथि यसप्रकारको घटना भएको थिएन ।

पूर्व राष्ट्रपति ट्रम्पले भने आफूमाथि लगाइएका सबै आरोपको खण्डन गर्दै आएका छन् । जमानतमा रिहा भएर जर्जियाबाट फर्किने क्रममा पनि उनले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक प्रेरित भएको र आफू निर्दोष भएको उनको दाबी छ ।

८ भाद्र २०८०, शुक्रबार १३:०३ मा प्रकाशित
Nabintech